`

एमालेसँग सहकार्य गर्न नाउपाको ढोका सँधै खुला रहन्छ : रञ्जिता श्रेष्ठ

Nepal One HD २७ मंसिर २०८२ १४:४०
प्रमुख खबर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले मुलुकको वर्तमान राजनीतिक अवस्थामा दलहरूबीच आपसी विश्वास र सहकार्य अनिवार्य भइसकेको बताएकी छन् । नेकपा (एमाले) को एघारौं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले एक्लो राजनीतिक यात्राबाट कुनै पनि शक्ति लक्ष्यमा पुग्न नसक्ने स्पष्ट धारणा राखिन् ।

श्रेष्ठले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता र जनआन्दोलनपछिको परिवेशलाई स्मरण गराउँदै सबै राजनीतिक शक्तिहरू साझा जिम्मेवारीका साथ अघि बढ्नु पर्ने आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘एक्लै हिँडेर गन्तव्यमा पुग्न सम्भव हुँदैन । मुलुकलाई सही दिशामा लैजान राजनीतिक शक्तिहरूबीच विश्वासको वातावरण निर्माण र उच्चस्तरीय सहकार्य अपरिहार्य छ ।’

उनले राष्ट्रिय मुद्दाहरूमा नेकपा (एमाले) सँग सहकार्य गर्न नागरिक उन्मुक्ति पार्टी सधैँ तयार रहेको स्पष्ट पारिन् । राष्ट्रियता संरक्षण, देशको समग्र विकास र लोकतान्त्रिक संरचनाको सुदृढीकरण जस्ता बृहत् विषयमा एमालेसँग सहकार्यको ढोका खुला रहने उनको भनाइ थियो । तर, यस्तो सहकार्य न्याय र समानताको आधारमा हुनुपर्नेमा उनले जोड दिइन् । ‘सहकार्यको आधार बल वा संख्याभन्दा पनि न्याय र समानता हुनुपर्छ’, श्रेष्ठले स्पष्ट पारिन् ।

अध्यक्ष श्रेष्ठले एमाले महाधिवेशन उद्घाटन समारोहमा देखिएको विशाल जनसहभागितिले आफूलाई उत्साहित बनाएको बताइन् । उनले उक्त जनसागरले केवल एमाले मात्र होइन, समग्र राजनीतिक दलहरूलाई नै सकारात्मक सन्देश र हौसला दिएको धारणा व्यक्त गरिन् । लोकतान्त्रिक अभ्यासमा जनताको सहभागिता महत्वपूर्ण हुने उल्लेख गर्दै उनले राजनीतिक दलहरूले जनभावनालाई आत्मसात् गर्दै जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनको मन्तव्यलाई राजनीतिक वृत्तमा आगामी दिनमा दलहरूबीच सहकार्यको सम्भावनासँग जोडेर हेरिएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *