`

तोरीले पहेंलपुर पर्यटकीय गन्तव्यको सम्भावना बोकेको काभ्रे काफ्लेथोक {तस्वीरहरु}

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–४ मा अवस्थित काफ्लेथोक गाउँ यतिबेला तोरी फुलेर पहेंलपुर भएको छ । बारीभरि फुलेको तोरीले गाउँ नै सुन्दर देखिएको छ । बिपी राजमार्ग अन्तर्गतको भकुण्डेबेंसी बजारबाट करिब २० मिनेटको पैदल यात्रामा पुगिने काफ्लेथोक प्राकृतिक शान्ति र ग्रामीण सौन्दर्य खोज्नेका लागि एक सम्भावनायुक्त रमणीय गन्तव्य हो । यहाँको हरियाली, खुला आकाश र टाढाबाट देखिने हिमाली दृश्यहरूले आगन्तुकको मन लोभ्याउँछ ।

यहाँ करिब दुई दशक अघिदेखि तोरीखेती सुरु भएको हो । धेरै घरधुरीमा आफ्नै बारीमा फलेको तोरीबाट तेल निकालेर वर्ष दिनसम्म परिवारको आवश्यकताको पूर्ति हुने गरेको छ । स्थानीयहरूको भनाइमा बजारको तेलभन्दा आफ्नै तोरीको स्वाद बेग्लै हुन्छ, अनि स्वास्थ्यका हिसाबले पनि भरपर्दो हुन्छ ।

मकै, धान र गहुँ यहाँका प्रमुख खाद्यबाली हुन् । भदौको अन्त्यदेखि असोजको सुरुवातसम्म मकै भित्र्याएर त्यसपछि तोरी लगाउने चलन छ । यो गाउँ धार्मिक दृष्टिले पनि विशेष मानिन्छ । विगत ४५ वर्षदेखि अखण्ड हरेराम भजन गुञ्जिरहने एक मन्दिरले गाउँको आध्यात्मिक महत्व अझ सुदृढ बनाएको छ । गाउँकै बीच भागमा रहेको यस मन्दिरमा बिहान र साँझ घन्किने भजन र संगीतले वातावरणमा शान्तिको अनुभूति गराउँछ । औँसी, पूर्णिमा र विविध पर्वहरूमा मन्दिरमा भक्तजनहरूको बाक्लो उपस्थिति देखिन्छ ।

झण्डै १०० घरधुरी रहेको काफ्लेथोकमा ‘काफ्ले’ थरको बाहुल्यता छ । साथै, गैरापिप्ली, अर्याल, न्यौपाने, अधिकारी, गिरी, भुजेललगायतका थरका समुदायहरू पनि यहाँ सँगसँगै बसोबास गर्छन् । अधिकांश परिवार शाकाहारी हुन् र सरल, आध्यात्मिक जीवन शैलीमा रमाउने गर्छन् ।

तस्वीरहरु : प्रल्हाद गैरापिप्ली /नेपाल फोटो लाइब्रेरी

तस्वीरमा अष्ट्रेलियन बेस क्याम्प

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अष्ट्रेलियन बेस क्याम्प छोटो तर रमणीय हाइकिङको रुपमा परिचित छ । समुद्री सतहबाट २ हजार ५० मिटर उचाइमा रहेको बेस क्याम्प धम्पूसबाट करिब ४५ मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ । यस्तै पोखरा–बाग्लुङ सडकमा पर्ने कास्कीको काँडेबाट पैदल यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । काँडेबाट भने करिब २ घण्टाको पैदल यात्रापछि क्याम्प पुग्न सकिन्छ ।

अन्नपूर्ण बेसक्याम्प र मर्दी हिमाल जाने बाटोमा पर्ने भएकाले सो रुटमा ट्रेकिङ गर्ने धेरै पर्यटक एक रात अष्ट्रेलियन बेस क्याम्पमा बिताउने गर्छन् । क्याम्प पुग्दा आँखै अगाडि माछापुच्छ्रे र अन्नपूर्णसहितका हिमालले धेरैलाई मोहित बनाउँछ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

बागलुङ । अघिल्लो वर्ष दसैंमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौं हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।

पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँद याममा पर्यटक यहाँ आउने गरेका छन्। ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा सवारी नचल्दा पर्यटकले सास्ती खेप्नु परेको छ ।

ढोरपाटन उपत्यकाबाट घनाजङ्गल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठेसाँघु तर्नुपर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताए । दुई वर्षयता जलजला जाने पर्यटकको संख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकेको उनले सुनाए ।

ढोरपाटन–जलजला सडकको गुरुघाटमा एउटा र दुईवटा गुर्जाघाट काठको साँघु हाल्नुपर्ने उहाँको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाइदिएको भन्दै अब केही दिनमा सडक सफाइ गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताए । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफाइ गरे पर्यटक सहज रूपमा जलजला आउने उनी बताउँछन् । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेका र ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उनको भनाइ छ ।

‘अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भीड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठाला मात्र पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो’, अध्यक्ष पुनले भने, ‘यस वर्ष लामो वर्षा भयो, ठाउँठाउँमा बाटो बिग्रिएकाले साँघु हाल्नुपर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।’

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरिलगायत दुई दर्जन बढी हिमाल एकैठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुलसीपुर दाङबाट घुम्न आएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोखे । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमशृङ्खलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्यक्ष घुम्न आएको सुनाए ।

उनले भने, ‘ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रहेनछ, ठाउँठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिँदैन भन्ने सुनियो, त्यहीँ भएर यसपालि जलजला पुग्ने इच्छा पूरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला ।’ रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाए । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उनको भनाइ छ । यतिबेला जलजला पुग्नेगरी ढोरपाटन आएकाहरू उपत्यकाबाटै फर्किने गरेका छन् । रासस

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा घट्यो पर्यटकको संख्या

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बरमा १९ हजार ३८६ विदेशी पर्यटक भित्रिए । जुन गत वर्षको सोही अवधिको तुलानामा तीन हजार सात सय दुईले कम हो । सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम भए पनि यहीबेला पर्यटक आगमन घटेको छ । पर्यटकीय याम सुरू हुनै लाग्दा भएको ‘जेनजी’ प्रदर्शन, प्रतिकूल मौसम आदि कारणले पर्यटक आगमन घटेको हो ।

सेप्टेम्बरमा एसियाली मुलुकका आठ हजार ५४२ र अन्य देशका १० हजार ८४४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले जानकारी दिए । ‘मुख्य पर्यटकीय याम सुरु भइरहेका बेला जेनजी प्रदर्शनले पनि असर गर्यो, कतिपय विदेशी पर्यटकले यात्रा रद्द गरे’, उनले भने, ‘मुक्तिनाथलगायत क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको संया पनि घटेको छ ।’

अन्नपूर्ण क्षेत्रका सबै गन्तव्यस्थल शान्त र सुरक्षित रहेकाले ढुक्क भएर घुम्न आउन उहाँले आग्रह गर्नुभयो । नेपालीका ठूला चाडपर्वहरू भएकाले आन्तरिक पर्यटक पनि घुमफिरमा निस्कने उपयुक्त समय यही हो । नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश विश्वमाझ दिएर पर्यटक आगमनलाई नियमित लयमा फर्काउन सरकार र सम्बद्ध सबै पक्ष लाग्नुपर्ने आयोजना प्रमुख डा. कडरियाले बताए । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्यस्थल पुनहिल प्रवेश टिकट कक्षका अमृत पुनका अनुसार बुधबार झण्डै २०० विदेशी पर्यटकले घोरपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

दुई-तीन दिनदेखि पर्यटक आगमन केही बढे पनि अघिल्ला वर्षको तुलनामा घटेको उनले बताए । ‘यो याममा दिनमा ४०० सम्म विदेशी पर्यटक आउँथे, अहिले घटे’, पुनले भने, ‘विदेशी पर्यटकसँगै आन्तरिक पर्यटक पनि घटेका छन् ।’ घोरपानीका होटल व्यवसायी डमबहादुर पुनले आफ्नो होटलमा आउन लागेका पर्यटकका २७ वटा समूहले ‘बुकिङ’ रद्द गरेको बताए । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

मनाङ यात्रामा मौसम बाधक

मनाङ । हिमाली जिल्ला मनाङ भ्रमणका लागि असोज, कात्तिक र मंसिर महिना उपयुक्त मानिन्छ । यस समयमा मनाङमा पर्यटकको आगमनले भरिभराउ हुने हो । यसवर्ष मनाङमा पर्यटक शून्य नै छ ।

बाह्य पर्यटकको आगमनका लागि जेनजीको आन्दोलनले प्रभाव पारे पनि आन्तरिक पर्यटक आउने अपेक्षा मनाङवासीले गरेका थिए । दसैँको बिदामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने समय हो । यस वर्षको दशैँ बिदामा घुम्ने योजना बनाएका आन्तरिक पर्यटकका लागि मौसम बाधक बन्न पुग्यो ।

तनहुँको व्यास नगरपालिका–३ दमौली निवासी संगीत घिमिरे मनाङ भ्रमणमा जाने योजना बनाएकामा अहिले स्थगित गरेको बताउँछन् । उनी भन्छन्, ‘मनाङको सौन्दर्यताले आकर्षण गरिरहेको अवस्थामा एक पटक पुग्ने योजना बनाइएको थियो, तर योजना योजनामै सीमित भयो ।’

दसैँको टीकाको भोलिपल्ट यात्रामा निस्कने भनिएकामा मनसुन सक्रिय भएर भारी वर्षा हुने सूचनाका कारण यात्रा स्थगित गरिएको घिमिरे बताउँछन् । ‘लामो समयदेखि एक पटक मनाङ पुग्ने धोको थियो, वर्षाका कारण योजना नै स्थगित गरेर बसेका छौं’, उनी भन्छन्, ‘बल्लतल्ल समय मिलाएर बनाएको योजना ‘क्यान्सिल’ भएपछि अब कहिले जाने भन्ने निश्चित छैन ।’

‘चार जनाको समूह बनेर टीकाटालो गरी निस्कने योजना नै क्यान्सिल गरियो’, उनी भन्छन्, ‘मनाङ पुगेर फर्कने यहाँका मानिसले त्यहाँको सुन्दरताको बयानले अझ प्रलोभनमा पारेको छ, यात्रा सफल बनाउन सकेनौँ मौसम तगारो बन्यो ।’

जल तथा मौसम विज्ञान विभागले दसैँको टीकापछि तीन दिन यात्रा नगर्न सूचित गरेपछि अधिकांश आन्तरिक पर्यटकको मनाङ यात्रा रोकिएको छ । घिमिरेका समूह जस्तै अन्य आन्तरिक पर्यटकले अहिले हिमाली मनाङको यात्राका लागि मौसम बाधक बनेको छ । दशैँको टीका लगाएर मनाङ भ्रमणमा जाने योजना स्थगित गर्न बाध्य भएका छन् ।

जेनजीको आन्दोलनका कारण बाह्य पर्यटकको आगमन तथा बुकिङ भएका होटल समेत स्थगित गरेकाले मनाङ सुनसान भएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए । ‘जेनजी आन्दोलनले विदेश पर्यटक आगमनमा नभए पनि आन्तरिक पर्यटक आउने आशामा थियौं, तर यस वर्ष मौसमका कारण आन्तरिक पर्यटकको आगमन पनि हुन सकेन ।’

मनाङको प्राकृतिक सौन्दर्यताले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्दै यहाँको आयस्रोतले देशकै अर्थतन्त्रमा प्रभाव पार्दछ । मुख्य पर्यटकीय समयमा नै पर्यटकको आगमन भएको छैन । विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यस वर्ष जेनजी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको प्रभावले देशको अर्थतन्त्रलाई असर गरेको छ ।

थोरै जनसंख्या भएको मनाङमा आन्तरिक पर्यटकको पनि यस पटक आगमन नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले बताए । चाडपर्वका बेलामा घुम्ने परम्परा विकसित भएसँगै यहाँ आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेनजी आन्दोलनको प्रभावले आउन नसकेको उनको भनाइ छ ।

विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने मनाङका होटेल यसपालि पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताए । यहाँका बुकिङ भएका होटेल पनि रद्द भएका उनले जानकारी दिए ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले दसैँ सकिन नपाउँदै मौसमका कारण बिदामा मिलाएर मनाङ भ्रमणमा आउने पर्यटक पनि आउन नसकेको बताए । ‘टीकाटालो गरेपछि मनाङ घुम्न जान्छु भन्ने आन्तरिक पर्यटकलाई यस पटक मौसम बाधक बन्यो’, उनले भने, ‘जेनजी आन्दोलनले प्रभाव पारेको पर्यटन व्यावसायलाई मौसमले पनि साथ दिएन ।’

विशेष गरी स्वदेशी तथा विदेशी पर्यटकको मनाङ आगमनले देशकै अर्थतन्त्रमा महत्वपूर्ण मानिन्छ । अहिले देशमा नै अर्थतन्त्र घाटामा पुग्ने देखिएको अध्यक्ष गुरुङको भनाइ छ । मनाङवासीको आम्दानी पर्यटन र कृषि तथा पशुपालन हो । तर, आम्दानी शून्य भएको छ ।

विदेशी पर्यटक विश्वकै १०औं स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सीमानास्थित थोराङ्ला भञ्ज्याङ (पास), विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्दथे । स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे । तर, पर्यटकको लर्को लाग्ने यस समयमा नै यस वर्ष सुनसान छ ।

– नवीन लामिछाने / रासस

पर्यटकीय गन्तव्य बन्दै कोरला नाका

मुस्ताङ । कोरला नाका पछिल्लो केही वर्षयता पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक सहज हुँदै जान थालेपछि कोरला नाका भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बर्सेनि वृद्धि हुँदै जान थालेको छ ।
समुद्री सतहको (चार हजार ६१०) मिटर अग्लो उचाइमा रहेको (नेपाल–चीन) उत्तरी कोरलानाका २४ नं सीमास्तम्भ अर्थात् जङ्गे पिल्लर मुख्य नाका प्रवेशद्वार हो । यही प्रवेशद्वार रहेको कोरला नाकामा बर्सेनि हजारौँ आन्तरिक पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन् । मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्ने ५० प्रतिशत आन्तरिक पर्यटक कोरला नाका अवलोकनका लागि जाने गरेका छन् ।
यहाँ आउने आन्तरिक पर्यटक मुक्तिनाथको दर्शन गरी उपल्लो मुस्ताङ र कोरलानाका अवलोकनका लागि प्रस्थान गर्ने गरेको पाइएको छ । उपल्लो मुस्ताङ भ्रमणका लागि ५०० डलर राजस्व तिरेर प्रवेश अनुमति लिने विदेशी पर्यटक भने सीमा नाकामा जान पाउँदैनन् ।
सुरक्षा संवेदनशीलताका कारण उपल्लो मुस्ताङ गएका विदेशी पर्यटक लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरीको (बिओपी) चेक पोस्ट कटेर नाकामा जान पाउँदैन । दसैँ पर्वसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुँदै जान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र हालै देखिएका प्रतिकूल मौसमको प्रक्षेपणका बाबजुद मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दसैँपछि असोज १७ र १८ गते गरी दुई दिनमा छ हजार १७३ नेपाली आन्तरिक पर्यटक र ६८८ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रनाउ छिरिङकिप्पा लामाले जानकारी दिए । यसैगरी दुई दिनको अवधिमा दुई हजार २१७ सवारीसाधन मुस्ताङ भित्रिएको प्रनाउ लामाको भनाइ छ ।
नेपाल–चीन उत्तरी कोरला नाका भ्रमणका लागि आन्तरिक पर्यटकको संख्या दसैँपछि ह्वात्तै बढेको न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले जानकारी दिए । दसैँ पर्वको असोज १७ र १८ गतेका दिनमा दैनिक एक हजार ५०० आन्तरिक पर्यटकले कोरला नाकाको अवलोकन गरी फर्किएको उनको भनाइ छ ।
यसैगरी दसैँपछिको तेस्रो दिन आइतबार मात्रै एक हजार ७०२ आन्तरिक पर्यटक कोरला नाका पुगेको सशस्त्र प्रहरीका बिओपी इञ्चार्ज थापाले उल्लेख गरे । नाका अवलोकनका लागि न्हेचुङस्थित सशस्त्र प्रहरी चेक प्वाइन्टमा १२६ बस, जिप र कार भित्रिएका छन् । यसैगरी चेक प्वाइन्टमा इन्ट्री भई २२४ मोटरसाइकल कोरला नाका पुगेको बिओपी इञ्चार्ज थापाले उल्लेख गरे ।
उच्च स्थानमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाका अवलोकनका लागि जाने नेपाली पर्यटकमा चिसो र हाइअल्टिच्युडका कारण विभिन्न समस्या देखिने गरेको पाइएको छ । नाकामा अक्सिजन कमीका कारण हाइअल्टिच्युड हुने सम्भावना र चिसोका कारण सवारीसाधन स्टार्ट हुन समस्या हुने आदि समस्या देखिएको इञ्चार्ज थापाले बताए ।
नाका पुगेका पर्यटक तथा सवारीसाधनलाई चिसोका कारण समस्या देखिने र उनीहरुको उद्धार गर्न समस्या देखिएकाले आजदेखि दैनिक बिहान ७ बजे नाका प्रवेश र साँझ ४ बजे नाकाबाट फर्किएर न्हेचुङ चेक पोस्टबाट भित्रिनुपर्ने कार्यतालिका सार्वजनिक गरिएको इञ्चार्ज थापाले जनाए ।
बहुचर्चित यहाँको उत्तरी कोरला नाकामा पुगेका नेपाली आन्तरिक पर्यटक नेपाल–चीनको २४ नं जङ्गे पिल्लरको प्रोफाइल राखेर राष्ट्रिय झन्डा फहराउँदै व्यक्तिगत र सामूहिक रुपमा फोटो तथा भिडियो खिच्ने गरेका छन् । कोरला नाका अवलोकनका लागि पुगेका नेपाली पर्यटकले नाका छेउ त्रिपाल टाँगेर व्यापार चलाएर बसेका सीमावर्ती क्षेत्रका व्यापारीसँग कोसेलीका रुपमा चिनियाँ सामान किनमेल गर्ने गरेको ढिन्डुप गुरुङले जानकारी दिए ।
नाकामा नेपाली पर्यटक आउन थालेपछि स्थानीय नाकामा व्यापार गर्न बसेका व्यापारी उत्साहित भएको उनले बताए । नाका पुगेका नेपाली आन्तरिक पर्यटकले उत्तरतर्फ सीमापारि चीनको तिब्बती भूमिमा निर्माण भएको भव्य संरचना हेरेर खिन्न हुन्छन् । चीनले उत्तर-दक्षिण व्यापारिक मार्गका रुपमा विस्तार गर्ने उद्देश्यले ठूलाठूला भव्य भौतिक संरचना बनाइसकेको छ । यहाँको कोरला नाकालाई सरकारले पूर्ण रुपमा सञ्चालन गरे पनि नाकामा नेपालका तर्फबाट आवश्यक भौतिक संरचना निर्माण हुन सकिरहेका छैनन् ।

गैंडाकोट बन्दैछ धार्मिक तथा पर्यटकीय गन्तव्य

नवलपुर । नेपालको मध्यभागमा पर्ने जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गैँडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै रहेकाले यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी धार्मिक तथा पर्यटकीय क्षेत्रहरु वडा नं १ मा रहेका नगरप्रमुख मदनभक्त अधिकारीले बताए । यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटको साथै मौलाकालिका मन्दिरसहित अन्य धेरै धार्मिक मठमन्दिर समेत रहेका उनको भनाइ छ ।

यस नगरपालिकाका प्रमुख धार्मिक, सांस्कृतिकस्थलहरुमा देवघाट, मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, श्रीलक्ष्मी नृसिंह दिव्यधाम, लक्ष्मीनारायण मन्दिर, गैँडाकट्टा शिला, मुकुन्दसेन दरबार, महाबौद्ध गुम्बा, नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जलगायत रहेका अधिकारीले बताए ।

देवघाटधाम
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार गैँडाकोटबाट करिब छ किलोमिटर उत्तरमा त्रिशूली र कालीगण्डकी नदीको पवित्र सङ्गमस्थल देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको धार्मिक क्षेत्र हो ।

दामोदर कुण्डबाट सुरु भएर नवलपुर र तनहुँकोबीचबाट बग्दै आएकी कृष्णगण्डकी (कालीगण्डकी) तथा गोसाइँकुण्डस्थित त्रिशूलधाराबाट सुरु भएर चितवन र तनहुँको बीचबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थलको रुपमा रहेको स्थान हो देवघाटधाम । मुख्यतयाः देवघाटधाम तनहुँमा पर्ने भए पनि यसले नवलपुरको गैँडाकोट र चितवको भरतपुरलाई समेत समेटेको बरालले बताए ।

शान्ति र आध्यात्मिक उन्नयनको लागि अति महत्वपूर्ण यस क्षेत्रमा नदी, हरिया पहाडका सुन्दर परिदृश्यलगायत जैविक विविधता अवलोकन गर्न सकिने बरालले बताए । हिमवत्सखण्ड नेपाल महात्म्यमा उल्लेख भएअनुसार देवताका पनि देवता महादेव शङ्कर आफ्ना गणहरुका साथ यहाँ बस्नुहुन्थ्यो, त्यसैले यसको नाम देवघाट रहन गएको हो ।

गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास–आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धीगणेश, गोपीधाम, सूर्यकण्ड जस्ता पवित्रस्थल रहेको देवघाट क्षेत्रमा पशुपतिनाथको दर्शन गर्न आउने हिन्दू धर्मावलम्बीहरुलाई वा भारतीय पर्यटकलाई आकर्षण गरी जलमार्गबाट गोलाघाट हुँदै त्रिवेणीधाम वाल्मीकि आश्रमसम्म पुर्‍याउनसके यसले पर्यटकको बसाइँ अवधि विस्तार गर्न सकिने बरालको भनाइ छ ।

स्कन्ध पुराण हिमवत्सखण्डको अध्याय ४४ पृष्ठ ९९ मा उल्लेख भएअनुसार पुथ्वीमा भएका तीर्थस्थलमध्ये सबैभन्दा फल दिने पवित्रस्थल देवघाट सङ्गम हो भनेर व्याख्या गरिएको छ । नवलपुर, तनहुँ र चितवन तीनवटा जिल्लामा करिब पाँच हजार ४३४ हेक्टर क्षेत्रमा फैलिएको देवघाट क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यस्थलको रुपमा व्यापक प्रचारप्रसार गर्नु अपरिहार्य रहेकोमा बरालले जोड दिए ।

मौलाकालिका मन्दिर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिकामा पर्ने नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्पm समुद्री सतहबाट ५६१ मिटर उचाइ पहाडी वनको धुरीमा अवस्थित सुप्रसिद्ध तीर्थस्थल एवम् शक्तिप्रबल मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।

१५औं शताब्दीको अन्त्य तथा १६औं शताब्दीको सुरुतिर करिब ५०० वर्ष पहिला, पाल्पाका राजा मणिमुकुन्दसेनको राज्यकालमा तत्कालीन सैनिक टुकुडीले आफ्नो गढी (ब्यारेक) मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको भन्ने किंबदन्ती रहेको धार्मिक सेवा समिति मौलाकालिका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

विसं २०३२ मा बनेको मन्दिरले क्रमशः व्यापकता र प्रसिद्धी पाउन थालेको उनको भनाइ छ । विसं २०३७ देखि धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट औपचारिक नामकरण गरी एक समिति स्थापना भएको सापकोटाले बताए ।

मन्दिर समितिको सक्रियता, जनसहयोग, सेना र मध्य क्षेत्र प्रहरी तालिम केन्द्र, भरतपुरको सहयोगमा तीनतले प्यागोडा शैलीमा हालको मन्दिर तयार भएको हो । मन्दिरमा जाने मार्गको निर्माण गरिएको छ,भने मौलाकालिका फेदीबाट मन्दिरसम्म पुग्ने गरी छपनी ढुङ्गाबाट सिँढी मार्ग (ट्रयाक रोड) निर्माण गरिएको छ। यस यात्राले धार्मिक पयर्टकलाई आनन्दित तुल्याउने उनको भनाइ छ ।

कैलाश सन्यास आश्रम

नवलपुरमा रहेका धार्मिक पर्यटकीय स्थलमध्ये कैलाश सन्यास आश्रम ऐतिहासिक ठाउँ भएको नगर उपप्रमुख शान्ति कोइरालाले बताइन् । गैँडाकोट नगरपालिकामा अवस्थित कैलाश सन्यास आश्रम पूर्व–पश्चिम राजमार्गको बेल्डिहा चोकबाट दक्षिण मनोरम नारायणी नदीको तट तथा विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको सम्मुखमा सिख्रौली ग्राममा अवस्थित छ ।

पौराणिक कथनअनुसार भगवान् विष्णुले त्रिवेणीधामका गजराजलाई गोहीबाट मुक्त गराउन हतारमा वेगका साथ आउँदा विष्णुको शिरको मुकुट यस स्थानमा गिरेकाले यस स्थानको नाम शिरमौली रहन गएको र कालान्तरमा अपभ्रंस हुँदै जाँदा सिख्रौली भएको आफूहरुले सुन्दै आएको कोइरालाले बताइन् ।

सिरमौली ग्रामको विषयमा हिन्दू धार्मिक ग्रन्थ हरिवंश पुराणमासमेत व्याख्या गरिएको पाइन्छ । धर्मानुरागीहरूको कथन अनुसार यहाँ कुँदिएका प्रस्तर मूर्ति द्वापर युगका हुन् । पाँच पाण्डव वनवास जाँदा यस स्थानमा बास बसेको र यहाँका पाँच जनाले समेत उचाल्न नसक्ने ढुङ्गा भीमसेनले कुँदेर बोकेका हुन् भन्ने ऐतिहासिक कथन छ । इतिहासविद्हरूको कथनअनुसार पाल्पाली राजामणि मुकुन्दसेनको दरबार यसै स्थानमा थियो । यी ढुङ्गा तिनै राजाको दरबार निर्माणमा प्रयोग भएका हुन् र भग्नावेशष भवनसमेत राजाको दरबार भएको भन्ने गरिन्छ ।

अहिले यहाँ पुरातत्व विभागले भग्नावशेषको उत्खनन कार्य सम्पन्न गरी मन्दिर निर्माणकार्य सम्पन्न गरेको छ । यहाँ धार्मिक पर्यटक भित्र्याउन सके यसले नगरकै पहिचान बनाउनेछ । पुरातत्व विभागको प्रारम्भिक अध्ययनबाट पनि यहाँ भेटिएको मन्दिरको भग्नावशेष १३ औँ शताब्दीको हो । यहाँ भेटिएको भग्नावशेषलाई उत्खनन गरेर पुनर्निर्माण गरिएको मन्दिरको आकार सुर्खेतको काँक्रे बिहारसँग मिल्दोजुल्दो रहेर बनेको पुरातत्व विभागले जनाएको छ । उत्खननका क्रममा यहाँ भेटिएका विभिन्न पुरातात्विक वस्तुहरु विभागले अध्ययन गरिरहेको छ ।

मुकुन्दसेन दरबार

गैँडाकोट नगरपालिकाको वडा नं ११ र ३ को सिमानामा पर्ने उत्तरतर्फको अग्लो डाँडामा पाल्पाली राजा मणि मुकुन्दसेनले स्थापना गरेको दरबार रहेको छ । यहाँ अहिले मन्दिर निर्माण गरिएको छ भने मूर्ति भग्नावशेषका रुपमा रहेका गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए । मणि मुकुन्दसेन दरवारबाट देखिने तराईकासम्म फाँटको दृश्यले यहाँ आइपुग्ने जो कोहीलाई लोभ्याउने गरेको तिवारीको भनाइ छ ।

यो क्षेत्रको महत्वपूर्ण पदमार्गमध्ये मुकुन्दसेन पदमार्ग पनि हो । विसं २०७६ जेठ १९ गतेदेखि मौलाकालिका मुकुन्दसेन दरबार भग्नावषेश परिसर पर्यटकीय पदमार्ग खुला गरिएको तिवारीले जानकारी दिए । मौलाकालिका मन्दिरबाट पश्चिमतिर डाँडाको शिरैशिर १३.५ किलोमिटरको दूरीमा उक्त दरबारको भग्नावशेष परिसर रहेको छ ।

पाल्पाली राजा मणि मुकुन्दसेन देवघाट तीर्थ आउने क्रममा बास बस्न र सैनिक सुरक्षाका खातिर उक्त दरबार बनाएको कुरा सुन्नमा आएको तिवारीको भनाइ छ । यहाँसम्म पुग्नका लागि सहज गाडीको व्यवस्था समेत रहेको छ । डाँडोको टुप्पोमा अवस्थित मुकुन्दसेन मन्दिर धार्मिक महत्वका साथै पैदल यात्राका दृष्टिले पनि त्यत्तिकै सुन्दर गन्तव्य हुनसक्ने उनले बताए । यस ठाउँमा सालको वन र चराको चिरबिरे आवाजको आनन्द लिन सकिने तिवारीको भनाइ छ । यो क्षेत्रको अर्को महत्वपूर्ण आकर्षण वनविहार हुन सक्ने तिवारीले बताए ।

लक्ष्मी नृसिंह दिव्यधाम

लक्ष्मी नृसिंह दिव्यधाम गैँडाकोट–१ गंगानगरमा अवस्थित एक महत्वपूर्ण धार्मिकस्थल हो । यहाँ निर्माण गरिएको मन्दिर दक्षिण भारतीय शिल्पकलामा आधारित रहेको छ । स्वामी सन्तनारायणीजीले २०३८ सालमा जमिन खरिद गरी २०४० सालमा मन्दिर, धर्मशाला र त्यसको प्राङ्गण विस्तार गरेका हुन् । नृसिंह भगवानको कृपा सम्पूर्ण भक्तमा हुने विश्वास यहाँका बासिन्दामा छ ।

यो स्थानमा व्यवस्थित रुपमा मन्दिर बनाउने, मन्दिर वरपर, धर्मशाला, अतिथि गृहलगायत निर्माण गर्ने स्वामीजीको सोच र दाताहरूको दान तथा त्यस कार्यमा स्थानीय व्यक्तिको सहयोग समेतका कारण मन्दिर निर्माण गरिएको हो । अहिले मन्दिर, धर्मशाला, अतिथि निवास र काम गर्नेहरूका लागि आवास समेत तयार भइसकेको छ । भगवानका मूर्तिहरूको प्रतिष्ठा, पाश्र्ववर्ति विभूतिहरूको मूर्ति स्थापना समेत कलात्मक ढङ्गले गरिएको छ । मन्दिर र त्यसको परिसर अति मनमोहक देखिन्छ । यहाँ भजनकीर्तन तथा धार्मिक पर्वहरूमा श्रद्धालुहरूको घुइँचो लाग्दछ।

शिखर खजुराव शैलीको हनुमान मन्दिर

गैँडाकोटमा रहेको हनुमान मन्दिर धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीमा अवस्थित नेपालकै ठूलो ‘शिखर खजुराव’ शैलीको हनुमान मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो मन्दिरमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट तीर्थयात्रीहरु आउने गरेका छन् । शिखर खजुराव शैलीमा निर्माण गरिएको नेपालकै ठूलो हनुमान मन्दिर तथा राजमार्गसँगै जोडिएको कारण पनि यो बाटो भएर हिँड्ने पर्यटकहरु यहाँ पस्ने गरेका छन् ।

श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम

गैँडाकोट–७ गैरीमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम आन्तरिक पर्यटनको महत्वपूर्ण धार्मिक क्षेत्र बन्दै आएको छ । श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिसरमा नेपालको पहिलो कलात्मक ३२ फुट अग्लो महाशिवलिङ्ग एवं नर्मदेश्वर नदीबाट ल्याइएका एक सय आठ शिवलिङ्ग, गणेश मन्दिर, दुर्गा मन्दिर, नागको थानलगायत रहेका छन् ।

विसं २०४४ मा स्थापना भएको यो मन्दिर यस क्षेत्रकै कलात्मक र भव्य मन्दिर हो । श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गुरुकल परम्पराअनुसार पूजा आराधना भइरहकेको छ । ब्रह्मलीन १००८ स्वामी परमानन्दजी महाराज गुरुबाट शिलान्यास गरी यहाँ पूजाअर्चना सुरु गरिएको थियो ।

श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिसरमा नेपालको पहिलो कलात्मक ३२ फुट अग्लो महाशिवलिङ्ग एवं नर्मदेश्वर नदीबाट ल्याइएका एक सय आठ शिवलिङ्ग रहेका कारण साउन महिनामा भक्तजनको चाप हुने गर्छ । प्रत्येक शुक्रबार बिहान ११ बजेदेखि सत्सङ्ग पनि हुने गरेको छ । विसं २०४४ मा सामाजिक, धार्मिक व्यक्तिहरुले टाप्रेघारी भएको स्थानमा जमिन संरक्षणका लागि भेला गरी मन्दिर निर्माण गर्ने समिति गठन गरेर मन्दिर निर्माण गरिएको हो । मन्दिरमा विवाह, व्रतबन्ध, विभिन्न अवसरमा पूजा आराधना पनि हुने गरेको छ ।
गैँडाकोटको सम्भावना

गैँडाकोटको सीमाना हुँदै बग्ने नारायणी नदी एवम् कालीगण्डकी नदीका कारण यहाँ जलयात्रा तथा नदी किनारमा मनोरञ्जन स्थल निर्माणको उच्च सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए । प्रसिद्ध तीर्थस्थल देवघाटलाई नारायणी नदीमा साना जहाज र मोटरबोट जलयात्राले जोड्ने सम्भावना रहेको उनको भनाइ छ । गैँडाकोट नगरपालिकाको नारायणी तटमा ‘रिभर बीच’ प्रवद्र्धन गर्न सकिने अवस्था रहेको उनको भनाइ छ ।

सहरी जीवनशैलीबाट विश्राम गर्नका लागि वनभित्रकै मार्गहरूको प्रयोग गर्दै ढोडेनी, केलादी, हर्दी (वनको उत्तरतर्फ रहेका सुन्दर गाउँहरू) का साथै देवघाट (कालीगण्डकी, सेती र नारायणीको संगम स्थल) सम्म पुग्न सकिने अवस्था रहेको भट्टचनले बताए । गैँडाकोटमा रहेको मौलाकालिका मन्दिर, मणिमुकुन्दसेन दरबार, कैलाश सन्यास आश्रमलाई जोडेर मुख्य पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ ।

नेपालको मध्यतराई भागमा पर्ने यस नगरको बीचबाट पूर्व–पश्चिम राजमार्ग वारपार हुने, नारायणगढ, देवघाट नजिकमा पर्ने, अत्यधिक मानिसहरूको यात्रा हुने स्थल भएकाले व्यापार, व्यवसाय, उद्योग धन्दाको प्रचुर सम्भावना रहेको छ । गैँडाकोट धार्मिक रूपमा आदिकालदेखि नै चर्चामा रहेको भन्दै अब यस स्थानलाई पर्यटनसँग जोडेर अगाडि बढ्न निजी क्षेत्र तयार रहेको भट्टचनको भनाइ छ । गैँडाकोटमा बन्न लागेका विकासका पूर्वाधारहरुले निःस्वार्थ गति लिने हो भने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने सम्भावना त्यत्तिकै रहेको छ ।

–टेकराज पोखरेल

पर्यटनको केन्द्र बन्दै ‘गणेशपुर पार्क’

दाङ । दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वन जङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन् ।

उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भने, ‘यो ठाउँ आफैमा सुन्दर छ, सामुदायिक वन दृश्य हेर्न लायक छ । त्यसैमा गौतमबुद्धको मूर्ति निर्माण गरेर शोभा बढाएपछि पर्यटकको आकर्षण पनि बढेको छ ।’

त्यहाँ पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका बाघ, बाँदर, उल्लु, खरायोका बच्चा, चित्तललगायत जनवारसँग पनि छन् । त्यसैले पनि पर्यटकलाई रमाउन सहज भएको छ । यहाँ रहेको पोखरीमा डुङ्गाको व्यवस्था छ । तीन वटा डुङ्गामा सयर गर्ने व्यवस्था गरिएको छ ।

पोखरीमा माछा पालन गरिएको छ, जहाँ हाल पाँच हजार माछा रहेका अध्यक्ष भण्डारीले बताए । त्यहाँ रहेको हात्ती, गैँडाको प्रतिमाले पनि उत्तिकै रौनक थपेको उनले बताए । हाल रङ्गौली गार्डेन र पिङ निर्माणको कार्य भइरहेको छ । त्यो निर्माण भएमा अझै आकर्षण बढ्ने अध्यक्ष भण्डारीको विश्वास छ ।

‘हामीले यहाँ घोडा पनि व्यवस्था गरेका छौँ । भित्र विभिन्न प्रजातिका फूलहरू छन् । त्यसले पनि सौन्दर्य थपिरहेको छ । चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । पिङ, स्वीमिङदेखि बच्चाहरूले खेल्ने हरेक सामग्री राखेका छौँ’, उनले भने ।

भण्डारीका अनुसार यहाँ दैनिक चार सयदेखि पाँच सय जनाले अवलोकन गर्छन् । चाडपर्व र बिदाको समयमा भने दैनिक दुई-तीन हजार बढीले अवलोकन गर्ने गरेको उनले सुनाए । यसरी सरदर वार्षिक दुई लाखभन्दा बढी पर्यटकहरुले गणेशपुर पार्कको अवलोकन गर्ने गरेका भण्डारीले बताए ।

यहाँ बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट समेत अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थीलाई ५० प्रतिशत छुट र अपाङ्ग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्योबाहेक अन्यले रु ३० को टिकेट काट्नु पर्छ । त्यो स्थान कुनै समय अतिक्रमणमा परेको थियो । राष्ट्रिय वन क्षेत्र हुँदा मानिसले त्यसलाई अतिक्रमण गरेर घर बनाउन खोजिरहेको थिए, तर स्थानीयले अतिक्रमणलाई रोके र रुख रोपे । रुख हुर्किएपछि जग्गा संरक्षण भयो । पछि त्यो वनलाई श्री गणेश सामुदायिक वन बनाइएको हो ।

विसं २०५९ मा स्थानीय हरि रिजालको नेतृत्वमा यसको काम अगाडि बढेको थियो । पछि इञ्जिनियर वासुदेव रिजालले त्यसलाई रेखाङ्कन गरेपछि त्यहाँ पार्क निर्माणको काम भएको जनाइएको छ । ‘शान्तिको कामनासहित पर्यटकीयस्थल बनाउने परिकल्पनासहित काम अघि बढेको थियो । त्यतिबेला मुलुक जनयुद्ध उत्कर्षमा थियो, जनयुद्धको स्थल पनि साविक राप्ती थियो’, अध्यक्ष भण्डारीले भने, ‘त्यसैले साविक राप्तीबाटै शान्तिको कामना गर्ने र पर्यटक पनि वृद्धि गर्ने उद्देश्यले त्यो पार्क निर्माण गरेका हौँ ।’ रासस

पर्यटकीय ‘सिजन’ मै सुनसान मनाङ

मनाङ । असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुन्थे । अग्रिम बुकिङ गरी होटलमा बस्न समेत ठाउँ नपाइने यतिबेलाको समयमा यस वर्ष मनाङ सुनसान छ ।

विदेशी पर्यटक विश्वकै १०औं स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्दथे । स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे । तर, पर्यटकको लर्को लाग्ने यस समयमा नै यस वर्ष सुनसान छ ।

यहाँको सौन्दर्यताले विदेशी पर्यटकलाई आकर्षण गर्दै यहाँको आयस्रोतले देशकै अर्थतन्त्रमा प्रभाव पार्दछ । तर, मुख्य पर्यटकीय समयमा नै पर्यटकको आगमन भएको छैन । विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यसवर्ष जेनजी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको प्रभावले देशको अर्थतन्त्रलाई नै असर गरेको प्रत्यक्ष बुझ्न सकिने पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए ।

उनले भने, ‘यहाँका मुख्य आयस्रोत नै पर्यटन र कृषि हो, तर जेनजी आन्दोलनले देशमा नै पर्यटकको आगमन नहुँदा यसवर्ष मनाङमा पनि आउन सकेका छैनन्, यसले देशको अर्थतन्त्रमा नै ठूलो प्रभाव पार्ने देखिएको छ ।’ आम्दानी नहुँदा देशलाई परेको नोक्सानलाई ‘रिकभर’ गर्न सकस हुने गुरुङको भनाइ छ । विशेषगरी मनाङको राजस्वले देशकै अर्थतन्त्रमा ठूलो भूमिका रहेको उनले बताए ।

आन्दोलन अघिसम्म पर्यटकको आगमन र चामेमा रहेको तातोपानी कुण्डमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेकामा अहिले सुनसान रहेको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । पर्यटकले विस्तारै चामे छाड्दै गएपछि पछिल्ला दिनमा त्यो क्षेत्र पनि सुनसान भएको उनले बताए ।

‘गत हप्ता यहाँ पर्यटक खचाखच भएको थियो, अहिले त स्वेदशी, विदेशी पर्यटक कोही पनि भेटिँदैनन्’, प्रजिअ पौडेलले भने, ‘केही दिनअघिसम्म साँझपख तातोपानी कुण्डमा नुहाउने विदेशी पर्यटक टन्नै भेटिन्थे, तर केही दिनयता शून्य छ ।’ पर्यटक शून्य हुनुमा जेनजी आन्दोलन र सडक सञ्जाल नै प्रमुख कारण भएको उनको भनाइ छ ।

विशेष गरी जेनजीको आन्दोलनको प्रभावका साथै मनाङ भित्रिने लमजुङ खण्डको बाटो हिलाम्मे हुनु र स्थलमार्गबाट काठमाडौँदेखि बेँसीसहर हुँदै मनाङ आउने पर्यटकलाई ठाउँठाउँमा पहिरोले गरेको अवरोध नै मुख्य कारण बनेको छ । चितवनमा गएको पहिरो र यातायात सञ्चालनमा परेको कठिनाइले गर्दा पनि यहाँ सुनसान बनेको छ ।

थोरै जनसंख्या भएको मनाङमा आन्तरिक पर्यटकको पनि यस पटक आगमन नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताए । चाडपर्वका बेलामा घुम्ने परम्परा विकसित भएसँगै यहाँ आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेनजी आन्दोलनको असरले आउन नसकेको उनको भनाइ छ । विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यहाँका होटेल यसपाली पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताए । यहाँका बुकिङ भएका होटेल पनि रद्द भएका उनले जानकारी दिए ।

जेनजी आन्दोलनको असर र दुई दिनमा उल्टिएको सत्ताले गर्दा विदेशी पर्यटक एकै चोटी ह्वात्तै घटेको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको तर्क छ । अध्यक्ष गुरुङले भने, ‘यस वर्ष सुनसान छ मनाङ, पर्यटक भित्रिने मुख्य प्रवेशद्वारका रूपमा मेरै गाउँपालिका पर्छ, गतवर्ष यति बेला बाटो हिँड्न पनि मुस्किल पथ्र्यो, अहिले विदेशी पर्यटक देखिएका छैनन् ।’

जिल्लामा भएका कर्मचारी पनि कार्यालय सहयोगीलाई कार्यालय कुर्ने जिम्मेवारी दिँदै दसैँ बिदामा घर फर्किसकेका छन् । यसले गर्दा मनाङ झनै सुनसान भएको छ । कर्मचारी मात्रै नभइ ९० प्रतिशत मनाङवासीको काठमाडौँ, पोखरा, चितवनलगायतका सहरमा घर तथा व्यापार व्यवसाय छ । उनीहरूका बालबच्चा सहरमा अध्ययन गर्छन् । जनप्रतिनिधि तथा व्यवसायी आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउन सहर जाने गर्दछन् । यसले गर्दा पनि गाउँ सुनसान हुँदै गएको छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आफू पनि परिवारका साथ चाडपर्व मान्न काठमाडौँतिर लागेको बताए । अध्यक्ष लामाले पनि जेनजी आन्दोलनले गर्दा यहाँको पर्यटनमा असर परेको बताए । सुस्ताएको पर्यटन व्यवसायलाई उठाउने प्रयासमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा स्थानीयको माग छ । मनाङ देशकै पहिलो वैदेशिक व्यापारिक सम्बन्ध कायम गर्ने भएकाले यस्ता कार्यमा मनाङवासी चिन्तित बनेका छन् ।

पर्यटकीयस्थलबाट अन्नपूर्ण गाउँपालिकालाई एक करोड १५ लाख आम्दानी

म्याग्दी । चालु आर्थिक वर्ष २०८२/८३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थलहरुबाट एक करोड १५ लाख आम्दानी गरेको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ्ग–तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शुल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।

पुनहिल, पाउद्वार र रातोपानीको आय ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । उनका अनुसार भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शुल्क संकलन र चमेनागृह सञ्चालन गर्न रु ५० लाख एक हजारमा ठेक्का कबोलेको होटल हटस्पिरिङ इनसँग दसैँलगत्तै सम्झौताको तयारी भएको छ ।

अन्नपूूर्ण–६ स्थित पुनहिलमा प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि रु ५० लाख, पाउद्वार तातोपानी कुण्डको रु २५ लाख र रातातोपानीको रु तीन लाख न्यूनतम शूल्क कायम गरेर ठेक्का आह्वान भएको थियो ।

सबै पर्यटकीयस्थलको ठेक्कामा न्यूनतमभन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीले अग्रिम रुपमा राजस्व जम्मा गरेर कानुनअनुसार १० प्रतिशत छुट पाएका छन् । रु ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी, रु १५/१५ हजार आय ठेक्काको रकम कायम भएको नारच्याङ र महभिर झरनामा चमेनागृह सञ्चालन गर्न कसैको पनि प्रस्ताव नपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए ।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिक रूपमा व्यवसाय करबापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेबापत रु ३६ हजार बहालबटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसपबाट समेत व्यवसाय कर संकलन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा रु एक करोड ७२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रबाट मात्रै रु एक करोड २७ लाख आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा रु दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णमा पर्यटकीयस्थलको योगदान प्रमुख छ ।

पुनहिल र भुरुङ्ग–तातोपानीमा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशीलाई रु १५० प्रवेश शुल्क कायम भएको छ । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिका–४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ । पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको उनले बताए ।

बागमतीलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन १५ वर्षे रणनीतिक योजना

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न १५ वर्षे मुख्य रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ । बागमती प्रदेशको तीव्र आर्थिक वृद्धि र रोजगारी सिर्जनाको प्रमुख क्षेत्रका रुपमा पर्यटन उद्योगलाई स्थापित गर्दै दीर्घकालीन समृद्धि हासिल गर्ने उद्देश्यका साथ बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले सो रणनीतिक योजना अघि बढाएको हो ।

उक्त रणनीतिक योजना तीन चरणमा पूरा गर्ने लक्ष्य राखिएको छ । रणनीतिक योजना कार्यान्वयनको प्रथम चरण (२०२५–२०३०) आधारभूत पर्यटन पूर्वाधार र डिजिटल प्रवर्द्धनमा केन्द्रित रहनेछ । दोस्रो चरण (२०३०–२०२५) मा पर्यटकीय उपजहरुको विविधीकरण गर्दै विस्तारित बजारको पहुँच अभिवृद्धि तथा तेस्रो चरण (२०३५–२०४०)मा प्रदेशको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक क्षमता विस्तार गरी अग्रणी भूमिकामा पुर्‍याइनेछ ।

प्रदेशभित्रका प्रमुख पर्यटकीय सम्पदा र अवसरको पहिचान र प्रवद्र्धन, दिगो र समावेशी पर्यटनको विकास तथा आर्थिक, सांस्कृतिक र वातावरणीय लाभको प्रवर्द्धन गर्ने उद्देश्यका साथ पन्ध्रवर्षे (सन् २०२५–२०३०) रणनीतिक योजना अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ रणनीतिक योजनाको कार्यान्वयनबाट बागमतीलाई एक अग्रणी पर्यटकीय ‘ब्राण्ड’ का रुपमा प्रस्तुत तथा पर्यटन पूर्वाधारको विकासका साथै बजारीकरणमा प्रदेश पर्यटन क्षेत्रको सशक्त उपस्थिति हुने विश्वास व्यक्त गर्छन् ।

योजनाको सफल कार्यान्वयनबाट उचित प्रतिफल लिनका लागि चालु आर्थिक वर्षका लागि मन्त्रालयले चालुतर्फ रु ४६ करोड ६५ लाख र पूँजीगततर्फ रु तीन अर्ब २१ करोड पाँच लाख गरी रु तीन अर्ब ६७ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले पर्यटन विकास आयोजना, पर्यटन विकास आयोजना इकाई कार्यालय तथा चितवन र काठमाडौँमा रहेका पर्यटन कार्यालयमार्फत उक्त बजेट कार्यान्वयन गर्नेछ । रणनीतिक योजनाका आधारमा नै चालु आर्थिक वर्षका लागि मन्त्रालयका योजना र कार्यक्रम परिलक्षित रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक उन्नतिको प्रमुख आधार पर्यटन नै भएको उल्लेख गर्दै बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठ लक्षित उद्देश्य हासिल गर्न निजी क्षेत्रसँग हातेमालो गर्दै प्रदेश सरकार अघि बढ्ने बताउँछन् । ‘पर्यटन व्यवसायीसँग सहकार्य गर्न बागमती सरकार पूर्ण तयार छ, व्यवसायीलाई परेका अप्ठयारा समाधान गर्न सरकार प्रतिबद्ध छ’, उनी भन्छिन्, ‘सरकार र निजी क्षेत्रले नेपालको पर्यटकीय क्षेत्र सुरक्षित छ भन्ने सन्देश विश्वमाझ पुर्‍याउनु पर्नेछ ।’

रणनीतिक योजना कार्यान्वयनका क्रममा चालु आर्थिक वर्षमा मूर्त तथा अमूर्त सम्पदा र आरोग्य पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन, थप हिमशृङ्खलाको पहिचान तथा आरोहणका लागि रुट अन्वेषण, एक निर्वाचन क्षेत्र एक पर्यटकीय क्षेत्रको अध्ययन गरिने मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले जानकारी दिए ।

यस्तै कला, संस्कृति तथा सम्पदा संरक्षण, पर्यटन पूर्वाधार निर्माण तथा स्थानीय तहमा हस्तान्तरण, पर्यटकीय गन्तव्य पहिचान तथा प्रवद्र्धन एवं साहसिक पर्यटन महोत्सवको आयोजनाका साथै सिन्धुपाल्चोकमा ‘र्‍याफ्टिङ स्कूल’ सञ्चालनमा ल्याइनेछ ।

‘बागमती पर्यटन डिजिटल अभियान’अन्तर्गत विश्वविख्यात ‘भ्लगर’ तथा सामाजिक सञ्जालबाट जनमत सिर्जना गर्न सक्ने ‘सेलिब्रेटी’ मार्फत प्रदेशका प्रर्यटकीय क्षेत्रको प्रचारप्रसार गरिनेछ । होमस्टे सञ्चालकको क्षमता विकास, पर्यटन गाइड तथा साहसिक पर्यटन प्रवद्र्धकका लागि क्षमता विकास एवं सरोकारवालासँग छलफल र अभिमुखीकरण गरिनेछ ।

रणनीतिक योजनाले प्रदेशभित्रका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धन गर्ने लक्ष्य लिएको मन्त्रालयका सचिव सुवेदी बताउँछन् । बागमती प्रदेशमा प्राकृतिक (चितवन र लाङटाङ राष्ट्रिय निकुञ्ज), सांस्कृतिक र धार्मिक (काठमाडौँ उपत्यका), आध्यात्मिक (पुशपति र गोसाइँकुण्ड) र साहसिक (पदयात्रा र  र्‍याफ्टिङ) पर्यटकीय क्षेत्र छन् ।

प्रदेशभित्र रहेको संघीय राजधानी काठमाडौँ उपत्यका विभिन्न कला, संस्कृति र सम्पदाको हिसाबले विश्वमाझ परिचित छ । चितवन काठमाडौँ पछाडि बागमती प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । चितवनमा खासगरी कृषि, धार्मिक, स्वास्थ्य, खेलकुद, शैक्षिक आदि पर्यटनको प्रचुर विकास गर्न सकिने सम्भावना रहेको पर्यटन व्यवसायीको भनाइ छ ।

बागमती प्रदेशमा थुप्रै पर्यटकीय क्षेत्र रहे पनि अध्यधिक केन्द्रीकरण, असमान र कमजोर पूर्वाधार, फितलो पर्यटक व्यवथापन, जलवायु परिवर्तन र प्राकृतिक जोखिम, राजनीतिक अस्थिरतालगायत कारणबाट पर्यटन विकासमा चुनौती थपिएको मन्त्रालयको विश्लेषण छ ।

 

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

काठमाडौं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहार जस्ता पर्वमा विशेष गरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले अपूरणीय क्षति बेहोर्नु परेको छ ।

कैयौँ पर्यटकीय संरचनामा अकल्पनीय हानिनोक्सानी भएको छ । परिणामतः पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन निराशाजनक छ ।विगतका दसैँमा भरिभराउ हुने बन्दीपुरका होटल तथा ‘होमस्टे’ले पर्यटक पर्खिरहेका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार विगतका दसैँ तथा तिहारजस्ता पर्वमा शतप्रतिशत ‘अकुपेन्सी’ हुने बन्दीपुरका होटल तथा होमस्टेमा अहिले मुस्किलले एक सय पर्यटक छन् ।

‘गत भदौमा आन्दोलन दैनिक एक हजारभन्दा बढी पर्यटक बन्दीपुर आइरहेका थिए, तर आन्दोलनपछि पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ, यसले बन्दीपुर भ्रमण वर्ष २०२५ प्रभावित हुन्छ कि भन्ने संशय पैदा भएको छ’, उनले भने ।

आन्दोलनको असर बागलुङ कालिका मन्दिरमा पनि परेको छ । विशेष गरी बडादसैँ र चैते दसैँमा मन्दिरमा ठूलो मेला लाग्छ । तर यसपटक भने मन्दिरमा आउने दर्शनार्थीको संख्या करिब ५० प्रतिशतले घटेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ ।

पर्यटकीय गन्तव्य चितवनको सौराहमा पनि यसपटक उल्लासमय वातावरण नभएको क्षेत्रीय होटल सङ्घ सौराहका पूर्वअध्यक्ष दीपक भट्टराईले बताए । उनका अनुसार जेनजीको आन्दोलनपश्चात् सौराह आउने पर्यटक उल्लेख्य रूपमा घटेका छन् । ‘विगतका वर्षमा दसैँ अगाडि होटलमा ८० देखि ९० प्रतिशत बुकिङ हुन्थ्यो, आन्तरिक र विदेशी पर्यटकको ठूलो उपस्थिति हुन्थ्यो, तर अहिले सबै बुकिङ रद्द भएर पाँच प्रतिशतको हाराहारीमा सीमित भएको छ’, उनले भने । उनका अनुसार सौराहमा पर्यटकस्तरीय २०० होटलमा छ हजार कोठा छन् ।

पूर्व अध्यक्ष भट्टराई जेनजी आन्दोलन र बाटो बिग्रिएकाले पनि होटल बुकिङ रद्द हुनेक्रम बढेको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन् । ‘दसैँदेखि तिहारसम्मको समयमा विदेशी पर्यटकको बुकिङ थियो, उनीहरूले तिहारपछि सम्मको बुकिङ रद्द गरिसकेको अवस्था छ’, उनले भने ।

क्षेत्रीय सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले पनि जेनजी आन्दोलनपछि लुम्बिनी आउने पर्यटक उल्लेख्य घटेको बताए । ‘अक्टोबरदेखि पर्यटन सिजन हुन्छ, त्यसभन्दा अगाडि बुकिङ निकै राम्रो थियो, आन्दोलनपछि ९० प्रतिशत बुकिङ रद्द भएको छ, यो अवस्था केही समय लम्बिने देखिन्छ’, उनले भने । उनका अनुसार भैरहवा, लुम्बिनी र भारतीय सीमा क्षेत्रमा गरी पर्यटक स्तरीय १४६ होटल छन् । जसमा पाँच हजार बेड संख्या छन् । उनका अनुसार आन्दोलनपछि भारतमा पनि राम्रो सन्देश नगएकाले उनीहरू पनि आउन सकेका छैनन् ।

जेनजी आन्दोलनको असर बर्दियामा पनि परेको छ । क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीले भने, ‘आन्दोलनपछि होटलको बुकिङ रद्द भएको छ, यहाँ आउने भारतीय पर्यटक पनि नआएको अवस्था छ, अहिले होटलमा पाँच प्रतिशत पनि अकुपेन्सी छैन ।’ विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरूको संख्या घटेसँगै होटल बुकिङ पनि रद्द भएको उनको भनाइ छ । बर्दियामा ४० वटा साना र ठूला होटल तथा होमस्टेमा एक हजारको हाराहारीमा बेड संख्या छ ।

जेनजी आन्दोलनको प्रभाव पर्यटन राजधानी पोखरामा पनि परेको छ । दसैँको समयमा गुल्जार हुने पोखरा बजार यतिबेला सुनसान जस्तै भएको होटल संघ नेपाल (हान) गण्डकी प्रदेशका अध्यक्ष हरिप्रसाद शर्मा गैरेको भनाइ छ ।

‘यस पटक हामी पर्यटकीय सिजनको उत्साहका साथ पर्खाइ र तयारीमा थियौँ, अक्टोबरदेखि डिसेम्बरसम्मको बुकिङ निकै राम्रो थियो, तर आन्दोलनपछि डिसेम्बरसम्मको होटल बुकिङ रद्द भएको अवस्था छ’, उनले भने, ‘यसबाट हामीलाई ठूलो क्षति पुगेको छ ।’ विशेष गरी कोरोना महामारीपछि यस वर्ष नेपालको पर्यटन क्षेत्रले पुनरुत्थानको चरण पार गर्छ भन्ने अवस्थाबाट फेरि शून्य अवस्थामा आइपुगेको उनको बुझाइ छ ।

‘जसरी आन्दोलनका क्रममा पाँचतारे होटलबाट स्वीमिङ गर्दै गरेका पर्यटकलाई उद्धार गर्ने काम भयो र ती भिडियो भाइरल बनाइयो, यसले निकै गलत सन्देश प्रवाह भयो’, उनले भने, ‘त्यसबाहेक आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दीको डर र सडक अवरुद्ध भएका कारणले पनि आन्तरिक पर्यटन चलायमान हुने अवस्था भएन ।’

उनले आन्दोलनका क्रममा गण्डकी प्रदेशमध्ये कास्की सबैभन्दा बढी प्रभावित भए पनि समग्र प्रदेशकै अवस्था राम्रो नभएको बताउँछन् । उनका अनुसार प्रदेशमा १६ हजार होटल र रेष्टुरेन्ट छन् । जसमा यतिबेला बुकिङ पाँच प्रतिशत पनि छैन । विगतका विभिन्न कालखण्डमा पटकपटक भइरहेका आन्दोलन र महामारीलगायतका घटनाक्रमले दक्ष जनशक्ति पलायन भइरहेको उल्लेख गर्दै उनले व्यवसायीको पनि मनोबल घटेको बताए ।

‘रिकभर’ को चरणमा छ पर्यटन

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जेनजीको आन्दोलनपछि पर्यटक क्षेत्र ‘रिकभर’ को चरणमै रहेको बताउँछन् । ’गत भदौ २३ र २४ गतेको आन्दोलनअघिसम्म विदेशबाट औसतमा दैनिक तीन हजार ३०० पर्यटक आइरहेकामा आन्दोलनको साता यो संख्या एक हजार ६०० मा झरेको थियो, यस साता भने दुई हजार ९०० पर्यटक नेपाल आएका छन्’, जोशीले भने, ‘त्यसैले यो पर्यटन क्षेत्रका लागि रिकभरकै समय हो ।’

सीईओ जोशीले हरेक संकटमा सरकार र निजीक्षेत्र एक भएर पर्यटन पुनरुत्थानमा लागेको, नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुगेको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सहकार्य बिना पर्यटन विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैँ खुला रहेको बताए ।

उनले भने, ‘गत भदौमा भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको छ । निजी क्षेत्रका समस्याहरू समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैँ तयार छ ।’

त्यसैगरी मन्त्रालयका सहसचिव इन्दु घिमिरेले छोटो अवधिमै पनि पर्यटनले रिकभरी गर्दै गरेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँगै उभिएको बताए । उनले भने, ‘पर्यटनको रिकभरी सँगसँगै दिगो रूपान्तरणका लागि सबैसँग हातेमालो गर्न आवश्यक छ, पर्यटन क्षेत्र सरकार एक्लैले वा निजी क्षेत्र एक्लैले मात्र पूर्ण नहुने भएकाले सरकार र निजी क्षेत्र सँगसँगै हिँड्न आवश्यक छ । यसका लागि आवश्यक वातावरण तयार गर्न मन्त्रालय प्रतिबद्ध छ ।’

कहाँ–कहाँ भयो क्षति ?

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा पर्यटकीय पूर्वाधारमाथि आक्रमण भयो । प्रदर्शनकारीले होटलहरूमा तोडफोड, लुटपाट र आगजनी गरे । होटल संघ नेपाल (हान) का अनुसार आन्दोलनका क्रममा होटलमाथि भएको तोडफोड, लुटपाट र आगजनीका कारण रु २५ अर्ब बराबरको क्षति भएको छ ।

आन्दोलनका क्रममा बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा भएको आक्रमणपछि बन्द भएको छ । होटलका अनुसार होटल पुनर्निर्माण भई सञ्चालनमा आउनका लागि करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । होटलको क्यासिनो, रेष्टुरेन्ट तथा प्रवेशद्वारमा तोडफोड र आगजनी गरिएको छ । साथै केही सवारीसाधनमा आगजनी तथा तोडफोड गरिएको छ ।

काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ । राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्बद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमा आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ ।

त्यसैगरी काठमाडौंको वर्णबास होटल पनि आक्रमणको सिकार भएको छ । आइएमई समूहले निर्माण गरेको चन्द्रागिरि केबलकारको बेसस्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केबलकार बन्द छ । सोही समूहले सञ्चालन गरेको मौलाकालिका केबलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केबलकार मर्मतपछि तत्कालै सञ्चालनमा आउने सम्भावना भए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको आइएमई समूहले सातै प्रदेशमा केबलकार निर्माण गर्ने योजना अगाडि सारेको थियो । सोही क्रममा पूर्वको पाथीभरामा केबलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ । रासस

अन्नपूर्ण पदमार्गबाट पर्यटक

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङको चामे गाउँपालिकाको तिमाङबाट मनाङतर्फ जाँदै गरेका विदेशी पर्यटक । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । पदयात्राका लागि सिजन सुरु भएपछि दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुन थालेको हो ।

यो पदमार्गमा मुख्य सिजनमा भने दैनिक दुई सयको हाराहारीमा विदेशी पर्यटक आउने गर्दछन् । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स र अष्ट्रेलिया, बेलायत, अमेरिकाका पर्यटक आउने गरेको बताइन्छ । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । तस्वीर : नवीन लामिछाने / रासस

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा । यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टिमका दुई सय २४ जनाले अनुमति लिएका हुन् । यो तथ्याङ्क शुक्रबारसम्मको हो ।

विभागका अनुसार एक सय ६९ पुरुष र ५५ महिलाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । उनीहरूबाट रु नौ करोड ४३ लाख २२ हजार ८६० राजस्व सङ्कलन भएको छ ।

यो सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लु आरोहण गर्ने गरेका छन् । शुक्रबारसम्म सगरमाथा आरोहणका लागि जम्मा एक जनाले मात्र अनुमति लिएका छन् । ल्होत्से आरोहणका लागि दुई जनाले मात्र अनुमति लिएका छन् ।

अरु आरोहीहरूले आठ हजार मिटरभन्दा कम उचाइका हिमाल आरोहणको अनुमति लिएका छन् । तथ्याङ्कअनुसार सात हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जनाले अनुमति लिएका छन् । छ हजार ३९५ मिटर अग्लो ल्यायुल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन् ।

गत वर्षको यही सिजनमा चार सय एक जनाले मनास्लु हिमाल आरोहणको अनुमति लिएका थिए । अहिले मनास्लु हिमालमा रोप फिक्सिङ (डोरी टाँग्ने) काम भइरहेको स्थानीय चुमनुब्री गाउँपालिका–१ सामागाउँका वीरबहादुर लामाले जानकारी दिए ।

साथै आरोहीहरू सामागाउँमा आइपुग्न थालेका छन् । यहाँ लमजुङ, मनाङ हुँदै लार्केपास गरेर आउने आरोहीको सङ्ख्या धेरै हुने गर्छ । कोही हेलिकप्टरबाट पनि आउने गर्छन् ।

विभागको तथ्याङ्कमा सबैभन्दा धेरै आरोही चीनका ४३ जनाले अनुमति लिएका छन् । पोल्याण्डका २५, रुसका २३, नेपाली आरोही २३, अमेरिकाका १६, जापानका १३, फ्रान्सका १२ क्यानडाका १० आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका निर्देशक एवं सूचना अधिकारी लीलाधर अवस्थले शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू विस्तारै बढ्ने बताए । ‘बल्ल सिजन सुरु भएको छ । अब केही दिनमै धेरै आरोहीहरू अनुमति लिन आउँछन् ।’ यसअघि गत वर्ष यो सिजनमा मनास्लु आरोहणका लागि चार सय एक जनाले अनुमति लिएका थिए ।

 

अब अध्यागमनको ट्रयाकिङमा विदेशी पर्यटक

काठमाडौं । सरकारले नेपाल आउने विदेशी नागरिकहरूको ट्रयाकिङ थालेको छ । अध्यागमन विभागले विदेशी नागरिकको विवरण दर्ता तथा अनुगमन प्रणाली व्यवस्थापन गर्न भन्दै उनीहरूको ट्रयाकिङ थालेको हो । ‘अन्तराष्ट्रिय दायित्व र प्रतिबद्धताहरूप्रति पूर्ण प्रतिबद्धता प्रकट गर्दै विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणालीको विकास गरेको छ’ विभागको सूचनामा उल्लेख छ ।

अध्यागमनले अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशीहरूको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमन गर्ने एवम् नेपाली नागरिकहरूको प्रस्थान र आगमनलाई व्यवस्थापन गर्ने कार्य अध्यागमन प्रशासनको प्रमुख भएकोले यस प्रणाली सुरु गरिएको जनाएको छ ।

यस प्रणाली कार्यान्वयनमार्फत् नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको बसोबास तथा गतिबिधीसम्बन्धी व्यवस्थित अभिलेख राखे र आपतकालीन अवस्थामा खोज उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने अध्यागमनले जनाएको छ ।
‘सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरूबीच सूचना आदानप्रदानको प्रक्रियालाई प्रभावकारी बनाइ पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ’ अध्यागमनको सूचनामा भनिएको छ ।

यस प्रणालीलाई पहिलो चरणमा २०८२ साल असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रुपमा लागू गरिने अध्यागमनले जनाएको छ । दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरूमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने जनाइएको छ ।