काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री एवं बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री जियाको मंगलबार बिहान ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बीएनपीको मिडिया सेलले सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत उनको निधनको जानकारी दिएको छ । बीएनपीका अनुसार मंगलबार बिहान ६ बजे ‘फज्र’ को नमाज पढेको केही समयपछि उनले अन्तिम सास फेरेकी थिइन् ।
खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षको लामो लण्डन बसाइपछि गत डिसेम्बर २५ मा मात्रै ढाका फर्किएका थिए । छोरा स्वदेश फर्केको पाँच दिनपछि जियाको निधन भएको हो । पछिल्लो केही महिनादेखि उनको स्वास्थ्य अवस्था निकै नाजुक थियो । यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको स्वास्थ्य लाभको कामना गर्दै हरसम्भव सहयोगको प्रस्ताव गरेका थिए । चार दशकभन्दा लामो समय राजनीतिमा सक्रिय खालिदा जिया सन् १९८१ मा पति एवं तत्कालीन राष्ट्रपति जियाउर रहमानको हत्या भएपछि राजनीतिमा प्रवेश गरेकी थिइन् । उनले नै बीएनपीको कमान सम्हालेकी थिइन् ।
उनी सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००१ देखि २००६ सम्म उनी पुनः सत्तामा रहिन् । बंगलादेशमा बहुदलीय लोकतन्त्रको स्थापनाका लागि उनलाई महत्त्वपूर्ण नेता मानिन्छ । शेख हसिना प्रधानमन्त्री रहँदा खालिदा जिया जेलमा थिइन् भने उनका छोरा तारिक रहमानलाई पनि विभिन्न मुद्दामा दोषी ठहर गरिएको थियो ।
तर, सन् २०२४ मा शेख हसिनाविरुद्ध भएको विद्यार्थी आन्दोलनपछि गठन भएको मोहम्मद युनुसको अन्तरिम सरकारले जिया र उनका छोरालाई सबै मुद्दाबाट सफाइ दिएको थियो । बीएनपी अहिले बंगलादेशको सबैभन्दा ठूलो दलका रूपमा देखिएको छ र आगामी वर्ष हुने चुनावमा यो पार्टी सत्तामा आउन सक्ने अनुमान गरिएको छ । जियाले सन् २०२४ मा शेख हसिनाविरुद्ध भएको जनआन्दोलनलाई जेलबाटै समर्थन जनाएकी थिइन् ।
