`

मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् । ‘मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकें’, मन्त्री गुप्ताले भने, ‘प्रधानमन्त्रीले प्रक्रिया मिलाउन मात्र बाँकी छ ।’

उनले अब चुनावका लागि आफू होमिने बताएका छन् । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । यसअघि वर्तमान सरकार तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङले राजीनामा दिएका थिए । सक्रिय राजनीतिमा सहभागी हुन उनले राजीनामा दिएका थिए ।

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्ने बित्तिकै सबै गर्न सकिँदैन : मन्त्री गुप्ता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसावले कमजोर रहेकाले भएका श्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नु पर्ने बताएका छन्। शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिने स्पष्ट पारे । तर भएका श्रोत र साधनको प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गरे । उनले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।

उनले भने, ‘ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गरौँ । त्यसलाई अपनाउन नसके यस्ता कार्यक्रमको कुनै अर्थ रहँदैन । यसको अर्थ र गरिमा राखिदिन आफ्नो जीवनमा कार्यान्वयन गरिदिन अनुरोध गर्न चाहन्छु । हामीले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ । सकारात्मकता नहुने हो भने यि कुराहरु कार्यान्वयन हुँदैनन् । एक अर्काप्रति विश्वास र सकारात्मकता आउनु जरुरी छ । सरकारले गर्नुपर्ने कार्यहरु हामी गर्नेछौँ । नेपाल सरकार आर्थिक रुपमा कमजोर रहेको देश नै हो । त्यसैले चाहेको बेलामा सबैकुरा गर्न सकिरहेका छैनौँ । भएका श्रोत साधनबाट हामी चल्नुपर्छ ।’ मन्त्री गुप्ताले सकारात्मक रुपमा अघि बढ्नसके सबै काम सफल बन्दै जाने बताए ।

 

गफ गर्दिन, कामको कुरा मात्रै ‘ब्रिफिङ’ गर्छु : नव नियुक्त मन्त्री गुप्ता

काठमाडौं । नव नियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन् । आज (आइतबार) अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका हुन्।

विगतमा मन्त्रीहरुले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नव नियुक्त मन्त्री गुप्ताको भनाई थियो । उनले मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढने समेत बताए । नव नियुक्त मन्त्री गुप्ताले भने, ‘युवाहरुको माग छ र उनीहरुको कुरा राष्ट्रले नसुनिरहेको अवस्थामा अब त्यो कुरालाई एक ठाउँमा लिएर आउने र इम्पिलिमेन्टतर्फ पनि यो युवा मन्त्रालयको तर्फबाट कसरी यसलाई अघि बढाउने भन्ने विषयमा हामी छलफल गर्छौं । के—के कुरा हुन्छ । पहिला हामी कामै गरौं काम गरेपछि त्यो निर्णयहरु हामी तपाईहरुको अगाडि प्रस्तुत गर्ने नै छौँ । त्यसका लागि कृपया तपाईंहरुले हामीलाई पनि समय दिनुहोला । किनभने हामीसँग सर्ट टाईम छ । रिसोर्सेस पनि थोरै नै छ । काम गर्नुपर्ने धेरै छ । डेलिभरी गर्नुपर्ने धेरै छ ।’

उनले भने, ‘त्यसो भएकाले हामी कामैतर्फ लाग्छौ । हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रस्तुत गर्नेछौं । बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउन । मात्रै यो बोल्दो रहेछ भनेर भएन । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि । मैले आफू अनुकूल टिमसँग सल्लाह गरेर नेपालमा के कुरा फ्लेजिबल छ त । हामीले आफूसँग भएको रिसोर्सेस पनि हेर्नुपर्ने होला । हुँदै नहुने कुरा भनेर भएन । त्यो गरियो भने फेरि पनि आशा मर्छ नि त । प्रश्न के उठिराखेको छ भने जो गयो बोल्ने त हो नि । कराउने त हो । यसरी बोलीराख्दा हामीलाई पनि चित्त दुख्छ । त्यसो हुनाले हामी जतिसक्दो काम गर्छाैं । अनि कामको कुरा ब्रिफिङ गर्छौं, आज चाहीँ गफगफको ब्रिफिङ हुन्छ ।’ यसअघि उनलाई मन्त्रालयका सचिव डा. हरिप्रसादलम्साल लगायतका उच्च प्रदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।

 

जेनजी मन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालय र मातहतका सबै बैठक ‘लाइभ’

काठमाडौं । जेनजी आन्दोलनको सडकबाट उठेका बब्लु गुप्ता आज सिंहदरबार भित्रिएका छन् । तर पुरानो शैलीका मन्त्री होइन, नयाँ अभ्यासका नायकको रूपमा । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि युवा तथा खेलकुद मन्त्रालय पुगेका उनले पहिलो निर्णयकै रूपमा मन्त्रालय र मातहतका सबै निकायका बैठक अबदेखि ‘लाइभ’ गर्ने घोषणा गरेका छन् । गुप्ताको यो निर्णयले सिंहदरबारभित्र पारदर्शिताको नयाँ संस्कारको संकेत दिएको छ । सरकारी बैठकहरूमा जनताको निगरानी खुला गर्ने उनको अठोट ‘लाइभ शासन’ को पहिलो अभ्यासका रूपमा हेरिएको छ ।

सडकबाट सिंहदरबारसम्मको यात्रा
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन का ती तात्तिएका दिनहरू अझै पनि धेरैको स्मृतिमा ताजा छन् । माइतीघर मण्डलादेखि बानेश्वरसम्म भ्रष्टाचारविरोधी नारासहित भीड उर्लिँदै थियो, अनि भीडमाथि एउटा आकृति—खोपडीअंकित जापानी एनिमीको झण्डा बोकेका बब्लु गुप्ता । दिउँसो संसद् भवनभित्र गोली चल्दा पनि उनी बानेश्वर चोकमै अडिए, घाइतेलाई अस्पताल पुर्‍याउने जिम्मा लिए । त्यो दिनको रक्तरञ्जित आन्दोलनका नायकहरू मध्येका एक, बब्लु, अहिले त्यही आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका मन्त्री बनेका छन् ।

‘१०० ग्रुप’ बाट सुरुआत भएको मानवीय यात्रा
सिरहाको लहान स्थायी बास भएका गुप्तालाई उनका व्यवसायी बुबाले राम्रो पढाइका लागि काठमाडौं पठाएका थिए । लोकन्थलीस्थित सगरमाथा स्कूलमा कक्षा ३ मा भर्ना भएका बब्लुका जीवनका मोडहरू भने सामाजिक संवेदनशीलताका घटनाले कोरिएका हुन् ।
कलेज पढ्दै गर्दा उनले ग्वार्कोमा देखेको सडक दुर्घटनामा रगताम्ये अवस्थामा लडिरहेका एक युवकलाई उद्धार गरेर अस्पताल पु¥याएका थिए । त्यो घटनाले उनलाई भित्रदेखि हल्लायो र त्यसैबाट जन्मियो ‘१०० ग्रुप’, एक स्वतःस्फूर्त युवा समूह जसले रगत खोज्ने, बिरामीलाई सहयोग गर्ने र संकटमा परेकालाई उद्धार गर्ने काम थाल्यो । पछिल्ला वर्षहरूमा ‘१०० ग्रुप’ अस्पताल, दुर्घटना र विपद् उद्धारका अभियानहरूमा सक्रिय रह्यो । सिरहाकी कञ्चन मण्डलको जलाइएका घटनामा पनि बब्लुको समूह अग्रपंक्तिमा थियो—जीवन बचाउन दौडिरहेको।

अब ‘सामाजिक योद्धा’ बाट नीतिगत निर्णयकर्ता

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमाथि ‘जेनजी पुस्ता बाहिर छ’ भन्ने आलोचना भइरहेकै बेला बब्लुको मन्त्रिपरिषद् प्रवेशले त्यो बहसलाई नयाँ मोड दिएको छ । अब बब्लुबाट अपेक्षा छ- सडकको आवाज सिंहदरबारभित्र पुर्‍याउने । उनले मन्त्रालयभित्रको पहिलो हस्ताक्षरमै भनेका छन्, ‘जवाफदेहिता र पारदर्शिता हाम्रो पुस्ताको माग हो, अब अभ्यास पनि त्यहीँबाट सुरु हुन्छ ।’ सामाजिक कार्यकर्ता, आन्दोलनकारी र अब मन्त्रीको भूमिकामा पुगेका बब्लुको यो निर्णयले सरकारी निकायमा सार्वजनिक जवाफदेहिताको नयाँ पानाको सुरुवात गरेको छ ।