`

‘सदाबहार उम्मेदवार’ गौतमले किन छाडे चुनावी मैदान ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीसहित राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका नेता बामदेव गौतम अन्ततः चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बन्ने चर्चा चलिरहेकै बेला उनले आफू यस पटक कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने निर्णय लिएको बताएका हुन् ।

गौतमका अनुसार बर्दियाका दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयनको क्रममा जातीय सन्तुलनको प्रश्न उठेपछि उनले पछि हट्ने निधो गरेका हुन् । ‘म उठ्ने हो भने दुवै क्षेत्रमा बाहुन–बाहुन उम्मेदवार हुने अवस्था आयो’, उनले भने, ‘कम्तीमा एउटा क्षेत्रमा थारु समुदायबाट उम्मेदवार उठाउनु पर्छ भन्ने मेरो धारणा थियो । त्यसैले मैले चुनाव नलड्ने निर्णय गरें ।’

उनको निर्णयसँगै नेकपाले बर्दिया–१ बाट विष्णुप्रसाद थारु र बर्दिया–२ बाट सुरेश पन्तलाई उम्मेदवार बनाएको छ । बर्दिया–१ मा गौतमको नाम बलियो रूपमा चर्चामा रहे पनि अन्तिममा पार्टीले थारु समुदायका नेता चौधरीलाई टिकट दिएको हो । सोमबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौधरीलाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका थिए । यद्यपि, टिकट वितरणको प्रक्रियाप्रति गौतम पूर्ण रूपमा सन्तुष्ट देखिएनन् । ‘म उठ्दिन भनेपछि कुरा सकिनु पर्ने हो’, उनले भने, ‘तर उठ्दिनँ भन्ने वातावरण नै बनाइयो ।’ यसलाई कतिपयले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र दबाबको परिणामका रूपमा हेरेका छन् ।

२०७४ सालको निर्वाचनमा बर्दिया–१ बाट पराजित भएपछि गौतम राष्ट्रिय सभामा पुगेका थिए । राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी फागुन २० गतेसम्म बाँकी थियो । तर प्रतिनिधिसभा चुनाव लड्ने तयारी गर्दै उनले डेढ महिना अगावै राजीनामा दिएका थिए । अन्ततः चुनाव नलड्ने निर्णयसँगै उनको राजीनामाले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ । ७७ वर्षीय गौतमलाई बहुदलयताकै ‘सदाबहार उम्मेदवार’ का रूपमा लिइन्छ ।

उनले २०४८ सालमा पहिलो पटक चुनाव जितेका थिए भने २०५१ को मध्यावधि निर्वाचनपछि २०५३ सालमा गृहमन्त्री समेत बने । २०५६ र २०६४ मा पराजय बेहोरेका उनी २०७० सालमा भने बर्दिया–१ र प्युठान–१ दुवै क्षेत्रबाट विजयी भएका थिए । भविष्यको राजनीतिक भूमिकाबारे अहिले केही नबताउने भन्दै गौतमले यस पटक कुनै पनि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव नलड्ने स्पष्ट पारेका छन् । उनको पछिल्लो निर्णयलाई कतिपयले जातीय प्रतिनिधित्वप्रतिको संवेदनशीलता भने कतिपयले सक्रिय चुनावी राजनीतिबाट बिस्तारै दूरी बनाउने संकेतका रूपमा विश्लेषण गरेका छन् ।

 

 

 

आफैलाई नफापेको ‘तारा’ चुनाव चिन्हमा बामदेव किन भए खुशी ?

काठमाडौं । तीन दशकअघि फुटेको वाम राजनीतिमा फेरि ‘तारा’ उदाएको छ, यसपालि नयाँ चमकसहित । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी नेपालसहित आठ दल र समूहबीच भएको ऐतिहासिक एकताले ‘तारा’ लाई पुनः आफ्नो चुनाव चिह्न बनाउने निर्णय गरेपछि बामदेव गौतम हर्षित भएका छन् ।

‘यो चिह्न मैले नै चुनेको हुँ, फेरि घुम्दै फिर्दै तारा र मेरो भेट भयो,’ गौतमले नेताहरुसँग भनेका छन्, ‘म निकै खुशी छु ।’ २०५४ सालमा एमाले फुटाएर गौतमले बनाएको मालेको चुनाव चिह्न पनि यही तारा थियो । त्यसबेला तारा चिह्नसहित मालेले देशव्यापी रूपमा चुनाव लड्यो—५ लाख ६७ हजार मत त पायो, तर संसदमा शून्य सिट । त्यो तारा बल्ल फेरि फर्किएको छ, तर फरक सन्दर्भ र शक्ति समीकरणमा ।

आठ दलको एकता, ‘तारा’ मा सहमति

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीका माधवकुमार नेपाल, जनसमाजवादीका सुवासराज काफ्ले, नेपाल समाजवादीका महेन्द्रराय यादव, नेकपाका चिरन पुन, समाजवादीका राजु कार्की, माओवादी समाजवादीका कर्णजित बुढाथोकी र साम्यवादीका प्रेमबहादुर सिंहबीच आइतबार पेरिसडाँडामा भएको छलफलले नयाँ पार्टी निर्माणको सहमति गरेको हो ।

नामको टुंगो अझै बाँकी छ–‘नेकपा (समाजवादी)’, ‘नेपाली कम्युनिष्ट पार्टी’ वा ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ मध्ये कुन रोज्ने भन्नेमा विचाराधीन छ । तर चुनाव चिह्नमा सबैको एकमत छ—‘पाँचकुने तारा’ । यो तारा मूलतः नेकपा माले र त्यसपछि सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालले प्रयोग गर्दै आएको थियो । नयाँ दलले यही पुरानो प्रतीकलाई नयाँ एकताको झण्डा बनाउने भएको छ ।

यो एकतासँगै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले आफ्नो पुरानो ‘माओवाद’ मार्गदर्शन र गोलाकारभित्रको ‘हँसिया–हथौडा’ चिह्न दुवै त्याग्ने निर्णय गरेको छ । यसको अर्थ—अब प्रचण्डका समर्थक मतदाताले हँसिया–हथौडामा होइन, तारामा भोट हाल्ने छन् । तारा चिह्नको इतिहास रोचक छ—२०५४ सालमा बामदेव गौतमले यही प्रतीकसहित माले गठन गरे, तर त्यो तारा २०५६ को चुनावमा चम्किएन । त्यसपछि गौतम फेरि एमाले फर्किए, माले भने सीपी मैनाली र जगत बोगटीले सम्हाले । बोगटीले माले समाजवादी बनाए, सुवास काफ्ले समूह छुट्टियो, जनसमाजवादी पार्टी बन्यो—तारा भने कहिल्यै ओझेल परेन ।

२०७९ सालको निर्वाचनमा जनसमाजवादी पार्टीले यही तारा लिएर देशभर जम्मा ५,९२५ मत मात्र पायो । तर अब यही ‘कमजोर’ प्रतीक वाम एकताको नयाँ ऊर्जा बनेको छ । तारा नेपालका वामपन्थीहरुको प्रतीक मात्रै होइन, फुट र फेरि भेटको कथा पनि हो । वामदेवले त्यागेको र अहिले पुनः भेटेको यो चिह्न अब प्रचण्ड–माधव गठबन्धनको नयाँ यात्राको प्रतीक बनेको छ । राजनीतिक इतिहासमा कहिल्यै नफापेको यो तारा, यसपालि चम्किन्छ कि फेरि अस्ताउँछ ? जवाफ आउँदो निर्वाचनले दिनेछ । तर बामदेवको आँखामा भने अहिले त्यही पुरानो तारा फेरि झिलिमिली चम्किरहेको छ ।