आफैलाई नफापेको ‘तारा’ चुनाव चिन्हमा बामदेव किन भए खुशी ?
काठमाडौं । तीन दशकअघि फुटेको वाम राजनीतिमा फेरि ‘तारा’ उदाएको छ, यसपालि नयाँ चमकसहित । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी नेपालसहित आठ दल र समूहबीच भएको ऐतिहासिक एकताले ‘तारा’ लाई पुनः आफ्नो चुनाव चिह्न बनाउने निर्णय गरेपछि बामदेव गौतम हर्षित भएका छन् ।
‘यो चिह्न मैले नै चुनेको हुँ, फेरि घुम्दै फिर्दै तारा र मेरो भेट भयो,’ गौतमले नेताहरुसँग भनेका छन्, ‘म निकै खुशी छु ।’ २०५४ सालमा एमाले फुटाएर गौतमले बनाएको मालेको चुनाव चिह्न पनि यही तारा थियो । त्यसबेला तारा चिह्नसहित मालेले देशव्यापी रूपमा चुनाव लड्यो—५ लाख ६७ हजार मत त पायो, तर संसदमा शून्य सिट । त्यो तारा बल्ल फेरि फर्किएको छ, तर फरक सन्दर्भ र शक्ति समीकरणमा ।
आठ दलको एकता, ‘तारा’ मा सहमति
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीका माधवकुमार नेपाल, जनसमाजवादीका सुवासराज काफ्ले, नेपाल समाजवादीका महेन्द्रराय यादव, नेकपाका चिरन पुन, समाजवादीका राजु कार्की, माओवादी समाजवादीका कर्णजित बुढाथोकी र साम्यवादीका प्रेमबहादुर सिंहबीच आइतबार पेरिसडाँडामा भएको छलफलले नयाँ पार्टी निर्माणको सहमति गरेको हो ।
नामको टुंगो अझै बाँकी छ–‘नेकपा (समाजवादी)’, ‘नेपाली कम्युनिष्ट पार्टी’ वा ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ मध्ये कुन रोज्ने भन्नेमा विचाराधीन छ । तर चुनाव चिह्नमा सबैको एकमत छ—‘पाँचकुने तारा’ । यो तारा मूलतः नेकपा माले र त्यसपछि सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालले प्रयोग गर्दै आएको थियो । नयाँ दलले यही पुरानो प्रतीकलाई नयाँ एकताको झण्डा बनाउने भएको छ ।
यो एकतासँगै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले आफ्नो पुरानो ‘माओवाद’ मार्गदर्शन र गोलाकारभित्रको ‘हँसिया–हथौडा’ चिह्न दुवै त्याग्ने निर्णय गरेको छ । यसको अर्थ—अब प्रचण्डका समर्थक मतदाताले हँसिया–हथौडामा होइन, तारामा भोट हाल्ने छन् । तारा चिह्नको इतिहास रोचक छ—२०५४ सालमा बामदेव गौतमले यही प्रतीकसहित माले गठन गरे, तर त्यो तारा २०५६ को चुनावमा चम्किएन । त्यसपछि गौतम फेरि एमाले फर्किए, माले भने सीपी मैनाली र जगत बोगटीले सम्हाले । बोगटीले माले समाजवादी बनाए, सुवास काफ्ले समूह छुट्टियो, जनसमाजवादी पार्टी बन्यो—तारा भने कहिल्यै ओझेल परेन ।
२०७९ सालको निर्वाचनमा जनसमाजवादी पार्टीले यही तारा लिएर देशभर जम्मा ५,९२५ मत मात्र पायो । तर अब यही ‘कमजोर’ प्रतीक वाम एकताको नयाँ ऊर्जा बनेको छ । तारा नेपालका वामपन्थीहरुको प्रतीक मात्रै होइन, फुट र फेरि भेटको कथा पनि हो । वामदेवले त्यागेको र अहिले पुनः भेटेको यो चिह्न अब प्रचण्ड–माधव गठबन्धनको नयाँ यात्राको प्रतीक बनेको छ । राजनीतिक इतिहासमा कहिल्यै नफापेको यो तारा, यसपालि चम्किन्छ कि फेरि अस्ताउँछ ? जवाफ आउँदो निर्वाचनले दिनेछ । तर बामदेवको आँखामा भने अहिले त्यही पुरानो तारा फेरि झिलिमिली चम्किरहेको छ ।
