काठमाडौं । बुद्ध एयरका मालिक समेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरु संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । आयोगमा बिहीबार निवेदन दर्ता भएको पार्टीको अध्यक्षमा प्रसाईं छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ छन् । व्यवसायबाट राजनीतिमा होमिएका बस्नेत भने सदस्य छन् ।
पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था छ । बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन । ‘अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खोंचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ’ पार्टीको आह्वान पत्रमा छ,’ त्यसैकारण अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । इमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं ।’
पार्टीले अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारलाई विकास गरी स्थापित गर्न जरुरी रहेको उल्लेख गरेको छ । ‘आजको पुस्ता र भावी पुस्ताले समावेशी र समतामूलक उज्ज्वल भविष्य प्राप्त गर्न सकून्’ पार्टीले भनेको छ । आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ दल दर्ताको लागि कात्तिक ३० गतेसम्मको समय सीमा तोकिएपछि यतिबेला विभिन्न समूहहरु राजनीतिक दलमा रुपान्तरण भइरहेका छन् ।
