`

देशभरका भन्सार कार्यालयमा ‘पेन डाउन’, जाँचपास सेवा ठप्प

काठमाडौं । देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरुले कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् । २०८२ मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधानको विरोधस्वरूप महासंघले मुलुकभर भन्सार सेवा अवरुद्ध गरेको हो । महासंघकाअनुसार नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने भन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग–व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको छ ।

भन्सार ऐन, २०८२ को मस्यौदा तयार पार्ने चरणदेखि नै महासंघले दण्ड–जरिवाना, इजाजतपत्र नविकरण, निलम्वन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर–आइडी व्यवस्थापन, इन्कुट-आउट नोट प्रणाली, र मालवस्तु जाँचपासलाई इजाजत प्राप्त भन्सार एजेन्टमै सीमित गर्ने लगायतका विषय समावेश गर्न माग गर्दै आएको थियो । तर लागू भएको ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको र तजबीजी अधिकार बढाएको महासंघले आरोप लगाएको छ ।

महासंघले भन्सार जाँचपासमा निरन्तर देखिने ढिलासुस्ती, भन्सार स्वचालन प्रणालीका सर्भर समस्या, राजश्व भुक्तानी र क्वारेन्टाइनका जटिलता सम्बन्धमा भन्सार विभागलाई बारम्बार ध्यानाकर्षण गराए पनि समस्याको समाधान नभएको आरोप गरेको छ । पेनडाउन आन्दोलन आईतवार वीरगञ्ज भन्सारबाट शुरु भएको थियो । दोस्रो दिन सोमवार भैरहवा भन्सार पूर्णरूपमा ठप्प रह्यो भने तेस्रो दिन मंगलवार देशभरका सम्पूर्ण भन्सार कार्यालयका सेवाहरु बन्द गरिएको महासंघका केन्द्रिय सदस्य उमेश घिमिरेले जानकारी दिए । जाँचपास रोकिँदा मुलुकभरका भन्सार कार्यालयबाट राजश्व असुलीमा प्रत्यक्ष असर परेको छ । महासंघले नयाँ भन्सार ऐनले सिर्जना गरेका समस्या र पेशासँग सम्बन्धित मागहरू सम्बोधन नभए थप मंगलवार नै आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको घिमिरेले जानकारी दिए ।

 

भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए । ‘भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो’, उनले भने, ‘संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी संघमा लगी मापन गर्दा सुन दुई हजार २५४.८६ ग्राम र चाँदी १० हजार ३५४.०७ ग्राम फेलापरेको छ ।’

सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९.१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ । त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने बताए । ‘बरामद भएको सुनचाँदीको परीक्षण भएपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकेर आएपछि छानबिनको प्रक्रिया अघि बढ्नेछ’, उनले भने । राजस्व चुहावटको सूचनाका आधारमा सो सुनचाँदी बरामद भएकाले पनि आवश्यक कागजात हेरेर मुद्दा चलाइने उनको भनाइ छ ।

 

‘डाइभर्सन’ नहुँदा मालबाहक ट्रली थन्किए भन्सारमै

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भइसकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् ।

जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ट्रली मङ्गलबारदेखि भन्सार कार्यालय न्हेचुङमै थन्किएका हुन् ।

कोरला नाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका मालबाहक कन्टेनरहरू मुश्किलले तल झारिए पनि ‘हेभी’ मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले भन्सार कार्यालयमा रोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । अब दसैँपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गरिने उनले बताए ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आए पनि कोरला सडकको घमी खोलामा सडक डाइभर्सन नहुँदा समस्या भएको बताए । व्यापारीसँग समन्वय गरी डाइभर्सन निर्माण गर्न पहल भइरहेको उनले बताए ।

घमी खोलामा निर्माणाधीन पुल सात वर्ष भइसक्दा समेत सम्पन्न हुन सकेको छैन । पुल निर्माणका लागि विसं २०७५ रु छ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीलाई आयोजनाले दैनिक हर्जाना समेत लगाइरहेको भए पनि काम अझै अघि बढ्न सकेको छैन । एक स्पानको ४० मिटर लामो पुल बनाउने भनिएकामा हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

 

व्यवसायीलाई सरकारको राहत : पुननिर्माण गर्न आयात गर्ने सामानमा ५० प्रतिशत भन्सार छुट

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका व्यवसायीको पुनरुत्थानका लागि सरकारले प्रारम्भिक आर्थिक प्याकेज घोषणा गरेको छ । आइतबार बसेको मनित्रपरिषद् बैठकले अर्थमन्त्रालय, राष्ट्र बैंक र बीमा प्राधिकरणको संयुक्त कार्यदलको सिफारिसको आधामा क्षति बेहोरेका व्यवसायिलाई राहत घोषणा गरेको हो ।

अर्थमन्त्री रामेश्वर खनाल र गभर्नर डा. विश्वनाथ पौडेलको समन्वयनमा जेनजी प्रदर्शनबाट ठूलो क्षति भोगेका व्यवसायीको पुनरुत्थान र व्यावसायिक मनोबल सुधार गर्न तत्काल राहत प्याकेज घोषणा गरी कार्यदल बनेको थियो । अर्थ मन्त्रालयका ३ सहसचिवसँगै राष्ट्र बैंकका ३ जना कार्यकारी निर्देशक र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक रहेको कार्यदल बनेको थियो । उक्त कार्यदलको सिफारिसको आधारम सकारले व्यवसायिलाई दिने राहत घोषणा गरेको हो । आइतबारको मन्त्रिपरिद् बैठकमा अर्थमन्त्री रामेश्वर खनालको प्रस्तवमा उक्त निर्णय भएको हो ।

जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान तत्काल सुचारु गर्न नेपाल सरकार, राष्ट्र बैंक र नेपाल बिमा प्राधिकरण मार्फत राहतका कार्यक्रम सुरु गर्ने निर्णय भएको अर्थमन्त्री खनालले बताए ।

सरकारले आन्दालनका क्रममा क्षति पुगेका संरचनाको पुननिर्माण गर्न आयात गर्ने सामानका भन्सारमा ५० प्रतिशत छुट दिने निर्णय भएको अर्थमन्त्री खनालले बताए । त्यस्तै, बीमा दाबीको आधारमा अग्रिम दाबी भुक्तानी गर्ने गरी बीमा प्राधिकरणले व्यवस्था मिलाउने निर्णय भएको उनले बताए । प्रभावित उद्योगी व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्ने व्यवस्था राष्ट्र बैंकले मिलाउने निर्णय भएको उनले बताए ।

यस्तै, प्रभावित उद्योग व्यवसायमा आवद्ध कर्मचारीको रोजगारी सुनिश्चितता गर्न ‘पेरोल प्रोटेक्सन प्लान’ ल्याउने निर्णय भएको उनले बताए । यसको लागि कर्जा लिएर भुक्तानी गर्न सक्ने व्यवसायलाई सहुलियत कर्जा र कर्जा लिएर भुक्तानी गर्न नसक्नेलाई राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट भुक्तानी हुने व्यवस्था मिलाउने निर्णय भएको उनले बताए ।

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

सिरहा । भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएकोे लत्ताकपडा र दुईवटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो ।

यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् । उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट रु दुई लाख ८२ हजार ८०० बराबरको कपडा र रु दुई लाख ५० हजार मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ । बरामद सामग्रीको मूल्य रु ५ लाख ३२ हजार ८०० बराबर रहेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ । पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उनले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको समयमा २०१३ साल भदौ १३ पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउँदै आएको छ ।