`

सबैभन्दा बढी कर तिर्ने मीनबहादुर गुरूङ भन्छन्–भाटभटेनी जले पनि, मनोबल जलेन

काठमाडौं । देशमा चार वर्षदेखि वस्तु व्यापारतर्फ सबैभन्दा धेरै कर तिर्ने व्यवसायीको हैसियत कायम राख्दै आएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो व्यवसायिक जीवन निरन्तर ‘परीक्षाको मैदान’ मा अघि बढिरहेको बताएका छन् । कर दिवसका दिन सरकारले सम्मानित गरेपछि सार्वजनिक रूपमा बोल्दै गुरूङले भाटभटेनीमा लागेको भीषण आगलागीलाई उनले दुःख पनि, सिकाइ पनि भएको पीडाका रूपमा लिएको बताए ।

सञ्चालक गुरूङले विगतमा आफूमाथि आइलागेका आरोप र घटनालाई एक–एक गर्दै स्मरण गरेका छन् । ‘मलाई कहिले कीर्ते भन्छ, कहिले जेल हालिन्छ, कहिले पसल जलाइन्छ । यो सबैले मलाई ‘स्वीट पेन’ दिएको छ’ उनले भने । त्यो पीडामै उनी अझै परिपक्व, अझै जुझारु बनेको अनुभव सुनाउँछन् ।

गुरूङले आफ्नो व्यवसायले राज्यलाई तिरेको करपछि बाँकी नाफाबाट समाजलाई योगदान दिने परम्परा अगाडि बढाएको दाबी गरेका छन् । भगवान कोइराला राष्ट्रिय हृदय केन्द्र, टिचिङ अस्पताल लगायतका स्वास्थ्य संस्थामा भाटभटेनीले पुर्‍याएको सहयोगको प्रसंगसहित उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई सहयोग गर्नु नै मेरो सन्तोष हो ।’ मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको समय स्मरण गर्दै उनले आफू अत्यन्त उत्साहित भएको बताएका छन् । तर, पछि ‘अरूले गरेको गल्तीको सजाय’ आफूले भोग्नुपरेको गुनासो पनि राखे ।

‘त्यतिबेला कारोबारले हर्जाना तिर्न सक्ने अवस्था थिएन । त्यसैले म अझै कडा परिश्रमतर्फ उन्मुख भएँ’, उनले भने । त्यसपछि उनले गरेको मेहनतले नै भाटभटेनीलाई नयाँ उचाइमा पुर्‍याएको बताउँदै गुरूङले भने, ‘पहिले २ अर्बको कारोबार हुन्थ्यो, अहिले भने ३३ अर्बमा पुगेका छौं ।’ भदौ २३–२४ मा भएको आगलागीलाई गुरूङले जीवनकै सबैभन्दा ठूलो क्षतिमध्ये एक बताएका छन् । ‘विगतमा आन्दोलनले वर्षौं–वर्ष रोकावट गर्थ्याे , यसपालि एकै दिनमा ठूलो क्षति भयो’, उनले स्मरण गरे । बीमाले पनि सबै क्षति नधोएको उनले बताए । तर ठूलो नोक्सानीपछि उनी एक दिन पनि नथाकी उठे । ‘म डुब्दा बैंक पनि डुब्छ । हजारौँलाई रोजगारी चाहिन्छ । त्यसैले म उठ्नै पर्छ’, उनले भने ।

 

 

नक्साल भाटभटेनीमा पुरिएका दुई जनाको उद्दार, लगियो अस्पताल

काठमाडौं । गत भदौ २४ गते तोडफोड र आगजनी भएको नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउने काम अहिले भइरहेको छ । यही क्रममा आइतबार त्यहाँ काम गरिरहेका मजदुर घाइते भएका छन् । भवनको भग्नावशेष लागेर घाइते भएकाहरुको उद्धार गरेर अस्पताल लगिएको छ । घटनास्थलमा प्रहरी पुगेका छन् भने नक्साल भाटभटेनी क्षेत्रमा आवागमन प्रभावित भएको छ ।

भत्किन थाल्यो आगजनीमा परेको नक्सालको भाटभटेनी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको काठमाडौँको नक्सालस्थित व्यापारिक भवन भाटभटेनी भत्किन थालेको छ ।आगलागीले ध्वस्त भवन भत्किएर जोखिम बढ्न थालेपछि आज बिहानैदेखि भग्नावशेष हटाउन थालिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा पनि तोडफोड र आगजनी गरिएका थिए । आगजनीबाट भाटभटेनीको ठूलो क्षति भएको छ ।

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव, ज्यान गुमाउनेको संख्या ७४ पुग्यो

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा पनि जलेको अवस्थामा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको जानकारी दिए ।

शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन । योसँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो । यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा सात वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।

 

अर्थमन्त्री खनालले गरे आगजनीले ध्वस्त भाटभटेनीको निरीक्षण, मीनबहादुरलाई दिए सान्त्वना

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनीको भवनको अवलोकन गरेका छन् । अर्थ सचिवलाई लिएर उनी खण्डहर बनाइएको भवन अवलोकनका लागि पुगेका थिए । अवलोकनका क्रममा अर्थमन्त्री खनालले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई भेटेर सान्त्वना समेत दिएका छन् ।

अर्थमन्त्री खनालको उपस्थितिले संस्थालाई दृढता र हौसला मिलेको उनले बताएका थिए । ‘उहाँको उपस्थितिले हामीलाई दृढता र हौसला मिलेको छ, जसले हामीलाई अझ सबल भएर अघि बढ्न प्रेरित गरेको छ’, भाटभटेनीले सामाजिक सञ्जालमार्फत् भनेको छ, ‘भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन । हामी अझ सबल भएर पुनर्निर्माण गर्नेछौं र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौं ।’

कम्पनीले विपत्तिका बीच पनि अझ सबल भएर पुनर्निर्माण गर्ने र जनताको सेवामा निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको छ । जेनजी आन्दोलनकाक्रममा देशभर रहेका विभिन्न भाटभटेनीमा तोडफोड, लुटपाट तथा आगजनी गरिएको थियो । आगजनीबाट जोगिएका शाखाहरू पुनः सञ्चालनमा आइसकेका छन् । भाटभटेनी केवल पसल मात्र नभएर परिवार समेत रहेकोले अब पुनः उही विश्वास, माया र प्रतिबद्धतासहित सेवा दिन तयार रहेको जनाएको छ ।

विराटनगरको भाटभटेनीमा पनि भेटियो शव

मोरङ । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ । सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्णरूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रमम विराटनगरस्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो । सो क्रममा लुटपाट गर्न जानेमध्ये कसैको मृत्यु भएको हुन सक्ने प्रहीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको जानकारी दिइन् । उनले भनिन्, ‘शव पूर्णरुपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ । हामीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएका छौं र घटनाको थप अनुसन्धान गरिरहेका छौं ।’ जेनजी आन्दोलन र प्रदर्शनका क्रममा देशैभरिका भाटभटेनी स्टोरमा आगजनी भएका थियो । आगजनीमा परी धरानमा ४ जनाको मृत्यु भएको थियो ।

बौद्ध भाटभटेनीभित्र भेटियो चार जनाको शव

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टारमा चार जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन् । डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।

भाटभटेनीले १६ शाखाबाट दिन थाल्यो नियमित सेवा

काठमाडौं । जेनजी आन्दोलनकारीको निशानमा परेको भाटभटेनी सुपरमार्केटले फेरि सेवा सुरु गरेको छ । धेरै शाखाहरुमा आगजनी र लुटापाट भोगेको भाटभटेनीले आफ्ना विभिन्न १६ शाखाबाट सेवा सुरु गरेको बताएको हो ।भाटभटेनीले विज्ञप्ति जारी गदै आफूहरु पुनः फर्किएको र सेवाप्रति प्रतिवद्ध रहेको बताएको हो।

काठमाडौँ उपाध्यकाभित्र भाटभटेनीले टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन, कलंकी, राधेराधे र बालाजु शाखाबाट सेवा सुरु गरेको हो । त्यस्तै काठमाडौँ बाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखा पनि खुलाएको हो ।

 

भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त

रुपन्देही । जेनजी आन्दोलनको मौकामा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानविज्ञान स्कुलले आफ्ना शिक्षक शिवशंकर शुक्लालाई कारबाही गर्दै बर्खास्त गरेको छ । शुक्रवार मात्रै उनी संलग्न भएको फोटा सार्वजनिक भएको थियो ।

विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेनजीको प्रदर्शनमा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुनेगरी हटाइएको जनाएका छन् ।

धरानको भाटभटेनीभित्र भेटियो तीन जनाको शव

विराटनगर । धरानस्थित भाटभटनी सुपरमार्केटको भग्नावशेषमा तीन जनाको शव भेटिएको छ । जलेर नचिनिने अवस्थामा ती शव भेटिएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा आगो लगाइएको थियो ।

भित्र तीन वटा शव जलेको अवस्थामा भेटिएको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले बताए । आगो निभेसँगै शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली त्यहाँ पसेको थियो । सोक्रममा दोस्रो तलामा एउटा शव जलेर केही अवशेषमात्र बाँकी रहेको अवस्थामा भेटिएको हो ।

प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टम गर्न लगेको छ । यस्तै केही बेरअघि अन्य दुई शव त्यस्तै अवस्थामा फेला परेको खड्काले बताए । मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा तीन जना फसेको भन्दै हल्ला फैलिएको थियो । फसेका व्यक्तिका आफन्तजनहरूले अनौपचारिकरूपमा विभिन्न निकायमा सम्पर्क गरिरहेका छन् । भाटभटेनीमा लागेको आगो हिजो साँझ मात्र निभेसँगै आएको थियो ।

धरानको भाटभटेनीभित्र जलेको शव भेटियो

सुनसरी । सुनसरीको धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा शव भेटिएको छ । आज बिहान आगो नियन्त्रणमा लिने क्रममा प्रहरी लगायतको स्थानीयले त्यहाँ शव फेला पारेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा धरानको भाटभटेनीमा आगजनी भएको थियो । शव कसको हो भन्ने अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

भाटभटेनीमा अरू तीन जना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ । कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन ।