सबैभन्दा बढी कर तिर्ने मीनबहादुर गुरूङ भन्छन्–भाटभटेनी जले पनि, मनोबल जलेन
काठमाडौं । देशमा चार वर्षदेखि वस्तु व्यापारतर्फ सबैभन्दा धेरै कर तिर्ने व्यवसायीको हैसियत कायम राख्दै आएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो व्यवसायिक जीवन निरन्तर ‘परीक्षाको मैदान’ मा अघि बढिरहेको बताएका छन् । कर दिवसका दिन सरकारले सम्मानित गरेपछि सार्वजनिक रूपमा बोल्दै गुरूङले भाटभटेनीमा लागेको भीषण आगलागीलाई उनले दुःख पनि, सिकाइ पनि भएको पीडाका रूपमा लिएको बताए ।
सञ्चालक गुरूङले विगतमा आफूमाथि आइलागेका आरोप र घटनालाई एक–एक गर्दै स्मरण गरेका छन् । ‘मलाई कहिले कीर्ते भन्छ, कहिले जेल हालिन्छ, कहिले पसल जलाइन्छ । यो सबैले मलाई ‘स्वीट पेन’ दिएको छ’ उनले भने । त्यो पीडामै उनी अझै परिपक्व, अझै जुझारु बनेको अनुभव सुनाउँछन् ।

गुरूङले आफ्नो व्यवसायले राज्यलाई तिरेको करपछि बाँकी नाफाबाट समाजलाई योगदान दिने परम्परा अगाडि बढाएको दाबी गरेका छन् । भगवान कोइराला राष्ट्रिय हृदय केन्द्र, टिचिङ अस्पताल लगायतका स्वास्थ्य संस्थामा भाटभटेनीले पुर्याएको सहयोगको प्रसंगसहित उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई सहयोग गर्नु नै मेरो सन्तोष हो ।’ मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको समय स्मरण गर्दै उनले आफू अत्यन्त उत्साहित भएको बताएका छन् । तर, पछि ‘अरूले गरेको गल्तीको सजाय’ आफूले भोग्नुपरेको गुनासो पनि राखे ।
‘त्यतिबेला कारोबारले हर्जाना तिर्न सक्ने अवस्था थिएन । त्यसैले म अझै कडा परिश्रमतर्फ उन्मुख भएँ’, उनले भने । त्यसपछि उनले गरेको मेहनतले नै भाटभटेनीलाई नयाँ उचाइमा पुर्याएको बताउँदै गुरूङले भने, ‘पहिले २ अर्बको कारोबार हुन्थ्यो, अहिले भने ३३ अर्बमा पुगेका छौं ।’ भदौ २३–२४ मा भएको आगलागीलाई गुरूङले जीवनकै सबैभन्दा ठूलो क्षतिमध्ये एक बताएका छन् । ‘विगतमा आन्दोलनले वर्षौं–वर्ष रोकावट गर्थ्याे , यसपालि एकै दिनमा ठूलो क्षति भयो’, उनले स्मरण गरे । बीमाले पनि सबै क्षति नधोएको उनले बताए । तर ठूलो नोक्सानीपछि उनी एक दिन पनि नथाकी उठे । ‘म डुब्दा बैंक पनि डुब्छ । हजारौँलाई रोजगारी चाहिन्छ । त्यसैले म उठ्नै पर्छ’, उनले भने ।
