`

काठमाडौं बाहिर जाने सबै यातायात बसपार्कबाटै सञ्चालन गर्ने निर्णय भएन कार्यान्वयन

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाबाट बाहिर जाने सबै यात्रुवाहक सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । काठमाडौं महानगरपालिकाले २०८० जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि उपत्यकाबाहिर जाने सम्पूर्ण यात्रुवाहक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि साढे दुई वर्ष बितिसक्दासमेत उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले सबै सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्क भित्रबाट सञ्चालन गर्न पहल गर्दै आएको बताए ।

‘महानगरपालिकाको निर्णयपछि केही सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन्, बाँकी सवारीसाधन पनि बसपार्क भित्रबाटै सञ्चालन हुनुपर्छ,’ उनले भने । नगर प्रहरी प्रमुख पाण्डेले महानगरले गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न समस्या भएको बताए ।
सबै क्षेत्रको साथ र सहयोगले निर्णय कार्यान्वयन गर्न महानगर प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ थियो । हाल काठमाडौँको गौशाला, चावहिल, बालाजु, माछापोखरी, कलङ्की, कोटेश्वर, बल्खुलगायतका चक्रपथ वरपर सडक तथा करिडोरबाट सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

महानगरपालिकाले गोँगबुस्थित विष्णुमती किनारमा आफ्नै स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा नयाँबसपार्क निर्माण गरेर लोत्से बहुउद्देश्यीय प्रालिलाई सञ्चालनका लागि दिएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यातायात व्यवसायीको अटेरीका कारण नयाँ बसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न कठिनाइ भइरहेको बताए । ‘हामीले सूचना जारी गरेर सबै सार्वजनिक सवारीसाधनलाई अनिवार्य रूपमा नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने भनेका थियौं तर यातायात व्यवसायी अटेर गर्दै आएका छन्,’ उनले भने ।

महानगरपालिकाले सूचना निकालेपछि काठमाडौँबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह निर्वाचित भएर आएसँगै महानगरपालिकाले चक्रपथको वरपर जथाभावी रूपमा सञ्चालन भएका १०० भन्दा बढी बस टिकट काउन्टर हटाएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले राजधानीभित्रको सार्वजनिक सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवसायी तयार रहेको बताए । ‘यात्रु, व्यवसायी र सरकार सबैलाई सहज हुने ढङ्गले सार्वजनिक यातायात सञ्चालन गर्नुपर्छ,’ उनले भने । हाल गोँगबुस्थित नयाँबसपार्कबाट दैनिक लामो दूरीका ३०० र छोटो तथा मध्यम दूरीका २०० बस देशका विभिन्न भागका लागि गुड्छन् ।

 

लाइसेन्सको नयाँ आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा फेरि समस्या देखिएको छ । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम पनि फेरि बन्द भएको छ । इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजबाट अर्को सूचना जारी नभएसम्म बन्द भएको विभागले जनाएको छ ।

२३ र २४ भदौको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेसँगै लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए । विभागका अनुसार १६ कात्तिकबाट आंशिक सञ्चालनमा आएको डेटा सेन्टरमा फेरि समस्याका कारण पुनः अवरुद्ध भएको हो ।

‘दसैं–तिहार चेलीलाई उपहार अभियान’ : निःशुल्क यातायात

संखुवासभा । संखुवासभामा दसैँं–तिहारको अवसरमा युवाहरूले छोरीचेलीलाई माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरेका छन् ।

जिल्लामा ‘दसैं तिहार चेलीलाई उपहार अभियान’ नाम दिइएको यो कार्यक्रम यही असोज १५ गतेदेखि सुरु गरिएको हो । माइत र मावल आवतजावतमा सहज बनाउन निःशुल्क यातायात सेवा सुरु गरिएको संयोजक मेघराज तोलाङ्गीले बताए ।

निःशुल्क सेवा दसै‌को पूर्णिमासम्म उपलब्ध हुनेछ । माइत र मावल आवतजावतमा सहज बनाउने अभियानमा छ वटा मोटरसाइकल रहेका छन्। दुईवटा चारपाङ्ग्रे सवारी साधनमार्फत अहिलेसम्म दुई दर्जनभन्दा बढी छोरीचेलीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याइएको छ । आज पनि बिहानैदेखि युवाहरूले छोरीचेलीलाई माइत मामल आवतजावत गराइरहेको संयोजक तोलाङ्गीले बताए ।

विशेष गरी गाउँघरमा सवारी साधनको पहुँच कम भएका र आर्थिक अवस्था कमजोर भएका परिवारलाई ठूलो राहत प्रदान गरेको उनको भनाइ छ । माइती–मावली सेवाको यो पहलले स्थानीयको मन जितेको छ । अभियानलाई समर्थन गर्न स्थानीय दाताहरुले युवालाई पेट्रोल भरिदिने र अन्य सहयोग प्रदान गर्ने गरेको संयोजक तोलाङ्गीले बताए ।

यो अभियानले सामाजिक उत्तरदायित्व र निःस्वार्थ सेवाको भावनालाई प्रोत्साहन गरेको छ । समुदायको साथ सहयोग पाउँदै गएको अभियानले यस वर्ष अझ बढी छोरीचेलीलाई सहज र सुरक्षित आवतजावत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

यात्रुबाट मनपरी भाडा असुली

खोटाङ । खोटाङमा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडपर्वको समयमा समेत साबिककै भाडादर लागू गर्ने सहमति गरे पनि यात्रुबाट प्रतिव्यक्ति रु ५०० देखि रु एक हजारसम्म बढी भाडा असुलेको पाइएको हो ।

जीप (टाटासुमो) का लागि दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलका लागि एकतर्फी भाडा रु दुई हजार कायम गरिए पनि यातायात व्यवसायीले रु दुई हजार ५०० देखि रु तीन हजार ५०० सम्म असुलेको पाइएको छ । दिक्तेल–धरान तथा धरान–दिक्तेलका लागि रु दुई हजार १०० निर्धारण गरिएको थियो । तर, प्रशासनमा गरिएको दुई पक्षीय सहमति कुनै पनि यातायात व्यवसायीले कार्यान्वयन नगरेको पाइएको छ ।

यतिसम्म कि बढी भाडा असुल गर्ने यातायात व्यवसायीले प्रहरी प्रशासनको कारबाहीमा पर्ने डरले यात्रुलाई टिकट नदिई यात्रा गराउने गरेको पाइएको छ । चाडपर्वका अवसरमा एकतर्फी यात्रा गर्ने मात्र यात्रु हुने भन्दै सबै यातायात व्यवसायीले ‘रिजर्भ’ को भाडा असुलेको यात्रुहरुले बताएका छन् ।

बढी भाडा असुल्नेमा तुवाचुङ मारतीका यातायात प्रालि, पब्लिक मध्यपहाडी यातायात प्रालि, सगरमाथा यातायात प्रालिलगायत यातायात प्रालिमा आबद्ध यातायात व्यवसायी रहेका छन् । सगरमाथा यातायात प्रालिले धरानबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीसम्मका लागि भनेर प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले भाडा लिए पनि दिक्तेलमा ल्याएर छाडिदिएको यात्रुहरुले बताएका छन् ।

खार्मीका लागि भनेर धरानबाट चढेको सुमोले दिक्तेलमा ल्याएर छाडेपछि पुनः प्रतिव्यक्ति रु ७०० का दरले अर्को गाडीको टिकट लिएर घर पुगेको स्थानीय ज्ञानकुमारी राईले बताइन् । ‘हामीलाई टिकट पनि दिएन, खार्मी लैजाने भनेर दिएको फोन नम्बर पनि स्विच अफ थियो’, उनले भनिन्, ‘बेलुका अबेर भइसकेको थियो, त्यो दिन जसरी पनि घर पुग्नुपर्ने थियो, प्रहरीलाई खबर गर्ने समय थिएन, त्यसैले अर्को गाडीको टिकट लिएर घर पुग्यौँ, यातायात व्यवसायीले गरेको ठगी धन्दामा सम्बन्धित निकाय मौन बस्दा यात्रु मारमा परेका छन्, यसप्रति गम्भीर भएर सोच्न आवश्यक छ ।’

बाक्सिला–काठमाडौँ तथा काठमाडौँ–बाक्सिलाका लागि एकतर्फी जिप भाडा रु दुई हजार ८०० भए पनि आफूहरुले प्रतिव्यक्ति रु तीन हजार ५०० का दरले तिरेर यात्रा गर्न बाध्य भएको स्थानीय इन्द्र साम्पाङ राईले गुनासो गरे । यातायात व्यवसायीले आफूखुसी बढी भाडा असुलेको विषयमा प्रमाणसहित प्रहरी प्रशासनलाई खबर गर्दा समेत कुनै चासो नदिएको यात्रुले बताएका छन् ।

यातायात व्यवसायीले मनपरी भाडा असुलेको विषयमा जानकारी लिने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले अहिलेसम्म कुनै गुनासो नआएको प्रतिक्रिया दिए ।

‘हामीले जिल्ला प्रवेश गर्ने ठाउँ जयरामघाट र प्रस्थान गर्ने ठाउँ दिक्तेल बजारमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छौँ, अहिलेसम्म कसैबाट गुनासो आएको छैन’, उनले भने, ‘ठगीमा परेको भए प्रमाण उपलब्ध गराएको खण्डमा कारबाही गर्छौं, यद्यपि जिल्लामा सञ्चालित सबै यातायातका सवारीसाधनलाई निगरानीमा राखेका छौँ ।’

जिल्लामा सञ्चालित अधिकांश यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको समेत गुनासो आएको छ । खोटाङ यातायात प्रालिमा आबद्ध सवारी साधनले अहिलेसम्म कसैबाट बढी भाडा नलिएको र त्यस्तो गुनासो भए प्रमाण उपलब्ध गराउन दिक्तेल काउन्टरका प्रमुख अमिर अधिकारीले बताए ।

चाडपर्वका अवसरमा यात्रुको आवागमनलाई सहज र सुरक्षित बनाउन भाडादर नियमनमा कडाइ गर्ने जिल्ला प्रशासन कार्यालयले समेत निर्णय गरेको थियो । यातायात व्यवसायीले तोकिएकोभन्दा बढी भाडा असुल्ने, अतिरिक्त शुल्क लिने, क्षमताभन्दा बढी यात्रु चढाउने जस्ता क्रियाकलाप गरेको खण्डमा कानुनी कारबाही गर्ने प्रशासनले निर्णय गरे पनि कार्यान्वयन भएको छैन ।

‘दशैं–तिहार, चेलीलाई उपहार’ अभियानमार्फत निःशुल्क यातायात सेवा

खोटाङ । खोटाङमा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दशैं–तिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था भएका, यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दशैं–तिहार मनाउन माइतीघर पुर्‍याउने तथा माइतीघरबाट पुनः फर्काउने उद्देश्यले युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउन लागेको हो ।

यही असोज १६ गतेदेखि १९ गतेसम्म र तिहारको अवसरमा आगामी कात्तिक ५ गतेदेखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिए । ‘यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पुर्‍याउने योजनासहित गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । तत्कालीन समयमा ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए’, उनले भने ।

निःशुल्क यातायात सेवा उपलब्ध गराउन सञ्चालन गरिएको अभियानको दोस्रो संस्करणलाई यस वर्ष पनि निरन्तरता दिइने राईले बताए । ‘स्वार्थ बिना मानवीय सेवाभावले अभियान सञ्चालन गरेका हौं । माइतीघर पुर्‍याउन तथा माइतीघरबाट कर्मघर फर्काउन निःशुल्क यातायात सेवा उपलब्ध गराउँछौँ’, उनले भने, ‘यस वर्षको अभियानका लागि अहिलेसम्म विभिन्न क्षेत्रमा कार्यरत २५ जना युवाले स्वतःस्फूर्त सहभागी हुनेगरी

नाम दर्ता गराइसक्नु भएको छ । स्वयमसेवा गर्न इच्छुक युवा थपिनेक्रम जारी छ । चार पाङ्ग्रे एउटा गाडी समेत व्यवस्था गरिएको छ ।’
मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराइने युवा समूहले दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

सरकारी सेवा सुविधा लिइरहेकालाई भने आफूहरूले सञ्चालन गरेको अभियानअन्तर्गतका कुनै पनि सेवा उपलब्ध नहुने पत्रकार सम्मेलनमा जनाइएको छ । चेलीका लागि भनेर सञ्चालन गरिने अभियानमा पुरुषलाई पनि आवश्यकता र सहमतिका आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको युवा समूहले जनाएको छ । अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्था, अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिए ।

अभियानअन्तर्गतका सेवा लिन चाहने यात्रुले बढीमा पाँच किलो तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने शर्त समेत राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको संयोजक राईले बताए ।

दशैं र तिहार गरी दुई चरणमा सञ्चालन गरिने अभियानमा स्वतःस्फूर्त स्वम्सेवकको भूमिका निर्वाह गर्न चाहने जो कोहीले सहयोग गर्न सक्ने जनाइएको छ । स्वमसेवक बन्न चाहने युवाको अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुनुपर्ने पत्रकार सम्मेलनमा संयोजक राईले जानकारी दिए ।

उनका अनुसार अभियानका लागि जिल्लास्थित दशवटै स्थानीय तहमा संयोजक तोकिएको छ । अभियानको सहसंयोजकमा मौसम कार्की, आर्थिक व्यवस्थापन समितिको संयोजकमा महिला उद्यमी बिमला राई, सचिवालय व्यवस्थापकमा अनिशा रम्तेल, अञ्जना आचार्य, रस्मिता आचार्य र खियामा राई रहेका छन् ।

अभियानका लागि होण्डा मोटरसाइकलको दिक्तेलस्थित आधिकारिक बिक्रेता इकिमा सर्भिस सेन्टर तथा साया मोटरसाइकल वर्कशपले मोटरसाइकल मर्मतमा सहयोग गर्ने भएको छ । गत वर्षको अभियानमा जोडिएर सेवा दिने मोटरसाइकल चालकलाई शुभम् फाउण्डेसनले निःशुल्क खाना तथा खाजाको व्यवस्था गराएको थियो । महिला उद्यमी संघ खोटाङका अध्यक्ष बिमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन संघ खोटाङका अध्यक्ष आशिष थापालगायतका व्यक्ति तथा संस्थाले अभियानका लागि आर्थिक तथा भौतिक सहयोग गरेका थिए।

यसपालि दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाडौं । यो वर्ष दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको हो।आन्दोलनपछि लगाएको कफ्‌र्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

‘विद्यालय स्कुल बन्द भइसकेकाले धेरै मानिसहरु घर जान थालेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको छ’, उनले भने । यसपालि चाडपर्वमा यातायात सहज हुने उनले बताए । अहिलेसम्म सडकको अवस्था सहज रहेको उनको भनाइ छ ।

सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द, इम्बोस्ड नम्बर पनि ‘अलपत्र’

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द गरेको छ । जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी-लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति भएकाले सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS) सम्बन्धी सेवा अवरुद्ध भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागले अर्को सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी गराएको हो ।

इम्बोस्ड नम्बर पनि अलपत्र
सरकारले आउँदो असो १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय पनि अलत्रि परेको छ । देशभर जेनजीको आन्दोलनले सिर्जित राजनीतिक परिवर्तन र सरकारी कार्यालयहरुमा पुगेको भौतिक क्षतिका कारण निवर्तमान सरकारले गरेको इम्बोस्ड नम्बरसम्बन्धी निर्णय अलपत्र अवस्थामा पुगेको हो । जेनजी आन्दोलनपछि भएको सत्ता उलटफेरपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त भएकी छन् ।

नयाँ सरकारले मन्त्रिमण्डल विस्तार गर्न बाँकी रहेको र इम्बोस्ड नम्बर अनिवार्य गर्ने निवर्तमान सरकारको निर्णयप्रति सवारी धनीहरुको समेत विरोध रहँदै गरेका कारण तत्काल इम्बोस्ड नम्बर अनिवार्यको निर्णय अगाडि नबढ्ने निश्चित देखिएको छ । यहि भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका अगुवाहरुले समेत इम्बोस्ड नम्बर नागरिकका लागि झण्झट र आर्थिक रुपमा बोझिलो निर्णय भएको भन्दै आपत्ति जनाएका छन् । यसअघिको सरकारको निर्णय जेनजी आन्दोलनका अगुवाहरुले पनि सही नभएको बताएका छन् ।

निवर्तमान सरकारले १ असोजभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयले विवाद निम्त्याएको थियो । इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा राखिएको भन्दै चर्को विरोध भइरहे पनि यसअघिको रकार अटेरी गरेपछि थप विवाद बढेको थियो । इम्बोस्ड नम्बर देवनागरी लिपिमा हुनुपर्ने माग बढिरहेको थियो । निवर्तमान सरकारलाई कमिसनका लागि मात्र होइन, नागरिकको डाटा नै असुरक्षित हुने गरी र इम्बोस्ड नम्बर अंग्रेजी बनाउन लागिपरेको आरोप लागेको थियो ।