काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र बुधबार बसेको पार्टी कार्यसम्पादन समिति बैठकमा अनुपस्थित भए । पार्टीभित्र अध्यक्षको कार्यशैलीलाई लिएर विवाद बढिरहेका बेला मिश्र समेत अनुपस्थित भएका हुन् । अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मिश्र बैठकमा सहभागी नभएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

‘पार्टीमा स्पष्ट दुई धार भए पनि अहिलेसम्म उहाँ कतैतिर खुल्नु भएको त छैन । तर, पार्टीलाई विधिसम्मत सञ्चालन गर्नुपर्छ भन्ने उहाँको धारणा छ,’ एक केन्द्रीय सदस्यले भने । अध्यक्ष लिङदेन र महामन्त्री डा. धवलशम्शेर राणाबीच लामो समयदेखि चलिरहेको टकराबमा मिश्र निरपेक्ष रहँदै आएका थिए । उनले कुनै पनि पक्षलाई खुलेर साथ दिएका छैनन् । तर, आजको बैठकमा अनुपस्थित हुनुलाई लिङ्देनप्रति उनको असन्तुष्टिको संकेतका रूपमा बुझिएको छ ।
बैठकमा सहभागी नभएका मिश्रले सामाजिक सञ्जाल एक्समार्फत पार्टीको विश्वसनीयतामा अत्यधिक ह्रास आएको उल्लेख गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘प्रजातन्त्र-लोकतन्त्रमा पार्टी नबनी देश बन्दैन । पार्टी बनिदेओस् भन्ने एक मात्र कामना छ !’ उनले सबै पार्टीले विश्वसनीयता गुमाएको दाबी गर्दै अप्रत्यक्ष ढंगले आफ्नै पार्टीलाई पनि यसमै घान हालेका छन् । उनले भनेका छन्, ‘पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता गुमाउँदै गएर सबै पार्टीको विश्वसनीयतामा अत्यधिक ह्रास आउनु ठुलो चिन्ताको विषय हो ।’
आजै महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले समेत कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका थिए । स्रोतका अनुसार मिश्र पछिल्लो समय अध्यक्ष लिङदेनको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । लिङदेनले सबैलाई समेटेर पार्टीमा अभिभावकीय भूमिका खेल्नुपर्नेमा गुटको नेता मात्रै बन्न खोजिरहेको उनको बुझाइ छ । पार्टीको आगामी महाधिवेशनमा लिङदेनले मिश्रको साथ पाउने सम्भावना पनि कमजोर बनेको स्रोत बताउँछ ।

राप्रपामा अध्यक्ष लिङदेनको नियमित कार्यकाल मंसिरमा सकिँदैछ । पार्टीको विधानअनुसार एक वर्ष उनले आफ्नो कार्यकाल थप्न सक्नेछन् । तर, इतर पक्षले मंसिरभित्रै महाधिवेशन गर्न दवाव बढाइरहेका छन् । आज बसेको कार्यसम्पादन समितिको बैठकले यसै महिना केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको मिति तय गर्ने निर्णय लिएको छ । महाधिवेशनमा लिङदेन अध्यक्षमा दोहोरिन चाहन्छन् भने राणा उनलाई चुनौती दिने तयारीमा छन् । वरिष्ठ उपाध्यक्ष मिश्रले कुन रणनीति लिन्छन् भन्ने प्रष्ट भएको छैन । उनले आफूलाई अध्यक्षको प्रत्याशीका रूपमा उभ्याएका पनि छैनन् र कसलाई साथ दिने भनेर पनि खुलेका छैनन् ।
विधानबमोजिम महाधिवेशनको मिति तोकिनुपर्ने, विधान विपरीत भएका निष्कासन र कारबाहीसम्बन्धी निर्णयहरू फिर्ता गरिनुपर्ने, निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्नुपर्ने, प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षहरुसहितको समाधान समिति गठन गरिनुपर्ने माग गर्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन् । उनीहरूको सहभागिता बिना बसेको बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले कात्तिक २७ र २८ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

