रविन्द्र मिश्रको चेतावनी : दुःखद मध्यान्तरपछि फेरि यथास्थिति दोहोरिन्छ, गहिराइमा पसौं


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले हालको अस्थिर राजनीतिक परिदृश्यप्रति गहिरो चिन्ता व्यक्त गर्दै सचेत र सजग हुन चेतावनी दिएका छन् । आज (शुक्रबार) सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘यदि अहिलेको संकटलाई सतही रूपमा मात्र सम्बोधन गरियो भने, यो ‘दुःखद मध्यान्तरपछि फेरि यथास्थितिको निरन्तरता’ बन्ने छ ।’ मिश्रले पाँच महिनामा चुनाव गर्ने र त्यसैअन्तर्गत केही अनुहार फेरिएको संसदलाई पुनः सत्ता सुम्पिने योजनाले मुल समस्याहरूलाई छुनै नसक्ने दाबी गरेका छन् ।
यस्ता छन् मिश्रले उठाएका प्रश्न :
–नेताहरूको पक्राउ तथा सम्पत्ति छानबिन कसरी टुङ्ग्याइन्छ ?
–जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ ?
–भ्रष्टाचार नियन्त्रण कसरी सम्भव हुन्छ ?
–मुलुकको दीर्घकालीन स्थिरता र सामाजिक सौहार्दता कसरी सुनिश्चित हुन्छ ?
मिश्रका अनुसार यी प्रश्नहरूको गहिरो उत्तर नखोजी गरिने जुनसुकै चुनाव, नेतृत्व परिवर्तन वा नारा सबै ‘प्राविधिक निरन्तरता’ मात्र हुनेछ— मुल चरित्र बदलिंदैन ।
‘सपना साकार पार्न संरचनागत पुनरावलोकन आवश्यक’
जेनजी आन्दोलनको भावनाप्रति सहानुभूति जनाउँदै मिश्रले भनेका छन्, ‘यदि जेनजीको सपना साकार पार्ने हो भने, देशलाई शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारी तर्फ उन्मुख गराउनु पर्छ ।’ उनले संविधानको संरचनागत पुनरावलोकनको खाँचो औंल्याउँदै गहिरो राजनीतिक संवादको माग समेत गरेका छन् ।
उनको बुझाइमा अहिले धेरैले अल्पकालीन र सतही समस्याको सम्बोधनमा चित्त बुझाइरहेका छन् । तर, त्यस्तो सोचले दीर्घकालीन समाधान सम्भव छैन । ‘कति सतहमा बहने ?’ भन्दै मिश्रले गहिराइमा पस्न आग्रह गरेका छन् ।
‘नेताहरूलाई खेद्न खोज्दा लोकतन्त्र नै संकटमा पर्ला’
राजनीतिक नेताहरूलाई खेद्दै हिंड्ने मानसिकता गलत दिशातर्फ जाने खतरा रहेको मिश्रको धारणा छ । ‘नेताहरूलाई बढी खेद्न खोज्दा लोकतन्त्र नै संकटमा पर्ला’, उनले भनेका छन्, ‘गल्ती नेताहरूले मात्र होइन, हामी सबैले गरेका छौं । अब मिलेर जाने समय हो, बदला लिने होइन ।’
चुनावको अर्थ के ?
चुनावप्रति मिश्रको समर्थन स्पष्ट छ—तर शर्तसहित । ‘ठिक छ, चुनाव ५ महिनामै गरौ’ं, उनी भन्छन्, ‘तर यो चुनाव दुःखद घटनाको निरन्तरता होइन, नेपालको भविष्य सुखद बनाउने मोका बनोस् ।’ उनका अनुसार, चुनाव आफैंमा समाधान होइन—यदि गहिरो संरचनागत समस्या ज्यूँका त्यूँ रहे, तिनै पुराना अनुहार फर्केर आउने छन् र मुलुक फेरि सोही चक्रमा फस्नेछ । मिश्रले सतही समाधानको मोह त्यागेर गहिरो, दूरदर्शी र संरचनागत परिवर्तनतर्फ उन्मुख हुन सबै राजनीतिक शक्तिहरूलाई आग्रह गरेका छन् ।