`

मुस्ताङमा बाढी-पहिरोले यातायातमा समस्या, कोरला सडक खण्ड पूर्णरुपमा अवरुद्ध

मुस्ताङ । अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडक खण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पुर्‍याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भाँसिएर सडक जोखिम बढेको जानकारी दिए । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पुर्‍याएको छ । यद्यपि सुरक्षा नियकायले हाललाई कामचलाउ रुपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ । जोमसोम–कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ ।

‘मुक्तिनाथ–जोमसोम सडकका विभिन्न ठाउँमा पहिरो खस्नेक्रम जारी छ, हामीले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झाने प्रयास गरिरहेका छौँ’, प्रमुख जिल्ला अधिकारी भुसालले भने, ‘जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारीसाधनलाई माथि जान रोक लगाएका छौँ ।’ प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै सडक माथि जान दिइने बताए । यसैगरी जोमसोम–कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ भने पहिरो गएको स्थानमा एक भारतीय कार फसेर बसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । पहिरोका कारण फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।

बाढी पहिरोले कागबेनी–छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध भएको छ । ताङ्वे–छुसाङबीचमा पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पुर्‍याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध छ ।

वर्षाका कारण सडक अवरुद्ध भए अलपत्र १७ जना यात्रीहरुलाई बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताए । वर्षा रोकिएपछि उनीहरुलाई गाउँले बस्ती नजिक ल्याउने योजना रहेको बताए । अवरुद्ध जोमसोम–कागबेनी सडकको शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालगायतका सुरक्षाकर्मीले अवलोकन गरेका छन् । जोमसोम–कागबेनी भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याउन दुई-तीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

वर्षा रोकिएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

काठमाडौं । केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।

अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौँका सडकमा गाडीको चाप बढेको छभने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ ।

शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौँको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौँका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, ‘शुक्रबारदेखि परेको वर्षाका कारण यहाँको जनजीवन केही असमान्य बनेको थियो, आइतबारदेखि मौसममा सुधार आएको छ, सडकमा गाडीको चाप पनि सामान्य अवस्थामा फर्किएको देखिन्छ ।’

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडकखण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेका प्रवक्ता सुवेदीले बताए ।

वर्षा रोकिएसँगै काठमाडौँका बजार क्षेत्रमा पनि मानिसहरुको भीड देखिन थालेको छ । अहिले दैनिक उपभोग्य लगायतका सामग्री किनमेल गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन् ।

वर्षाका कारण जनजीवन असमान्य भएको काठमाडौँमा अहिले वर्षा रोकिएर घाम लागेपछि स्थानीय र व्यवसायीहरुले राहतको महसुस गरेका पुरानो बानेश्वरस्थित फेन्सी पसल सञ्चालक सरिता थापाले बताइन् । उनले भनिन्, ‘शनिबारसम्म यहाँका सडकमा हिँड्नै सक्ने अवस्था थिएन, आइतबारसम्म जताततै पानी जमेको अवस्था थियो, आज मौसम खुलेर घाम लागेकाले निकै सहज भएको छ ।’

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जनाएको छ ।

यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराईका भू–भागका स्थानमा मेघगर्जन /चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू–भागका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

बाढी–पहिरो अपडेट : यी हुन् ५३ मृतक र बेपत्ता (नामावली)

काठमाडौं । दुई दिन (शुक्रबार र शनिबार) को अलिरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनको संख्या ५३ पुगेको छ ।देशभर ज्यान गुमाउनेको संख्या ५३ पुगेको नेपाल प्रहरीले जनाएको छ ।

जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको संख्या धेरै छ । इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् ।

गत शुक्रबार र शनिबार निरन्तर आएको वर्षा र त्यसपछिको बाढीपहिरोले मानवीय र भौतिक क्षति पुर्‍याएको छ । अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ ।

मृत्यु भएकाहरुको विवरण 


बेपत्ता भएकाहरुको विवरण

सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा, अरु कहाँ कति ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ०४ः३० देखि आज बिहान ०४ः३० बजेसम्म रौतहटको महेशपुरमा अधिकतम वर्षा भएको जनाएको छ ।

बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले यही असोज १७ गते साँझदेखि आज बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अति भारी वर्षा मापन भएको विभागले जनाएको छ । त्यस क्रममा रौतहटमा ३५८ मिमी वर्षा मापन भएको विभागले जनाएको हो ।

गत २४ घण्टाको वर्षाको विवरणअनुसार १८६ वटा केन्द्रमा वर्षा मापन गरिएको छ । जसमध्ये १०५ वटा केन्द्रमा ५० मिमीभन्दा बढी, ६८ वटा केन्द्रमा १०० मिमीभन्दा बढी, २१ वटा केन्द्रमा २०० मिमीभन्दा बढी र पाँचवटा केन्द्रमा ३०० मिमीभन्दा बढी वर्षा मापन भएको छ ।

३०० मिमीभन्दा बढी वर्षा मापन भएका केन्द्रहरूमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२ दशमलव छ मिमी) र कन्याम टी स्टेट केन्द्र (३१४दशमलव दुई), पर्सा जिल्लाको मुडली केन्द्र (३२८ दशमलव छ), रौतहट जिल्लाको महेशपुर केन्द्र (३२८ मिमी) र गौर केन्द्र (३१५ मिमी) रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका प्रवक्ता विभूति पोखरेलले अविरल वर्षाका कारण शनिबार अपराह्नबाट उल्लिखित प्रदेशअन्तर्गतका बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमलालगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको जानकारी दिए ।

बाढी-पहिरोका कारण १०५ मेगावाट विद्युत् उत्पादन ठप्प

काठमाडौं। वर्षाका कारण इलामका १३ वटा हाइड्रोपावरको उत्पादन बन्द भएको छ । शुक्रबारदेखि आएको अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको हो । १३ वटा जलविद्युत आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ ।

हालसम्म ४ दशमलव ५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला,जोगमाइखोला, तल्लो जोगमाई माइवेनी लगायतका हाइड्रोपावरको उत्पादन बन्द भएको छ ।

त्यस्तै , पाँचथर इलाम र सिन्धुपाल्चोकका निर्माणाधीन हाइड्रोपावर पनि प्रभावित भएका छन् । निर्माणाधीन पाँच हाइड्रो पावरमध्ये चार वटाको उत्पादन डिले हुने जनाइएको छ । यसका साथै निर्माणाधीन अवस्थाका ९३ मेगावाट क्षमताका ५ वटा आयोजना बाढीले क्षति पुर्‍याएको इप्पानले जनाएको छ ।

माईखोला गाउँ पस्दा झापामा ५०० परिवार विस्थापित

झापा । लगातारको वर्षाका कारण झापाको झापा गाउँपालिका र शिवसत्ताक्षी नगरपालिकाका विभिन्न वडामा माई खोलाको बाढी पसेको छ । गाउँमा बाढी पस्दा दुई पालिकाका करिब ५ सय परिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका–२ सुगा बथानमा बाढी गाउँ पसेको हो । गाउँमा माईखोला पस्दा ५६ घर विस्थापित भएका छन् । उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा स्थानान्तरण गरी गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा गाउँपालिका–१, ६ र ७ मा बाढी गाउँ पसेको छ । दर्जनौँ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । झापाकै शिवसताक्षी नगरपालिका–४, ५, ६ र ७ मा समेत करिब ३५० घरमा बाढी पसेको छ ।

प्रहरी र स्थानीयको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पानी निरन्तर परिरहेको कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत मेची नगर नगरपालिका–६ कालिखोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको छ ।

शिवसत्ताक्षी १० मा आएको बाढीले सुकुना खोलाको ह्युमपाइपमा क्षति पुर्‍याउँदा राजमार्गमा आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै भद्रपुर नगरपालिका– ६ मा २५ घर डुबानमा परेका छन् । घर डुबानमा परेपछि स्थानीयलाई आफन्तहरूले सुरक्षित स्थानमा लगेका छन्।

अविरल वर्षाले विभिन्न राजमार्गमा सवारीसाधन अलपत्र

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँ उपत्यका भित्रने र बाहिरिने विभिन्न राजमार्गमा सवारीसाधन रोकिएका छन् । चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौँबाट धादिङ र मकवानपुर भएर बाहिरिने सडक खण्डमा अर्को आदेश नभएसम्मका लागि दुवैतर्फका सवारीसाधन होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ।

पहिरोले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ । संखुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा यही असोज २१ गतेसम्म साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्गको केही भाग भासिएकाले भाअिन्दाजी सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । ओलखढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सीमास्थित भँडारे खोलाको बाढीले सदरमुकाम जोड्ने सडकमा क्षति भएको छ ।

हेटौँडा–काठमाडौं जोड्ने पाँच वटै सडकमा गाडी चलाउन रोक
बाढी–पहिरोको जोखिम बढेकाले हेटौँडा–काठमाडौँ जोड्ने सडकमा सवारीसाधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयअनुसार हेटौँडा–काठमाडौँ जोड्ने मुख्य सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए ।

उनका अनुसार हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ, हेटौँडा–भैँसे–फाखेल सडक र हेटौँडा–चित्लाङ–काठमाडौँ सडकमा सवारीसाधनलाई आज बिहानैदेखि सञ्चालन गर्न दिएको छैन । हेटौँडा हुँदै काठमाडौँका निम्ति छुटेका सबै सवारीसाधनलाई प्रहरीले हेटौँडाको चौकीटोल, भैँसे, पिप्लेमा रोकेको छ । सवारीसाधन सञ्चालन नहुँदा यात्रीहरू अलपत्र परेका छन् ।

हेटौँडा–काठमाडौँ जोड्ने कुनै पनि सडक हालसम्म बाढी वा पहिरोका कारण अवरुद्ध नभए पनि वर्षा निरन्तर भइरहेकाले जोखिमबाट जोगिन ती सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवाक्ता बोगटीले बताए । यसैबीच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आजदेखि असोज २० गतेसम्म अत्यन्त टाढा र राति यात्रा नगर्न आग्रह गरेका छन्। उनले सबै जिल्लाबासीलाई सचेत रहन आग्रह गरेका छन् ।

आइतबार बिहानसम्म अति भारी वर्षाको सम्भावना, ४० जिल्लामा बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन् ।

जोशीले विशेष गरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

‘यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटर भन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ’, उनले भने ।

यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गरे । विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा प्रभाव छ । बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम छ । उच्च जोखिममा काठमाडौं उपत्यका समेत परेको छ । अहिले वर्षाको दर विस्तारै बढ्दै गएको छ र यो क्रम राति अझै बढ्न सक्ने सम्भावना छ । त्यसैले काठमाडौंका नदीहरुको बहाव बढ्दै गएर सतर्कताको तह नजिक पुगेको छ ।

बाढीको सतह अझै बढ्ने सम्भावना भएकाले आज बेलुका र भोलिसम्मका लागि विशेष सतर्कता जरुरी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘काठमाडौंको हकमा विष्णुमती, बागमती, मनोहरा, नख्खु सबै नदीहरुमा बाढी सतर्कताको तह नजिक पुगेको छ, त्यस हिसाबले यी क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ,’ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले भने, ‘आज बेलुका र भोलि विशेष सतर्कता जरुरी छ ।’ डुबान भइरहने र बाढी आउने क्षेत्रमा विशेष गरी नदी किनारमा यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन् ।

यी जिल्लामा छ बाढीको उच्च जोखिम

विभागका अनुसार अहिले बागमती प्रदेशका चितवन, मकवानपुर, सिन्धुली लगायतका जिल्लामा वर्षा मध्यमबाट भारीतर्फ उन्मुख छ । यसैगरी मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीमा पनि वर्षा भारीतर्फ उन्मुख छ ।

‘अहिलेसम्म वर्षाले खतराको तह पार गरिसकेको त छैन तर त्यसको नजिक छ,’ पराजुलीले भने । विभागका अनुसार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बाढीको अति उच्च जोखिम छ ।

यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुलाई पनि अति उच्च जोसिखमको सूचीमा राखिएको छ। साथै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ पनि बाढीको उच्च जोखिममा छन् ।

यस्तै गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरु उच्च जोखिममा छन् । कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा राखिएको छ ।

भारी वर्षासँगै फर्किन थाले सवारीसाधन

काठमाडौं । मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए ।

‘अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौँतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्’, उनले भने, ‘सुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन।’

सडक विभागले बिपी राजमार्गमा अहिले बिहान १० बजेपछि सवारीसाधनको प्रवेश रोक लगाइएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कान्ति लोकपथमा आवागमन पूर्ण रूपमा बन्द
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको पूर्वानुमानअनुसार हाल बागमती प्रदेशलगायतका क्षेत्रमा मनसुनी गतिविधि तीव्र बनेको र उच्च मात्रामा वर्षा भइरहेको हुँदा जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ बन्द गरिएको जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयको स्थानीय प्रशासन शाखाद्वारा आज जारी गरिएको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा क्षति न्यूनीकरणका लागि सो निर्णय गरिएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जारी गरेको उक्त सूचनामा यात्रु तथा सम्बन्धित सबैलाई सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

देशभर कुन राजमार्गको अवस्था कस्तो ?

काठमाडौं । अविरल वर्षाले देशभरको सवारी आवागमन प्रभावित भएको छ । लामो दूरी र काठमाडौं भित्रिने-बाहिरिने सवारी साधन सञ्चालनमा तीन दिनका लागि रोक लगाइएको छ । नेपाल प्रहरीले अहिले ११ बजेसम्म दिएको अपडेटअनुसार देशभरिका राजमार्गहरूको अवस्था निम्न रहेको छ ।

–काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै काठमाडौंबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड अर्को आदेश नभएसम्मका लागि दुवै तर्फका सवारी साधन होल्ड गरिएको ।

–धादिङ बेनिघाट रोराङ गापा १० जवाङखोला स्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध ।

–काभ्रेको बिपी र अरनिको राजमार्गमा अविरल बर्षातको कारणले धुलिखेल देखि प्रहरी चौकी दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुबैतर्फी सवारी साधन अनिश्चित समयको लागि होल्ड ।

–रसुवामा बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको छ । रसुवा गोसाइकुण्ड गापा वडा नं२ स्थित रसुवागढीमा बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवतजावत बन्द ।

–रसुवा गोसाईकुण्ड गापा वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गासहित सुख्खा पहिरोका कारण बाटो अबरुद्ध ।

–संखुवासभा भोटखोला गापा४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरोध भएको । बर्षातको अवधिभर सुचारु हुन नसक्ने ।

– संखुवासभा मकालु गापा–३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पूर्णरुपमा अवरुद्ध ।
संखुवासभा मकालु गापा–३ एकुवास्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रूपमा अवरोध ।

– मिति २०८२।०६।१६ गते बिहिबार देखि २१ गते मंगलबारसम्म साँझ १७:०० बजेदेखि बिहान ०५ः०० बजेसम्म बिपी राजमार्ग पूर्णरुपमा बन्द रहने ।

–भोटकोशी गापावडा नं४ चारकिलो स्थित अरनिको राजमार्गमा २ मिटर सडक भासिन गई सडक अवरुद्ध ।

पूर्व सावधानी अपनाउन स्थानीय प्रशासनको अनुरोध

रसुवा । आज बिहानैदेखि वर्षा निरन्तर बढी रहेका कारण खोला तथा नदी क्षेत्रको तटीय क्षेत्रमा नबस्न आग्रह गरिएको छ । निरन्तर वर्षा भइरहने मौसमविज्ञको पूर्व अनुमानअनुरूप बिहान ४ः०० बजेदेखिनै पानी पर्न थालेको र रसुवाको भू–बनोट बढी भीरपाखा भएका कारण आउन सक्ने पहिरो एवं भलबाढीको जोखिमका सम्भावनालाई मध्यनजर राखी स्थानीय प्रशासनले ठाडोखोला तथा नदीको तटीय क्षेत्रका आसपासमा नबस्न जिल्लावासीलाई अनुरोध गरेको हो ।

सुरक्षित स्थानमा बस्न र अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान यदि जानैपर्ने जटिल अवस्था आएमा भरपर्दाे साथीलाई साथसाथै लिई सुरक्षित तवरले यात्रा गर्न अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष राजेश पन्थीका अनुसार रसुवाको लाङटाङ, तिवारी, चिलिमेको रोङ्गा, मैलुङ, फलाखु , राम्चेको छहरे, धोबी, घट्टे, भाँगे, तोर्मे, भोटेकोशीसमेतका खोला एवं त्रिशूली नदीसमेतका नदी खोलाहरूमा पानीको सतह बढ्न थालेको र सम्भावित भलबाढीबाट सुरक्षित रहन सबैमा अनुरोध गरिएको हो ।

यात्रुबाहक बस तथा अन्य सवारीसाधन चलाउने सवारी चालकहरूले यात्रुलाई दिसापिसाब गराउँदा समथर स्थानमा मात्र रोक्न समेत आग्रह गरिएको छ । पानी परुञ्जेल ठाडो खोल्छाको पानी प्रयोग गरी पिसानी घट्ट सञ्चालन नर्गन समेत अनुरोध गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

वर्षातमा लोकमार्गका यात्रुलाई सास्ती नै सास्ती

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा अन्तर बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा सामान्य वर्षा हुँदा पनि लेदोसहितको बाढी आउँछ ।

बाढीले करिब दुई मिटर सडकमा क्षति पुर्‍याएको छ । चार वर्ष अगाडि कालोपत्र भएको लोकमार्ग अहिले पूर्ण रूपमा जीर्ण बन्दा यात्रा असहज बनेको छ । दैनिक हजारौं यात्रु ओहोरदोहोर गर्ने राजमार्गको दूरावस्थाका कारण सास्ती खेप्नु परेको छ । ठूलो वर्ष हुँदा सवारीसाधन ठप्प हुन्छन्।

सवारीसाधन नचल्दा पश्चिम बागलुङको निसीखोलासहित पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा, जाजरकोट, सल्यान, डोल्पालगायत जिल्लाबाट राजधानी काठमाडौँ, पोखरा, चितवन, बुटवल पुग्ने यात्रुले सास्ती खेप्नुपरेको छ । निरन्तर वर्षा हुँदा एक सातासम्म पनि लोकमार्ग बन्द हुने गरेको छ । हिउँदमा पनि वर्ष भयो भने सडक बन्द हुने गरेको छ ।

सडक बन्द हुँदा घण्टौँसम्म अलपत्र पर्नुपर्ने बाध्यता रहेको गाडी चालक प्रितम थापा मगरले बताए । बन्द हुने सडक समयमा नखुल्दा धेरै पटक सडकमै बास बस्नुपरेको गुनासो गरे । बाढीसहित आएको लेदोमा गाडी फस्दा पाटपुर्जा बिग्रिएको उनको भनाइ छ । सडकलाई व्यवस्थित बनाउनका लागि सरोकारवाला निकाय उदासिन बनेको थापा मगरले बताए ।

उनले भने, ‘यो लोकमार्गले पश्चिम नेपाललाई जोडेपछि धेरैजसो यात्रु यही मार्ग प्रयोग गरेर काठमाडौँ जाने गर्छन्, पहिले हामीहरू सुर्खेतबाट दाङ, बुटवल हुँदै काठमाडौँ जाने गथ्र्यौं, अहिले यो राजमार्गले काठमाडौँसँगको दूरी छोटो बनाएको हुँदा यताबाट जाने गर्छौं तर कालापौराखोलामा आउने बाढीले धेरै पटक दुःख पायौँ, दुई-तीन वर्ष भयो, अहिलेसम्म पनि व्यवस्थित बन्न सकेको छैन ।’

मध्यपहाडी लोकमार्ग बागलुङमा सबैभन्दा बढी खण्ड निसीखोलामा पर्छ । पाखुट्टेदेखि पातीहाल्नेसम्म करिब ३८ किलोमिटर रहेको छ । अन्य ठाउँमा सडक सहज भए पनि कालापौराखोलामा बढी जोखिम छ । मध्यपहाडी लोकमार्गका सूचना अधिकारी उज्वल शर्माले ग्रामीण सडक व्यवस्थित नहुँदा लोकमार्गमा क्षति भएको बताए ।

निसीखोला गाउँपालिकाले कानाबगर बजारदेखि ओखरेनी गाउँ जोड्ने सडक निर्माण गरेपछि वर्षा हुँदा लेदोसहितको बाढी आएर लोकमार्ग अवरुद्ध हुने गरेको उनको भनाइ छ । कालापैराखोलामा आउने बाढी रोक्नका लागि ग्रामीण सडकनै व्यवस्थित बनाउनुपर्ने शर्माले बताए । यहाँको समस्या समाधान गर्नका लागि सडक विभागमै पत्र पठाउने उनी बताउँछन् ।

‘अहिले जनु ठाउँमा बाढीले सडक क्षति बनाएको छ, त्योभन्दा माथि ग्रामीण सडक छ, त्यो ठाउँ पनि अलिकति कच्ची रैछ, वर्षा भयो भने सबै बगेर आउँदो रहेछ, बाढी पन्छाएर सडक सुचारु गर्नका लागि एउटा मेसिन स्टानबाई राख्नु राखेका छौँ’, उनले भने, ‘स्थानीय तहले माथिल्लो क्षेत्रमा रहेको सडकलाई व्यवस्थित गर्‍यो भने यसको समाभान हुने थियो, हामीहरूले पनि अध्ययन गरेर समाधान कसरी गर्न सकिन्न छ भन्ने निचोड निकाल्ने छौँ ।’

सडकमा हिलो बग्दा कानाबगर बजारनै कुरूप बन्न थालेको छ । यसको दीर्घकालीन समाधान नहुँदा सामान ढुवानी र यात्रा गर्न धेरै गाह्रो हुने गरेको निसीखोला गाउँपालिका–५ का स्थानी थमबहादुर घर्ती मगरले बताए । लोकमार्गको वैकल्पिक सडक भए पनि सुचारु नभएको उनको भनाइ छ । लामो समयसम्म निरन्तर वर्षा भएर धेरै दिन लोकमार्ग बन्द हुँदै आएको घर्तीले बताए ।

काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारीसाधन तीन दिनका लागि बन्द

काठमाडौं । काठमाडौं भित्रिने / बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण यातायात बन्द गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको जनाएको छ ।

‘सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने / बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ’, प्राधिकरणको सूचनामा भनिएको छ ।

शनिबार बिहान अत्यन्त जरुरी सूचना जारी गरी प्राधिकरणले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने / बाहिरिने सवारीसाधन आवतजावत आज असोज १८ देखि २० गतेसम्मका लागि बन्द गरिएको जानकारी दिएको हो ।

सूचनमा भनिएको छ, ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने / बाहिरिने सवारीसाधन चलाउन रोक लगाइएका कारण यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरू रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट प्राप्त गर्नु हुनसमेत सूचित गरिन्छ ।’