`

दलित भनेर भेदभाव गर्नेको सम्पत्ति जफत र आजीवन काराबास गरौं : वामदेव गौतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले दलित भन्ने शब्दलाई नेपालले संवैधानिक र कानुनी रुपमा नै मान्यता दिइएको भन्दै असन्तुष्टि जनाएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भने, ‘संविधानमा दलित समुदाय छन् र उत्पीडित छन् भन्यौं । अमेरिकामा गएर यही भन्छौं र सहयोगको कुरा गर्छौं । यसरी अन्त्य हुन्छ विभेद ?’

विभेद अन्त्य गर्न व्यवहार सुध्रिनुपने र यसका लागि कडा कानुन बनाउनु पर्ने उनले बताएका छन् । ‘दलित भनेर भेदभाव गर्नेको सम्पत्ति जफत गरौं र आजीवन काराबासको सजाय गरौं’ उनको प्रस्ताव छ, ‘आजीवन काराबास पूरा भुक्तान गर्नुपर्ने गर्नुपर्छ छुट नहुने गरी ।’ नेपालको संविधान धारा ४० मा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था छ । यो संवैधानिक हक कार्यान्वयन हुन सकेको छैन । यही विषयमा संसदीय समितिको बैठकमा छलफल जारी छ । संविधानको यो धाराले दलित समुदायको आर्थिक–सामाजिक हित सुनिश्चित गरेको छ । जहाँ राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने उल्लेख छ ।

सार्वजनिक सेवा लगायतका रोजगारीका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि कानुनबमोजिम विशेष व्यवस्था सुनिश्चित गरिएको छ । दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुनबमोजिम छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गर्ने व्यवस्था धारा ४० मा छ । तर, यो संवैधानिक व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन । कारण– यससम्बन्धी ऐन नै बन्न सकेको छैन । संविधानतः प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलितका लागि कानुनबमोजिम विशेष व्यवस्था हुनुपर्ने हो ।

दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान गर्न कानुनबमोजिम विशेष व्यवस्था गरिनुपर्ने हो । तर संविधान कार्यान्वयनका लागि आवश्यक त्यही संघीय कानुन नबन्दा दलितले संवैधानिक रूपमा लिएको अधिकार उपभोग गर्न पाएका छैनन् । संविधानको धारा ४० मै दलित समुदायको परम्परागत सिपको सन्दर्भमा आफ्नो परम्परागत पेसा, ज्ञान, सिप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हक हुने भनिएको छ । राज्यले दलित समुदायका परम्परागत पेसासँग सम्बन्धित आधुनिक व्यवसायमा उनीहरूलाई प्राथमिकता दिई त्यसका लागि आवश्यक पर्ने सिप र स्रोत उपलब्ध गराउने उल्लेख छ । यी कुनै पनि व्यवस्थाको सही अर्थमा कार्यान्वयन हुन नसकेको भनेर राष्ट्रिय सभा सदस्यहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रचण्ड–माधवलाई वामदेवको प्रश्न : प्रधानमन्त्री हुँदा किन समाजवादको प्रयास भएन ?

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले समाजवाद निर्माणमा प्रवेश नगरेकाले नै जेनजी आन्दोलन भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनमा उनले समाजवाद मात्रै भनेर नहुने बताए । ‘समाजवाद निर्माणमा प्रवेश नगरेकाले जेनजी आयो । समाजवादी क्रान्ति मात्रै भनेर हुँदैन । कस्तो किसिमको क्रान्ति स्पष्ट भन्नु पर्छ । तब मात्र कमरेडहरूलाई काँधमा बोकेर हिँड्न सक्छु’, उनले भने ।

संविधानमा लेखिएको लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवाद लागु गर्नुपर्ने उनको भनाइ छ । गौतमले समाजवाद झोलामा मात्रै बोकेर हिँडेर नहुने बताए । उत्पादनमा आधारित कम्युनिष्ट पार्टी निर्माण हुनुपर्ने बताए । गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए । नेता गौतमले पार्टीका संयोजक र सहसंयोजकलाई प्रधानमन्त्री भएका बेला समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

काठमाडौंमा जारी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गौतमले संविधानमै गरिएको व्यवस्था कार्यान्वयनका लागि किन काम नगरेको भन्दै प्रश्न गरेका हुन् । ‘२०७२ मा जारी गरेको संविधानको प्रस्तावनामै लेखिएको छ, अब नेपालमा लोकतान्त्रिक मूल्य मायन्तामा आधारित समृद्ध समाजवाद निर्माण गरिनेछ । आज कति वर्ष भयो ? हामी कति पटक प्रधानमन्त्री भयौं ? हामीले कति पटक प्रधानमन्त्री–मन्त्री बनायौं ?’ उनले प्रश्न गरे, ‘संविधानले प्रस्तावनामै व्यवस्था गरेको त्यो चरित्रको समाजवाद निर्माण किन भएन, प्रयास गर्नु भयो कि भएन अहिले जवाफ दिनुहोला ।’

उनले संविधानमा लेखिएका कुरा लागू नगर्ने र नलेखिएका विषयमा धेरै कुरा गर्ने गरिएको भन्दै नेताहरूको आलोचना गरे। उनले नेताहरूसँग समाजवादी क्रान्तिको परिभाषा समेत मागे । ‘यो सधैँभरी महिना महिनामा सरकार परिवर्तन गर्ने सिस्टम, राज्य सञ्चालनको शासन प्रणालीलाई अन्त्य गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्नुपर्छ र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ,’ उनले भनेका छन् । यसअघि अघि बढ्न सकेको खण्डमा कम्युनिष्ट आन्दोलन धेरै अघि बढ्नसक्ने उनले बताएका छन् । ‘त्यसो भयो भने हामी अगाडि बढ्न सक्छौं । तपाईंहरू सबैमा विनम्र अनुरोध छ, यो पास गरिदिनुस्,’ उनले भने ।