`

विद्युत महसुल नतिर्ने यी डेढ दर्जन उद्योगको काटियो लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसबापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो ।

यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति कटौति गरिएको थियो । कूल आठ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योगहरुमध्ये केहिले किस्तामा तिर्न थालेको र केही कानुनी प्रक्रियामा गएका प्रवक्ता ढकालले बताए । ‘डेडिकेटेड फिडर र ट्रङ्कलाइन प्रयोग गरेर महसुल तिर्न बाँकी १४ उद्योगले किस्तामा भुक्ताती गर्न थालेको छन् भने छ वटा उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् । हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टको पनि बक्यौता छ’, उनले भने।

डेडिकेटेड र ट्रङ्कलाइनको महसुल उठाउने विषय २०७५ साल यता सुल्झिन सकेको छैन । प्राधिकरणका तत्कालीन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक डेडिकेटेड र ट्रङ्कलाइनको महसुल बक्यौताबारे अध्ययन भएको थियो । त्यसपछि प्राधिकरणले बक्यौता उठाउने प्रयास गर्दै आएको छ । उद्योगी–व्यवसायीहरुले भने आफूहरुले डेडिकेटेड र ट्रङ्कलाईन प्रयोग नै नगरेकाले त्यसको महसुल नतिर्ने अडान लिँदै आएका छन् ।

यो विषय अदालत, सङ्घीय संसद्को सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । प्राधिकरणले गत असोज १२ गते उद्योगहरुलाई २१ दिनभित्र बक्यौता बुझाउन सार्वजनिक सूचना जारी गरेको हो । किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महसुल सङ्कलन नियमावली, २०७८ अनुसार लाइन काटिएको जनाएको छ ।

६ उद्योगको मात्रै चार अर्ब विद्युत बक्यौता, उद्योगीद्वारा तिर्न अस्वीकार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगले ४ अर्ब विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेको छ । प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो । जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवमको ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ ।

यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको थप महसुल बापतको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले पटक–पटक बक्यौता तिर्न आह्वान गर्दा समेत उद्योगीले अटेर गरेपछि बाध्यभएर लाइन काट्नु परेको बताए । उनका अनुसार ६ ओटा उद्योग जसले ४ अर्ब भन्दा बढि बक्यौता तिरेका छैनन् । बक्यौता तिर्न सुरु नगर्दासम्म लाइन नजोडिने उनले बताए ।

कार्यकारी निर्देशक सिलवालले भने, ‘हामीले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट,घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको छौं । ती उद्योगको मात्रै ४ अर्ब बक्यौता छ । पटक पटक तिर्न पत्राचार गर्दा पनि सुनुबाइ भएन्, जसकारण लाइन काट्न बाध्य भयौँ । उहाँहरु तिर्न नआएसम्म लाइन जडान हुँदैन ।’ सिलवालका अनुसार तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्नसक्ने गरी काउन्टरको व्यवस्था गरिएको छ । अहिले नै उद्योगीले सबै रकम तिर्नुपर्छ भनेर प्राधिकरणले भन्दैन । २८ किस्ताको सुविधा दिइएको छ । पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने सिलवालले बताए ।

यसअघि प्राधिकरणले २१ दिने सूचना निकालेर विजुलीको बक्यौता नतिर्ने उद्योगीको लाइन काट्ने चेतावनी दिएको थियो । प्राधिकरणले १२ असोजमा सूचना जारी गरेपछिदुई नयाँ उद्योगले किस्तामा बक्यौता तिर्न थालेका छन् । त्यसबाहेक अन्य उद्योगहरुले भने विवाद निरुपण नभएसम्म बक्यौता नतिर्ने अडान राख्दै आएका छन् । यसअघि बक्यौता नतिरेकाअशोक स्टिस्ल र हामा स्टिल्सले किस्तामा बक्यौता तिर्न थालेका हुन् । यसअघि नै किस्ताबन्दीमा बक्यौता तिर्न शुरु गरिसकेका हुलास स्टिल, लक्ष्मी स्टिल्स, सर्वोत्तम सिमन्टलगायतले पनि नयाँ किस्ता तिरेको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि विद्युत् बक्यौतामा उद्यागी र व्यवसायीहरुबिच टकराव चल्दै आएको छ । अहिले पनि त्यस्तो बक्यौता नतिर्ने बताएका छन् । पीडित तथा प्रताडित उद्योग समूह (नेपाल) द्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हामी प्रत्येक नेपाली नागरिक र सुशासनका लागि हालै आन्दोलनमा उत्रेको युवा पुस्ता (जेन–जी) लाई अपील गर्दछौं । यो संस्थागत स्वेच्छाचारिता र प्रमाणहीन शक्तिको विरुद्धको लडाई हो, जसले हरेक नेपालीको आर्थिक भविष्यमाथि खतरा सिर्जना गरेको छ ।’

उद्योगीले प्रमाणमा गम्भीर कमजोरी रहेको स्पष्ट पारेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘यो विवाद एक–दुई कम्पनीको मात्र होइन, ३० भन्दा बढी ठूला उद्योगहरूको साझा समस्या हो । बितेका सात वर्षभन्दा बढी समयदेखि कुनै पनि उद्योगले डेडिकेटेड लाइनको प्रिमियम सेवा प्रयोग गरेको कुरा स्वीकार नगर्नुले प्राधिकरणको बिलिङ प्रणाली र प्रमाणमा गम्भीर कमजोरी रहेको स्पष्ट पार्छ ।’

उनीहरुले प्रमाणको माग समेत गरेका छन् । ‘हाम्रो माग पारदर्शी र न्यायपूर्ण छ । हामीले प्राधिकरणद्वारा गठित लाल आयोगको प्रतिवेदन र टी.ओ.डी. मिटर डाटा अर्थात लोडसेडिङको बखत उद्योग सञ्चालन गरेको प्रमाणका आधारमा मात्रै दायित्व निर्धारण गर्नुपर्ने माग गर्दै आएका छौँ । कसरी भुक्तानी गर्ने, जब प्राधिकरणसँग हामीले सेवा उपयोग गरेको प्रमाण नै छैन ?’’

उद्योगीले प्राधिकरणको कदमलाई स्वेच्छाचारी भनेका छन् । उनीहरुका अनुसार प्राधिकरणले कानुनी प्रक्रियालाई लत्याएको छ । उद्योगहरूलाई प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिन लगाई, सो प्रक्रियाको लागि कुल विवादित रकमको ५ प्रतिशत बैंक ग्यारेन्टी समेत जम्मा गर्न लगाएपछि, प्राधिकरणको सञ्चालक समितिले सो सम्पूर्ण प्रक्रिया र काम कारबाही स्वेच्छाचारी ढंगले रद्द गरिदिएको र यो संस्थागत अन्याय र कानुनी शासनप्रतिको घोर उपेक्षा रहेको बताएका छन्। पीडित उद्योगीहरुले प्राधिकरणको कदमले राष्ट्रिय क्षति पुग्ने बताएका छन् ।

‘बिजुली काट्ने धम्की ऋण उठाउने वैध रणनीति होइन; यो राष्ट्रिय अर्थतन्त्रलाई आत्मघाती नोक्सान पु–याउने कदम हो’, विज्ञप्तीमा भनिएको छ । उद्योगीका अनुसार यो विवादमा संलग्न उद्योगहरूले सामूहिक रूपमा १५ हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी दिएका छन् । बिजुली काटिएमा यी उद्योग बन्द हुनेछन् र हजारौं नेपाली परिवारको रोजीरोटी खोसिने छ,जुन अहिलेको आर्थिक मन्दीको समयमा सबैभन्दा ठूलो सामाजिक संकट हुनेछ । –न्युज एजेन्सी नेपाल

 

तिहारमा जति मन लाग्छ बत्ती बाल्नुस् : प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यो वर्षको तिहारमा लोडसेडिङ नहुने र ढुक्कसँग जति पनि बत्ती बालेर चाड मनाउन सकिने बताएको छ । उज्यालोको पर्व तिहारमा बिजुली आपूर्तिको कुनै समस्या नहुनेमा विश्वस्त रहन प्राधिकरणले आम उपभोक्तालाई आग्रह गरेको हो । प्राधिकरणका अनुसार तिहारको समयमा उद्योग धन्दाहरू बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठुलो मात्रामा बिजुली बचत हुन्छ । जसलाई घरायसी प्रयोजनका लागि सहजै उपलब्ध हुन्छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहारमा विद्युत् आपूर्तिमा समस्या हुँदैन । उनले भने– ‘पहिले तिहारको लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि प्रयोग गर्न सक्नु हुन्छ ।’

उनले प्राविधिक समस्याबाहेक अन्य कारणले बत्ती नजानेमा ढुक्क हुन आग्रह गरे । तिहारमा उद्योगहरू बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाट विद्युत् बचत हुनेछ । उक्त बिजुली सिधै घरायसी उपभोक्तालाई उपलब्ध गराइनेछ, जसले गर्दा बत्तीको माग बढे पनि आपूर्तिमा कुनै कमी हुने छैन । प्राधिकरणले विद्युत् आपूर्तिमा कुनै पनि किसिमको प्राविधिक गडबडी आउन नदिन कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । कुनै स्थानमा फल्ट भएमा तत्काल समाधान गर्न विशेष टोलीहरू तयारी अवस्थामा राखिनेछ ।

विगतका वर्षहरूमा तिहारको समयमा, विशेषगरी लक्ष्मी पूजाको दिन, विद्युतको माग बढेर अधिकतम १६ सय मेगावाटसम्म पुग्ने गरेको थियो । यस वर्ष पनि सोही हाराहारीमा माग रहने प्राधिकरणको अनुमान छ । सामान्यतया तिहारमा साँझ ६ बजेदेखि ९ बजेसम्मको समयमा विद्युत् खपत ३० देखि ४० प्रतिशतसम्म बढ्ने गर्छ । प्राधिकरणले विद्युत् प्रणालीलाई विश्वसनीय बनाउन नयाँ प्रसारण लाइन विस्तार, सबस्टेसनको स्तरोन्नती र पूर्वाधार थप्ने कामलाई निरन्तरता दिएकोले पनि यस वर्ष आपूर्ति थप भरपर्दो हुने विश्वास दिलाइएको छ ।

उद्याेगीहरुलाई प्राधिकरणको अल्टिमेटम : कात्तिक २ भित्र वक्यौता नतिरे लाइन काटिन्छ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडरमार्फत विद्युत् लिने तर वर्षौंदेखि महसुल तिर्न बाँकी रहेका उद्योगहरूको लाइन काट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले ती उद्योगहरूलाई कात्तिक २ गते राति १२ः०० बजे सम्मको अन्तिम म्याद दिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले भने, ‘अहिलेसम्म सम्राट र रोल्पा सिमेन्ट बाहेक अन्य उद्योग सम्पर्कमा आएका छैनन् । ‘बक्यौता तिर्नुको विकल्प छैन, नतिरे लाइन काटिन्छ ।’ प्राधिकरणका प्रवक्ता ढकालका अनुसार प्राधिकरण सञ्चालक समितिले बक्यौता रकम उठाउने निर्णय गरिसकेको छ र सोही अनुसार कात्तिक २ गतेसम्म बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्ने सूचना जारी गरिएको छ ।

२०७२ माघ देखि २०७५ वैशाख सम्म लोडसेडिङको चरम अवस्थामा उद्योगलाई ट्रंकलाइन तथा डेडिकेटेड फिडर मार्फत दिइएको विद्युतको प्रिमियम शुल्क विवादको विषय बनिरहेको छ । उद्योगीहरूले टीओडी मिटर नहुँदा शुल्क गलत देखिएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् । तर प्राधिकरणले करिब २४ अर्ब रुपैयाँ बक्यौता उठाउनुपर्ने बताउँदै कडा कदम चाल्ने तयारी गरेको हो ।

ऊर्जामन्त्री कुलमान घिसिङ र प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल बक्यौता असुलीमा सक्रिय छन् । प्राधिकरणले उद्योगीहरूलाई २८ किस्तामा तिर्ने सुविधा पनि दिएको छ । तर कात्तिक २ गतेसम्म पनि भुक्तानी नगर्ने उद्योगहरूको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले यसअघि नै अदालतबाट मुद्दा खारेज भएपछि प्रशासनिक पुनरावलोकन प्रक्रिया समेत सरल बनाएको थियो । तर उद्योगीहरूको सहभागिता कम देखिएको छ । १० वर्षसम्म यो विवाद समाधान नहुँदा प्राधिकरणको वित्तीय स्थिति कमजोर बनेको छ । डेडिकेटेड र ट्रंकलाइनको मात्रै करिब २४ अर्ब रुपैयाँ बक्यौता नउठ्दा आर्थिक भार कायम नै छ । डेडिकेटेड र ट्रंकलाइन मात्रै होइन, सरकारले दिनुपर्ने विद्युत् शुल्क छुट लगायतका २० देखि २२ अर्ब रुपैयाँ पनि अझै भुक्तानी हुन बाँकी छ ।

साउनयता १५ अर्बको बिजुली विक्री

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले साउनयता १५ अर्ब रुपैयाँ बराबरको बिजुली विक्री गरेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्ष २०८२–८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब बराबरको विद्युत् निर्यात भएको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको छ ।

भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ । त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।