`

त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । रन–वेको बत्तिमा समस्या भएपछि उडान अवरुद्ध भएको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जनाएका छन् ।

जस कारण करिब पाँच वटा उडान ‘होल्ड’ मा राखिएका छन् । प्रवक्ता शेर्पाले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण रोकिएको जानकारी दिए । उनले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जानकारी दिए ।

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीयवासी निरास

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भए पनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निरास बनेका छन् । विसं २०२२ मा निर्माण गरिएको उक्त विमानस्थल विसं २०४८ सम्म सञ्चालन भए पनि त्यसपछि पूर्ण रूपमा बन्द छ । विमानस्थलमा भौतिक संरचना सम्पन्न भएपछि नियमित उडानको आशामा रहेका यहाँका नागरिकले नियमित उडान र सञ्चालनका लागि कुनै निकायबाट पहल नभएको गुनासो गरेका छन् ।

पोखरा–बागलुङ सडक विस्तार भएपछि यात्रु अभावमा विमानस्थल बन्द भएको थियो । बन्द भएको २७ वर्षमा बागलुङ नगरपालिकाले सञ्चालनको प्रयास गरेको थियो । विसं २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्याइएकामा यात्रु अभावले छ महिना पनि नियमित सञ्चालन हुन सकेन । नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका जहाजले केही महिना हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे धावनमार्गमा उडान भरेका थिए ।

अहिले रु आठ करोडभन्दा बढी खर्च गरेर धावनमार्ग, पार्किङ तथा टर्मिनल भवन मर्मत सम्भार गरेर आकर्षक बनाइएको छ । चौबीस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगन गरिएको विमानस्थल हवाईजहाजको पर्खाइमा रहेको विमानस्थलका कार्यालय सहयोगी सविता शर्माले बताए । उनका अनुसार नागरिक उड्डयन प्राधिकरणले रु आठ करोड खर्चेर चार वर्षअघि मात्र विमानस्थल कालोपत्र तथा अन्य पुराना पूर्वाधार मर्मत गरेको थियो ।

विमानस्थलमा गरेको लगानी जहाज नआउँदा बालुवामा पानी जस्तै भएको राम शर्माले बताए । उनले विमानस्थलमा एक कार्यालय सहयोगीले नियमित रेखदेख गर्दै आएका छन् । ‘यहाँ १८ देखि २४ सिट क्षमताका जहाज सञ्चालन गर्न सकिन्छ’, उनले भने । यो विमानस्थलमा हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने स्थानीयको भनाइ छ । बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछि विमानस्थल सञ्चालन गर्न सातामा दुई दिन उडान भर्ने र यात्रु अभाव हुँदाको भाडा नगरपालिकाले व्यहोर्ने सम्झौता गरेपछि केही महिना सञ्चालनमा आएको थियो । पछि विमानस्थलको धावनमार्ग पक्की बनेपछि सेवा सञ्चालन झनै ठप्प बनेको छ ।

कालोपत्र भएर चिटिक्क बनेको विमानस्थलमा अहिलेसम्म परीक्षण उडान पनि नभएको बागलुङ–१४ नारायणस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता चक्रबहादुर खत्रीले बताए । उनले बलेवाका स्थानीय अझै जहाज आउनेमा आशावादी रहेका भन्दै पटक–पटक जहाज चलाउन पहल भए पनि सार्थकता पाउन नसकेको उल्लेख गरे । हरेक सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई विमानस्थल अवलोकन गराउँदै आइएको जनाउँदै खत्रीले कसैबाट ठोस् पहल नभएको उल्लेख गरे ।

‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रको चरणमा रहेकाले कालोपत्र भइसक्दा यात्रु सहज ढङ्गले विमानस्थलमा आउने वातावरण भएमा विमानस्थल सञ्चालन हुन सक्छ । नगरले विमानस्थललाई पाइलट प्रशिक्षण केन्द्र तथा अल्ट्रालाइटजस्ता साहसिक उडानका लागि पहल गरिरहेको छ’, उनले भने ।

निजी क्षेत्रका एयरलाइन्सले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्ने गरेकाले समस्या भएको तत्कालीन विमानस्थलका पूर्वप्रबन्धक सूर्यबहादुर खत्रीले बताए । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्यभागमा पर्ने विमानस्थलका कारण पर्यटन प्रवर्द्धनको सम्भावना भए पनि नियमित सञ्चालन गर्न नसकिएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले स्वीकार गरे । उनले नगरको पहलले मात्रै विमानस्थल सञ्चालन गर्न सम्भव नहुने जनाउँदै संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए । कालीगण्डकी करिडोर सम्पन्न भएपछि र कुश्मादेखि जोडिने यान्त्रिक पुल, बन्जी पुल र नयाँ बन्ने झोलुङ्गे पुल सम्पन्न भएपछि यात्रुको समस्या नहुने स्थानीय कमल जिसीले बताए । त्यसका लागि अझै केही समय प्रतीक्षा गर्नुपर्ने उनको भनाइ छ । –रासस

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, यात्रु अलपत्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको छ । उडान प्रतिकूल मौसमका कारण दिउँसो ३ बजेसम्म विमानस्थल बन्द गराइएको हो ।

देशभर परिरहेको अविरल वर्षाका कारण राजमार्ग समेत अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रवेश गर्ने राजमार्गहरू प्रभावित हुँदा यात्रुहरू समस्यामा परेका छन् । बिहानैदेखि देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र खराब भिजिबिलिटीका कारण उडान सञ्चालनमा समस्या आएपछि विमानस्थलले आन्तरिक टर्मिनलमा यात्रुको बाक्लो भिड लागेको छ ।

उडान ठप्प भएपछि हजारौं यात्रुहरू विमानस्थलमा अलपत्र परेका छन् । लामो समयदेखि पर्खाइमा रहेका यात्रुहरूको लागि विभिन्न वायुसेवा कम्पनीहरूले टिकट रद्द गर्न थालेका छन् । अचानक उडान बन्द हुँदा यात्रुहरूले सास्ती भोगिरहेका छन् भने कतिपयको यात्रा योजना नै प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशको पूर्वी भागसम्म अहिले पानी परिरहेको छ । आगामी केही घण्टाभित्र वर्षाको मात्रा र क्षेत्र अझै बढ्ने सम्भावना रहेकाले उडान सञ्चालनमा सुधार आउन समय लाग्ने देखिएको छ ।

महाशाखाले केही प्रदेशहरूमा भारी तथा अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था वा उडानको जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा रहन सुझाव दिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान स्थगन

काठमाडौं । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् ।खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तरराष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ ।’

अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित, के–के कागजात बोक्नु पर्छ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखि नै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ ।

‘विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ’, उनले भने । विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले हवाई यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावतमा सहजीकरण गरिएको छ । नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरी विदेशी पर्यटकलाई गन्तव्यमा पुर्‍याइने जनाएको छ । यता वायुसेवा कम्पनीले पनि आफ्ना यात्रुलाई विभिन्न व्यवस्था गरेर गन्तव्य लगिरहेको विमानस्थलले जनाएको छ ।

निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नियमित रुपमा उडानहरु भइरहेका छन् । काठमाडौँ र बाहिरका गन्तव्यमा दुई तीन दिनदेखि रोकिएका यात्रुलाई लैजानु पर्नेछ ।

‘जेनजी पुस्ता’ का कारण विषम परिस्थिति उत्पन्न भए पनि यही भदौ २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः थाल्ने निर्णय गरिएको थियो । बुधबार साँझदेखिनै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेका छन् ।

विमानस्थलले हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर विमानस्थल आउन अनुरोध गरेको छ । साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन समेत भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दैनिक तीन सयभन्दा बढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तर्राष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ः०० बजेदेखि राति १३ः०० बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।

विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नु हुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दाै आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनु हुन समेत अनुरोध छ ।’

हुन छाड्यो नियमित उडान, सुनसान बन्यो रामेछाप विमानस्थल

रामेछाप । कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो ।

काठमाडौँमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो । पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ ।

त्यसबेला काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बढी व्यस्त हुने भएकाले विदेशी पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत सोलुको लुक्ला पुर्याउने गरिन्छ ।

दशैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा अन्य जिल्लामा चल्ने विभिन्न एयरलाइन्सले जिल्ला जिल्लामा जान अग्रिम बुकिङ खुला गरे पनि रामेछापका नागरिकहरूका लागि भने हवाइजहाजबट यात्र गर्न कुनै एयरलाइन्सहरूले अग्रिम बुकिङ खुला गरेका छैनन् ।

पर्यटकको सिजनमा मात्र विमानस्थल चल्ने भएकाले विमानस्थल वरपरका रहेका होटल तथा पसलहरू पनि यतिखेर सुनसान छन् । जिल्लामा विमानस्थल हुँदाहुँदै पनि रामेछापका नागरिकहरूले यसको सुविधा नपाउनु दुःखको कुरा भएको स्थानीयको भनाइ छ । रामेछापका नागरिकहरूलाई पनि हवाई सुविधा दिलाउने पहल राजनीतिक दल र प्रदेश तथा सङ्घीय सांसदले गर्नुपर्ने स्थानीय वीरेन्द्र श्रेष्ठले बताए ।

उनले भने, ‘यहाँका मानिसहरू सडकमार्गमार्फत काठमाडौँ जाँदा बिपी राजमर्गको १२५ किमि पार गर्नुपर्छ भने पुष्पलाल मार्गको तामाकोशी–चरिकोट–मुडे हुँदै करिब २०० किलोमिटर दूरी पार गर्नु पर्दछ ।’

गत वर्ष असोजको १२ गते आएको बाढीले पुष्पलाल मार्ग र बिपी राजमार्गको धेरै ठाउँका सडकमा क्षति पुगेकाले यी दुवै मार्ग जोखिमयुक्त छ । जिल्लामा सुविधा सम्मन्न एम्बुलेन्स नभइरहको अवस्था र मन्थलीबाट काठमाडौँका लागि भएका दुईवटा सडक मार्गहरू पनि भरपर्दा नभएकाले जटिल प्रकृतिका बिरामीहरू काठमाडौँ पठाउन निक्कै समस्या हुने गरेको श्रेष्ठको भनाइ छ ।

नजिकिँदै गरेको दशैँ तिहारजस्ता पर्वका लागि हिजोआज सहरबाट गाउँ आउनेहरूको सङ्ख्या बढ्दै जान लागेको छ । जोखिमपूर्ण सडकमार्गका कारण चाडपर्वमा घर आउनेलाई यात्रा सहज नभएको मन्थली–१ का नारायणदास श्रेष्ठ बताउँछन् ।

जिल्लामा हवाई सेवाला निरन्तर गरी पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ मन्थली नगरले पटकपटक पहल गरेको भए पनि त्यसको टुङ्गो नलागेको मन्थली नगरपालिकामा नगर पालिकाका प्रमुख लव श्रेष्ठ बताए ।

मेयर श्रेष्ठले भने, ‘रामेछाप विमानस्थलमा नियमित उडानका लागि पहल गर्न जिल्लाका सङ्घीय सांसदसहित आफूहरू पर्यटन मत्रीलाई ध्यानाकर्षणपत्र बुझाउन पर्यटन मन्त्रालय गएको र मन्त्रीले सकारात्मक आश्वासन पनि दिएको तर त्यसको कुनै सुनुवाइ अहिलेसम्म नहुँदा नागरिकले निर्वाचित प्रतिनिधिलाई विश्वास गर्न छाडेका छन् ।’

रामेछापमा लामो संघर्षपछि मात्र एयरपोर्ट कालोपत्रे गर्न सफल भएको, आफ्नो निरन्तर प्रयासले गत वर्ष असोजमा गएको बाढीका कारण मन्थलीबाट काठमाडौँ जाने दुवैतर्फको बाटो अवरुद्ध हुँदा आफूले निक्कै प्रयास गरेर केही समय हवाई सेवा सुरु भए पनि हाल बन्द भइको पूर्वराज्यमन्त्री एवं संघीय सांसद पूर्णबहादुर तामाङले बताए ।

उनले भने, ‘यहाँको विमानस्थलबाट रामेछापका नागरिक आउजाउ गर्नसक्ने गरी जहाज सञ्चालनका लागि विशेष पहल भइरहेको छ, सकभर दशैँअघिदेखि नै नियमित उडान गराउन म लागिपरेको छु । विशेष पहल गर्ने तयारी छ ।’

सोलुको लुक्लासम्मका लागि सीता, तारा र समिट एयरका एयरलाइन्सले यस एयपोर्टबाट पर्यटक ओसार्ने सिजनका बेला ६० देखि ६५ वटासम्म उडान भर्ने गरेका छन् । ती एयसलाइन्सका जहाजमार्फत आलोपालो प्रणालीद्वारा जिल्लाका नागरिक र बिरामीहरूलाई पनि सेवा दिने गरी आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने मन्थली न पा–२ का स्थानीय गुञ्जबहादुर श्रेष्ठले बताए । रासस

पोखराबाट भुटानको पारोमा अब सिधा उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब भुटानको लागि सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो । युनिभर्सल टुर्स एण्ड ट्राभल (युटीटी) ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि चार वटा चार्टर उडान गर्ने जनाएको छ ।

असोज १२, १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईंले जानकारी दिए। भुटान एयरलायन्स १२६ सिट क्षमताको हो। ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ । सो प्याकेज चार रात र पाँच दिनको रहेको प्रसाईंको भनाई छ ।

‘निरन्तर प्रयास भयो भने पोखराबाट अन्तरराष्ट्रिय उडान सम्भव छ । यसका लागि सरकारले एयरलाइन्सलाई उत्प्रेरित गर्नुपर्छ,’ उनल भने । पोखराबाट पारो अन्तर्राष्ट्रिय उडान हुने भएसँगै यसबाट आगामी दिनमा नियमित उडानको ढोका खुल्ने विश्वास लिइएको छ ।

पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् ।

‘पोखरालाई अन्तरराष्ट्रिय बजारसम्म जोड्न यसले महत्तवपूर्ण योगदान गर्ने विश्वास लिएका छौँ । यसको निरन्तरताका लागि सबैले आफ्नो ठाउँबाट पहल गरौँ’, उनले भने। प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणपछि नियमित उडानको ढोका खुल्ने विश्वास समेत उनले व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–पारो अन्तर्राष्ट्रिय चाटर्ड उडानको घोषणाले आफूहरूलाई उत्साहित बनाएको बताए । तीनै तहका सरकारले नियमित उडानका लागि निरन्तर पहल गर्न आग्रह गर्दै उनले पोखराबाट पारोसहित अन्य गन्तव्यमा उडान भइरहँदा त्यसले सरकारको घोषित योजनाअनुसार भाडादर पनि सस्तो हुनुका साथै यहाँ आएका पर्यटकले प्राकृतिक सौन्दर्यताको भरपुर अनुभूति गर्न पाउने विश्वास व्यक्त गरे ।

पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधा समेत दिएको छ । जसअनुसार यहाँबाट हुने अन्तर्राष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो ।

सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ ।

यी दुवै विमानस्थलको अन्तरराष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट छ ।

‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरता भएसँगै यहाँका व्यवसायी होटेल रेष्टुरेन्टलगायत पर्यटन सम्बद्ध सबै क्षेत्रमा आकर्षक छुटका प्याकेजकोसमेत तयारी गरेका छौँ’, निवर्तमान अध्यक्ष श्रेष्ठले भने, ‘पोखराबाट विश्वका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भन्ने उद्देश्यका साथ हाम्रो निरन्तर प्रयास जारी छ ।’

हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँमा भुटान एयरलायन्सले सातामा चार वटा उडान भर्दै आएको छ । यसअघि गत असार ७ गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो ।

पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ । सिचुवानले एयरलाइन्सले छेन्दुहुँदै अस्ट्रेलिया उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ ।

यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । ६ असार २०८० मा उक्त एयरलाइन्सको एयरबस ‘ए’ ३१९ले पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो ।

असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो । हाल हिमालय एयरलायन्सले ल्हासाको नियमित उडान गरिरहेको छ ।

हिमालय एयरलाइन्सले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी हिमालयले उडान गरिरहेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान थालेको थियो ।

हिमालयका साथै सिचुवान र भुटान एयरलाइन्सको उडान भएमा यसबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्ने र विश्वका विभिन्न गन्तव्य जाने यात्रुका लागि सहज हुने विश्वास लिइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुस २०७९ मा उद्घाटन गरिएको थियो ।

कूल तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यस विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ । रासस