`

पुराना दिग्गजसँग भिड्दै नयाँ शैलीमा सागर ढकाल, २,६२५ रुपैयाँको बिलको ‘चर्चा’

गुल्मी । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा गुल्मी जिल्लाको राजनीतिक माहोल तातेको छ । यही माहोलबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गुल्मी क्षेत्र नम्बर–१ का उम्मेदवार सागर ढकाल आफ्नो फरक प्रचारशैली र खर्चको पारदर्शिताका कारण चर्चाको केन्द्रमा आएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा सीमित रहने परम्परागत अभ्यासलाई तोड्दै ढकाल छिमेकी निर्वाचन क्षेत्र नम्बर २ मा पुगेर घरदैलो अभियानमा सक्रिय देखिएका छन् । उनले क्षेत्र नम्बर–२ का रास्वपा उम्मेदवार गोविन्द पन्थीसँगै मतदाताको घर–आँगनमा पुगेर मत मागिरहेका छन् । दुई उम्मेदवारबीचको संयुक्त प्रचारलाई स्थानीय स्तरमा दलगत सहकार्यको नयाँ अभ्यासका रूपमा हेरिएको छ । गुल्मीका दुवै क्षेत्रमा यस पटक पुराना, प्रभावशाली र स्थापित नेताहरू र नयाँ पुस्ताका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर–१ मा ढकालले नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी र नेकपाका सुदर्शन बरालजस्ता चर्चित नेतासँग प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यसैगरी क्षेत्र नम्बर–२ मा गोविन्द पन्थीको प्रतिष्पर्धा एमालेका गोकर्ण विष्ट, कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र नेकपाका श्रीराम महतसँग छ । दशकौँदेखि गुल्मीको राजनीतिमा प्रभाव जमाउँदै आएका यी नेताहरूमाथि नयाँ उम्मेदवारले कत्तिको चुनौती दिन सक्छन् भन्ने चासो सर्वसाधारणमा बढ्दै गएको छ । चुनावी तडकभडक, खर्चिलो प्रचार र शक्ति प्रदर्शनको संस्कृतिलाई चुनौती दिँदै ढकालले आफ्नो चुनावी खर्च सार्वजनिक गर्न थालेका छन् ।

उनले हालै गुल्मीको मालिका गाउँपालिकास्थित सिमलटारीमा बास बस्दा भएको खर्चको विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । ढकालका अनुसार आफू र गोविन्द पन्थीसहित ६ जनाको टोलीले एक रात होटलमा बसेर जम्मा २ हजार ६ सय २५ रुपैयाँ मात्र खर्च गरेको हो । ढकालले सार्वजनिक गरेको बिलअनुसार ६ जनाले प्रतिव्यक्ति २०० रुपैयाँ दरको शाकाहारी खाना खाँदा १ हजार २०० रुपैयाँ खर्च भएको छ । त्यस्तै, ४ सय रुपैयाँ दरका ३ वटा कोठाका लागि पनि १ हजार २०० रुपैयाँ तिरिएको छ । चिया र खाजामा २२५ रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन् ।

ढकालले आफ्नो चुनावी अभियानमा माछा–मासु, रक्सी नखाने र मतदातालाई तेल नबाँड्ने घोषणा पनि गरेका छन् । बोलेरो गाडी भाडामा लिएर हिँड्दा दैनिक ३–४ हजार रुपैयाँ खर्च हुने भए पनि कसैलाई व्यक्तिगत लाभ नदिइएको उनको भनाइ छ । उनले देशभरका रास्वपा उम्मेदवारलाई सादगीपूर्ण अभियान चलाउन आग्रह गर्दै भनेका छन्, ‘माछा–मासु, रक्सी र तेल वितरण नगरी पनि चुनाव जित्न सकिन्छ ।’ अभियानको क्रममा ढकालले समयपालनामा कडाइ गरेको प्रसंग पनि बाहिरिएको छ ।

निर्धारित समयभन्दा चार मिनेट ढिला भएको भन्दै उनले उम्मेदवार पन्थीलाई चार पटक उठबस गराएको बताएका छन् । पन्थीले पनि उक्त कुरा स्वीकार गरेका छन् । पन्थी पूर्व डीएसपी तथा अधिवक्ता हुन् । ढकालले यसपटक गुल्मीमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्ने दाबी गर्दै जिल्लालाई झापा र चितवनसँग तुलना गरेका छन् । सादगी, पारदर्शिता र संयुक्त अभियानको अभ्यासले मतदातामा कस्तो प्रभाव पार्ला भन्ने प्रश्नसँगै गुल्मीको चुनावी राजनीति थप रोचक बन्दै गएको छ ।

 

 

नयाँ भनेर प्रश्न नसोधे देउवा, ओली र प्रचण्ड बन्न धेरै समय कुर्न पर्दैन : सागर ढकाल

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा त्रुटी भएको बताएका छन् । रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई एक ठाउँमा मिलाउने हतारोमै सूचीमा गल्ती भएको उनको दाबी छ ।

ढकालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई समेट्ने प्रयासमा चुक भएको स्वीकार गर्दै त्यसमा सुधार प्रक्रिया अघि बढिरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘सम्भवतः अझै सच्याउन मिल्ने अवस्था छ । हामी गल्ती नगर्ने होइन, गल्ती गर्छौं तर थाहा पाएपछि सुधार्छौं भनेर उत्तर दिनुपर्छ । आशा छ– कुलमान, रवि र बालेनले समानुपातिक सूचीमा जनताले उठाएको आवाज सुन्नुहुनेछ र सुधार गर्नु हुनेछ । मैले पनि सुन्ने ठाउँमा सुनाउने प्रयास गर्छु ।’

ढकालले आफूलाई नयाँ राजनीतिक विकल्प भन्दै अन्धाधुन्ध विश्वास नगर्न नागरिकहरूलाई स्पष्ट अपिल गरेका छन् । उनले चेतावनीस्वरूप भनेका छन्, ‘सबैलाई प्रश्न नसोध्ने हो भने बालेन, कुलमान र रवि पनि ओली, प्रचण्ड र देउवा हुन धेरै समय कुर्नु पर्दैन ।’ उनका अनुसार प्रश्न नगर्ने संस्कृति र मौन भक्ति नै राजनीतिक विकृतिको मुख्य कारण हो । ‘प्रश्न नसोध्ने र मौन भक्ति गर्ने हो भने देश बन्दैन-चाहे नयाँ हुन् चाहे पुराना । सबै मिलेर जनताको आवाज सुनेर, जवाफदेही भएर मात्रै देश बन्छ,’ ढकालले उल्लेख गरेका छन् ।

 

नयाँ शक्तिहरूलाई एक ठाउँमा ल्याउने तयारीमा छौं : सागर ढकाल

काठमाडौँ । युवा नेता सागर ढकालले नेपालको पुरानो राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने उद्देश्यसहित सबै नयाँ शक्तिहरूलाई एकै ठाउँमा ल्याउने तयारी गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै ढकालले अहिले चिया पसलदेखि राष्ट्रपति कार्यालयसम्म सबैले नयाँ अनुहारहरूलाई मिलाउने चाहना व्यक्त गरिरहेको र यो देशव्यापी चाहनालाई मूर्तरूप दिन आफू सक्रिय रहेको खुलाएका छन् ।

उनले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, गोपी हमाल, कुलमान घिसिङ र जेनजी पुस्तासहित सबैमा सकारात्मक शक्ति देखेको बताएका छन् । उनले हर्कको श्रमदान, बालेनको शिक्षा क्रान्ति र गोपीको फोहोर व्यवस्थापन मोडलजस्ता सफल प्रयासहरूलाई देशव्यापी रूपमा लैजानुपर्नेमा जोड दिएका छन् ।

ढकाल भनेका छन्, ‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन, त्यसैले सबै शक्तिहरू मिल्नु पर्छ र मिलाइनेछ ।’ उनले सबैलाई मिलाउने मोडेलका बारेमा कुरा भइरहेको र योजना बन्दै गरेको जानकारी दिएका छन् । आगामी निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा एउटै चुनाव चिह्नमा ५५ लाख मत कटाउने लक्ष्यसहित काम भइरहेको उनले बताएका छन् ।

‘गएको ७५ वर्षसम्म कुनै सरकारले पूरा कार्यकाल पुरा गरेको छैन । अब यसको अन्त्य गर्नु पर्छ,’ उनले भनेका छन् । उनले अबको ६ महिना ‘म’ नभई ‘हामी हाम्रो देश’ भन्दै मेहनत गर्न आग्रह गरेका छन् । चुनाव जितेमा देशका लागि काम गर्ने वा नजिते पनि आफूले चाहेको व्यक्तिलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाएर आ–आफ्नो काममा फर्किने उनको योजना रहेको छ । उनले देश–विदेशमा रहेका सबैलाई आउँदो ६ महिना सकेको मेहनत गर्न तयार रहन आह्वान गरेका छन् ।