काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीमा त्रुटी भएको बताएका छन् । रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई एक ठाउँमा मिलाउने हतारोमै सूचीमा गल्ती भएको उनको दाबी छ ।
ढकालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई समेट्ने प्रयासमा चुक भएको स्वीकार गर्दै त्यसमा सुधार प्रक्रिया अघि बढिरहेको बताएका हुन् । उनले लेखेका छन्, ‘सम्भवतः अझै सच्याउन मिल्ने अवस्था छ । हामी गल्ती नगर्ने होइन, गल्ती गर्छौं तर थाहा पाएपछि सुधार्छौं भनेर उत्तर दिनुपर्छ । आशा छ– कुलमान, रवि र बालेनले समानुपातिक सूचीमा जनताले उठाएको आवाज सुन्नुहुनेछ र सुधार गर्नु हुनेछ । मैले पनि सुन्ने ठाउँमा सुनाउने प्रयास गर्छु ।’
ढकालले आफूलाई नयाँ राजनीतिक विकल्प भन्दै अन्धाधुन्ध विश्वास नगर्न नागरिकहरूलाई स्पष्ट अपिल गरेका छन् । उनले चेतावनीस्वरूप भनेका छन्, ‘सबैलाई प्रश्न नसोध्ने हो भने बालेन, कुलमान र रवि पनि ओली, प्रचण्ड र देउवा हुन धेरै समय कुर्नु पर्दैन ।’ उनका अनुसार प्रश्न नगर्ने संस्कृति र मौन भक्ति नै राजनीतिक विकृतिको मुख्य कारण हो । ‘प्रश्न नसोध्ने र मौन भक्ति गर्ने हो भने देश बन्दैन-चाहे नयाँ हुन् चाहे पुराना । सबै मिलेर जनताको आवाज सुनेर, जवाफदेही भएर मात्रै देश बन्छ,’ ढकालले उल्लेख गरेका छन् ।

