`

नयाँ शक्तिहरूलाई एक ठाउँमा ल्याउने तयारीमा छौं : सागर ढकाल

Nepal One HD ३ कार्तिक २०८२ १३:५८
प्रमुख खबर

काठमाडौँ । युवा नेता सागर ढकालले नेपालको पुरानो राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने उद्देश्यसहित सबै नयाँ शक्तिहरूलाई एकै ठाउँमा ल्याउने तयारी गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै ढकालले अहिले चिया पसलदेखि राष्ट्रपति कार्यालयसम्म सबैले नयाँ अनुहारहरूलाई मिलाउने चाहना व्यक्त गरिरहेको र यो देशव्यापी चाहनालाई मूर्तरूप दिन आफू सक्रिय रहेको खुलाएका छन् ।

उनले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, गोपी हमाल, कुलमान घिसिङ र जेनजी पुस्तासहित सबैमा सकारात्मक शक्ति देखेको बताएका छन् । उनले हर्कको श्रमदान, बालेनको शिक्षा क्रान्ति र गोपीको फोहोर व्यवस्थापन मोडलजस्ता सफल प्रयासहरूलाई देशव्यापी रूपमा लैजानुपर्नेमा जोड दिएका छन् ।

ढकाल भनेका छन्, ‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन, त्यसैले सबै शक्तिहरू मिल्नु पर्छ र मिलाइनेछ ।’ उनले सबैलाई मिलाउने मोडेलका बारेमा कुरा भइरहेको र योजना बन्दै गरेको जानकारी दिएका छन् । आगामी निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा एउटै चुनाव चिह्नमा ५५ लाख मत कटाउने लक्ष्यसहित काम भइरहेको उनले बताएका छन् ।

‘गएको ७५ वर्षसम्म कुनै सरकारले पूरा कार्यकाल पुरा गरेको छैन । अब यसको अन्त्य गर्नु पर्छ,’ उनले भनेका छन् । उनले अबको ६ महिना ‘म’ नभई ‘हामी हाम्रो देश’ भन्दै मेहनत गर्न आग्रह गरेका छन् । चुनाव जितेमा देशका लागि काम गर्ने वा नजिते पनि आफूले चाहेको व्यक्तिलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाएर आ–आफ्नो काममा फर्किने उनको योजना रहेको छ । उनले देश–विदेशमा रहेका सबैलाई आउँदो ६ महिना सकेको मेहनत गर्न तयार रहन आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *