`

सर्वोदय–उज्यालो नेपालबीच चुनावी मोर्चा, ‘बलेको चिम’ चुनाव चिन्ह

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएर दीपक साहले गठन गरेको सर्वोदय पार्टी कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग चुनावी एकतामा जोडिएको छ । दुवै पार्टीबीच तीन बुँदे सहमति गर्दै आगामी निर्वाचनमा संयुक्त रूपमा प्रतिष्पर्धा गर्ने घोषणा गरिएको हो ।

बुधबार काठमाडौंको इन्द्रेणी बैंक्वेटमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपककुमार साहले चुनावी एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार प्रतिनिधि सभा निर्वाचनमा उज्यालो नेपाल पार्टीको दर्ता, संगठन संरचना र चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्दै संयुक्त उम्मेदवारी दिइनेछ । सम्झौतामा दुवै पार्टीले साझा घोषणापत्र तयार गर्ने, प्रचार–प्रसारदेखि चुनावी अभियानसम्म सबै गतिविधि संयुक्त रूपमा सञ्चालन गर्ने उल्लेख छ ।

सहकार्यको क्रममा कुनै विवाद उत्पन्न भएमा दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकमार्फत समाधान गर्ने व्यवस्था पनि गरिएको छ । दुवै दलले पछिल्लो समय जनतामा बढ्दो सुशासन, दिगो विकास, सामाजिक न्याय तथा इमानदार र जनउत्तरदायी नेतृत्वको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । लोकतन्त्र, संघीयता, समावेशीता र समानताको संरक्षण गर्दै देश र मधेसको समग्र विकास तथा दिगो समृद्धिलाई चुनावी एकताको मुख्य सन्देशका रूपमा अघि बढाइने नेताहरूले बताएका छन् । सर्वोदय र उज्यालो नेपालको यो एकतालाई नयाँ राजनीतिक शक्तिहरूबीचको सहकार्यको ढोका खोल्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

 

सीके राउत भन्छन्, ‘मौका यही हो, मधेशलाई स्वायत्त घोषणा गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त (सीके) राउतले मधेश प्रदेशसभाको बैठकबाट मधेशलाई स्वायत्त घोषणा गर्ने गैरसंवैधानिक माग अघि सारेका छन् । एमालेका सरोजकुमार यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गरेपछि असन्तुष्ट राउतले सामाजिक सञ्जालमार्फत मधेशलाई ‘स्वायत्त घोषणा’ को माग अघि सारेका हुन् । उनले मधेशको आफ्नै प्रहरी, प्रशासन र सरकार गठनको माग समेत गरेका छन् ।

‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ,’ राउतले लेखेका छन्, ‘अब डराएर सदियौंसम्म नेपाली शासकको गुलामी गर्नु हुँदैन, सडकमै बैठक गरेर भए पनि मधेशलाई स्वायत्त घोषणा गरौं । नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने यही सही मौका हो ।’ राउतको यो वक्तव्यले फेरि पनि विगतको ‘स्वतन्त्र मधेश अभियान’ को छायाँ फर्किएको संकेत दिएको छ । उनले एक पटक यही आन्दोलनका अगुवा भएर मधेशलाई छुट्टै राज्य बनाउन नारा दिएका थिए । पछि त्यो अभियान परित्याग गर्दै उनी मुलधारको राजनीतिमा प्रवेश गरेका थिए । तर पछिल्ला अभिव्यक्तिहरूले उनी अझै विभाजनकारी सोचबाट पूर्णरूपमा अलग हुन सकेका छैनन् भन्ने संकेत गर्छन् ।

उनका अनुसार, मधेश प्रदेशसभाको दुई तिहाइ सांसदको समर्थनमा ‘स्वायत्त घोषणा’ गर्न मिल्छ । उनले तर्क गरेका छन्, ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको मागबमोजिम बनेको सरकार हो । त्यसैले मधेशी जनताको चाहनाअनुसार प्रदेशसभाको दुई तिहाइ समर्थनमा स्वायत्त घोषणा गर्न पक्कै मिल्छ ।’

राउतले सिंहदरबारमाथि तीव्र आक्रोश प्रकट गर्दै भनेका छन्, ‘५४ प्रतिशत जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन । सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, प्रहरी र सचिवले मधेशमाथि दमन गरिरहेकाले पूर्ण स्वायत्तताको आन्दोलनको घोषणा आवश्यक छ ।’ यसअघि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उपचारका नाममा काठमाडौं हिँडेर बर्दिबासस्थित होटलमा पुगेर एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । सो निर्णयले मधेशको राजनीतिक वातावरण तातिएको छ । यही प्रसङ्गलाई जोड्दै राउतले ‘संविधानलाई धज्जी उडाउनेहरूविरुद्ध सडकमा स्वायत्तताको घोषणा’ गर्नुपर्ने बताएका हुन् ।

राजनीतिक विश्लेषकहरूले राउतको यो अभिव्यक्तिलाई राजनीतिक असन्तुष्टिको आवरणमा पुनः बिखण्डनको आगो सल्काउने प्रयासको रूपमा लिएका छन् । उनीहरूको भनाइमा, प्रदेशको असन्तुलन र केन्द्रप्रतिको असन्तुष्टिलाई उनले ‘औपनिवेशिक शासन’ जस्ता शब्द प्रयोग गरी भावनात्मक रूपमा भड्काउने रणनीति अपनाइरहेका छन् । राउतका ताजा भनाइले मधेशको राजनीति फेरि एक पटक तताएको छ । एकातिर एमालेले सरकार बनाएको सन्दर्भमा सत्ताको समीकरण बलियो देखिँदैछ भने अर्कोतिर सीके राउतले ‘स्वायत्तताको आन्दोलन’ को हुंकार दिएर मधेशको राजनीतिक स्थायित्वमा नयाँ तरंग ल्याएका छन् ।

 

 

 

सीके राउतको जनमत फुटेर बन्यो ‘जस्वपा’, आयोगले दियो मान्यता

काठमाडौं । चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी फुटाएको समूहले नयाँ दलको मान्यता पाएको छ । आज (मंगलबार) निर्वाचन आयोगले जनस्वराज पार्टी (जस्वपा) लाई मान्यता दिएको हो । जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) गठन गरेका हुन् । पार्टीको अध्यक्षमा दीपककुमार साह छन् ।

साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै साउन २२ गते साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए । तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् । यस्तै जस्वपाको ३ सचिवमा हेमलता देवी, सुनिल कुमार यादव र सञ्जय प्रसाद यादव रहेका छन् ।जनस्वराजको झण्डा निलो, सेतो र रातो रङको ठाडो धर्का (स्ट्रीप) रहने आयोगले जनाएको छ ।

जनस्वराज पार्टी दर्ताको पत्र

जनमतका ६ केन्द्रीय नेताले त्यागे पार्टी

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताहरुले पार्टी त्यागेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार (आज) साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले पार्टीबाट राजीनामा दिएका हुन् । पार्टी अध्यक्षलाई राजीनामा दिन अल्टिमेटम दिएपछि राउतले सामाजिक सञ्जालमा पार्टी छोड्न उपयुक्त समय भएको बताएका थिए । राजीनामा दिएका प्रवक्ता डा.शरदसिंह यादवले भने, ‘हामी पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं । उहाँलाई सजिलो होस् भनेर पार्टी छोड्यौं ।’