`

सर्वोदय–उज्यालो नेपालबीच चुनावी मोर्चा, ‘बलेको चिम’ चुनाव चिन्ह

Nepal One HD ९ पुष २०८२ १५:२७
प्रमुख खबर

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएर दीपक साहले गठन गरेको सर्वोदय पार्टी कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग चुनावी एकतामा जोडिएको छ । दुवै पार्टीबीच तीन बुँदे सहमति गर्दै आगामी निर्वाचनमा संयुक्त रूपमा प्रतिष्पर्धा गर्ने घोषणा गरिएको हो ।

बुधबार काठमाडौंको इन्द्रेणी बैंक्वेटमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपककुमार साहले चुनावी एकतासम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार प्रतिनिधि सभा निर्वाचनमा उज्यालो नेपाल पार्टीको दर्ता, संगठन संरचना र चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्दै संयुक्त उम्मेदवारी दिइनेछ । सम्झौतामा दुवै पार्टीले साझा घोषणापत्र तयार गर्ने, प्रचार–प्रसारदेखि चुनावी अभियानसम्म सबै गतिविधि संयुक्त रूपमा सञ्चालन गर्ने उल्लेख छ ।

सहकार्यको क्रममा कुनै विवाद उत्पन्न भएमा दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकमार्फत समाधान गर्ने व्यवस्था पनि गरिएको छ । दुवै दलले पछिल्लो समय जनतामा बढ्दो सुशासन, दिगो विकास, सामाजिक न्याय तथा इमानदार र जनउत्तरदायी नेतृत्वको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । लोकतन्त्र, संघीयता, समावेशीता र समानताको संरक्षण गर्दै देश र मधेसको समग्र विकास तथा दिगो समृद्धिलाई चुनावी एकताको मुख्य सन्देशका रूपमा अघि बढाइने नेताहरूले बताएका छन् । सर्वोदय र उज्यालो नेपालको यो एकतालाई नयाँ राजनीतिक शक्तिहरूबीचको सहकार्यको ढोका खोल्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *