`

‘मुलुकको अर्थतन्त्र सुदृढ बनाउन तालिम र सीपलाई आयसँग जोड्न आवश्यक’

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् । बुधवार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नागरिकको सीपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने उनको भनाइ छ ।

उनले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरु आयोजना गरिरहनु जरुरी रहेको पनि बताइन् । उनले सबै प्रकारका तालिम उत्पादन, रोजगारी र व्यक्तिको आयसँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘जबसम्म हामी आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्दैनौँ तबसम्म हामीले लगाउने सशक्तिकरणका नाराहरु पूरा हुन सक्दैनन् । त्यसको लागि सबैलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनको लागि र आफूसँग भएको सीपलाई आयसँगको जोड्नका लागि यो मेला अत्यन्तै महत्वपूर्ण छ । हामीले यस कार्यक्रमका लागि उद्योग वाणिज्य संघ काठमाडौंसँग सहकार्य गरेका छौँ । विभिन्न समयमा विभिन्न ठाउँहरुमा हामी तालिम त दिन्छौँ ।’

उनले भनिन्, ‘तर ती तालिमहरु तालिममा मात्र सीमित हुनु हुँदैन । सबै प्रकारका तालिमहरु उत्पादनसँग जोडिनु पर्छ । व्यक्तिको आयसँग पनि जोडिनु पर्छ जसले देशको अर्थतन्त्र सुधार गर्न सहयोग पुर्‍याओस् । हाम्रो उद्देश्य पनि यही रहेको छ ।’

सीपमा आधारित उत्पादनमार्फत नागरिकको आय वृद्धि र मुलुुकको समग्र अर्थतन्त्र सुदृढीकरण गर्नु महानगरको उद्देश्य रहेको बताइन् । करिब २०० अत्याधुनिक र व्यवस्थित व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिने बताइएको छ ।

महोत्सवको १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यवसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको छ ।

उपमेयर डंगोलकाे नाममा ‘फेक अकाउण्ट’, क्यूआर पठाएर पैसा मागिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्वीर दुरुपयोग गर्दै नक्कली ह्वाट्सएप खाता (फेक अकाउण्ट) बनाएर ठगी गरेको खुलेको छ । डंगोलले सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त खाता र नम्बर आफ्नो नभएको स्पष्ट पार्दै सर्वसाधारणलाई सचेत गराएकी छन् । उनका अनुसार स्क्यामरले आफूलाई अप्ठ्यारो परेको भन्दै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको छ ।

उनले यसबारे नेपाल प्रहरी र सम्बन्धित दूरसञ्चार निकायलाई जानकारी गराइसकेको र कानुनी प्रक्रिया अघि बढाइसकेको बताइन् । साथै, कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न र यस्ता सन्देशमा प्रतिक्रिया नदिन अनुरोध गरेकी छन् । डंगोलले लेखेकी छन्, ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन। कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया नदिनुहोस् ।’

 

जनतासँग गरिएका प्रतिवद्धताहरु पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग वाचा गरिएका कुराहरु पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताएकी छन् । १४ औं काठमाडौं महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामूहिक रुपमा सल्लाह गरेर मात्रै अघि बढाउने कुराहरु गरेर मात्रै भन्न आफूलाई उचित लाग्ने समेत बताइन् ।

उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेको भन्दै प्रशंसा गरिन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य विमामा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन समेत दिइन् ।

उपमेयर डंगोलले भनिन्, ‘कति कामहरु गरेर भन्नु अझ राम्रो हुन्छ होला । आफनै हातमा सबै कुराहरु भई दिएको भए त गरिएका वाचाहरु पूरा गर्न सजिलो पनि हुन्थ्यो । कतिपय एकल अधिकारमा नपर्ने कुराहरु पनि हुनाले त्यसलाई सम्पादन गर्न सामूहिक रुपमा सरसल्लाह गर्नुपर्ने हुन्छ । चाहे त्यो कार्यपालिकामा होस्, चाहे त्यो नगरसभामा होस । सबैको सहमतीमा अघि बढनुपर्ने हुन्छ । त्यसले आज वाचा गरेर भोली पूरा गर्न सकिँदैन कि भन्ने डर पनि हुन्छ । वाचाअनुसार काम गरेको खै त भनेर सोध्नुहुन्छ भन्ने कुरा पनि थाहा छ । हामीहरुले क्रमशः काम गर्दै गईरहेका छौ । यहाँको सेवा, सुविधाका कुरा छन । स्वास्थ्य बीमाको कुरा उठाउनु भएको छ । त्यो सल्लाह गरेर पूरा गर्छौं ।’ त्यस अवसरमा उपमेयर डंगोलले प्रतिवद्धताअनुसार काम गर्दै लैजाने समेत बताइन् ।