`

उपमेयर डंगोलकाे नाममा ‘फेक अकाउण्ट’, क्यूआर पठाएर पैसा मागिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्वीर दुरुपयोग गर्दै नक्कली ह्वाट्सएप खाता (फेक अकाउण्ट) बनाएर ठगी गरेको खुलेको छ । डंगोलले सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त खाता र नम्बर आफ्नो नभएको स्पष्ट पार्दै सर्वसाधारणलाई सचेत गराएकी छन् । उनका अनुसार स्क्यामरले आफूलाई अप्ठ्यारो परेको भन्दै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको छ ।

उनले यसबारे नेपाल प्रहरी र सम्बन्धित दूरसञ्चार निकायलाई जानकारी गराइसकेको र कानुनी प्रक्रिया अघि बढाइसकेको बताइन् । साथै, कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न र यस्ता सन्देशमा प्रतिक्रिया नदिन अनुरोध गरेकी छन् । डंगोलले लेखेकी छन्, ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । यो म होइन र यो मेरो नम्बर पनि होइन। कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया नदिनुहोस् ।’

 

जनतासँग गरिएका प्रतिवद्धताहरु पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग वाचा गरिएका कुराहरु पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताएकी छन् । १४ औं काठमाडौं महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामूहिक रुपमा सल्लाह गरेर मात्रै अघि बढाउने कुराहरु गरेर मात्रै भन्न आफूलाई उचित लाग्ने समेत बताइन् ।

उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेको भन्दै प्रशंसा गरिन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य विमामा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन समेत दिइन् ।

उपमेयर डंगोलले भनिन्, ‘कति कामहरु गरेर भन्नु अझ राम्रो हुन्छ होला । आफनै हातमा सबै कुराहरु भई दिएको भए त गरिएका वाचाहरु पूरा गर्न सजिलो पनि हुन्थ्यो । कतिपय एकल अधिकारमा नपर्ने कुराहरु पनि हुनाले त्यसलाई सम्पादन गर्न सामूहिक रुपमा सरसल्लाह गर्नुपर्ने हुन्छ । चाहे त्यो कार्यपालिकामा होस्, चाहे त्यो नगरसभामा होस । सबैको सहमतीमा अघि बढनुपर्ने हुन्छ । त्यसले आज वाचा गरेर भोली पूरा गर्न सकिँदैन कि भन्ने डर पनि हुन्छ । वाचाअनुसार काम गरेको खै त भनेर सोध्नुहुन्छ भन्ने कुरा पनि थाहा छ । हामीहरुले क्रमशः काम गर्दै गईरहेका छौ । यहाँको सेवा, सुविधाका कुरा छन । स्वास्थ्य बीमाको कुरा उठाउनु भएको छ । त्यो सल्लाह गरेर पूरा गर्छौं ।’ त्यस अवसरमा उपमेयर डंगोलले प्रतिवद्धताअनुसार काम गर्दै लैजाने समेत बताइन् ।