जनतासँग गरिएका प्रतिवद्धताहरु पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्छ : सुनिता डंगोल
काठमाडौं । काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग वाचा गरिएका कुराहरु पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताएकी छन् । १४ औं काठमाडौं महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामूहिक रुपमा सल्लाह गरेर मात्रै अघि बढाउने कुराहरु गरेर मात्रै भन्न आफूलाई उचित लाग्ने समेत बताइन् ।
उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुले जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिइरहेको भन्दै प्रशंसा गरिन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य विमामा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने आश्वासन समेत दिइन् ।
उपमेयर डंगोलले भनिन्, ‘कति कामहरु गरेर भन्नु अझ राम्रो हुन्छ होला । आफनै हातमा सबै कुराहरु भई दिएको भए त गरिएका वाचाहरु पूरा गर्न सजिलो पनि हुन्थ्यो । कतिपय एकल अधिकारमा नपर्ने कुराहरु पनि हुनाले त्यसलाई सम्पादन गर्न सामूहिक रुपमा सरसल्लाह गर्नुपर्ने हुन्छ । चाहे त्यो कार्यपालिकामा होस्, चाहे त्यो नगरसभामा होस । सबैको सहमतीमा अघि बढनुपर्ने हुन्छ । त्यसले आज वाचा गरेर भोली पूरा गर्न सकिँदैन कि भन्ने डर पनि हुन्छ । वाचाअनुसार काम गरेको खै त भनेर सोध्नुहुन्छ भन्ने कुरा पनि थाहा छ । हामीहरुले क्रमशः काम गर्दै गईरहेका छौ । यहाँको सेवा, सुविधाका कुरा छन । स्वास्थ्य बीमाको कुरा उठाउनु भएको छ । त्यो सल्लाह गरेर पूरा गर्छौं ।’ त्यस अवसरमा उपमेयर डंगोलले प्रतिवद्धताअनुसार काम गर्दै लैजाने समेत बताइन् ।
