`

उपरथी भण्डारीलाई दर्ज्यानी चिह्न

काठमाडौं । मन्त्रिपरिषद्को यही मंसिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

सेनाका सात जनालाई दर्ज्यानी चिन्ह

काठमाडौं । प्रधान सेनापतिले नेलाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका दुई जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी हिम्मतबहादुर बिष्ट र सहायक रथी विष्णुकुमार खड्कालाई सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका पाँच प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

सेनाको सुरक्षामा सुशीला कार्की र दुर्गा प्रसाईलाई जङ्गीअड्डा लगियो

काठमाडौं । नयाँ सरकार गठनका लागि समन्वय गरिरहेको नेपाली सेनाले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुरक्षासहित जङ्गीअड्डा लगेको छ ।

अन्तरिम सरकार गठनको विषयमा छलफलका लागि कार्की र प्रसाईलाई जङ्गीअड्डा लगिएको सुरक्षा स्रोतले जनाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई नयाँ सरकारको नेतृत्वका लागि समर्थन गर्ने बताएका थिए ।

बालेनको उक्त निर्णयमा जेन–जी पनि सहमत भएपछि आज सेनाको समन्वयमा नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल हुँदैछ । प्रसाईंसँग प्रधानसेनापति अशोकराज सिग्देलले हिजो पनि वार्ता गरेका थिए । यता पूर्व प्रधानन्यायाधीश कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने भन्दै आज जङ्गीअड्डा बाहिर विरोध भएको छ ।

प्रदर्शनरत युवा र सेनाबीच वार्ताको पहल हुँदै

काठमाडौं । प्रदर्शनरत युवा आन्दोलनकारी र नेपाली सेनाबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुँदैछ ।मंगलबार राति प्रदर्शनरत युवा प्रतिनिधिहरू र प्रधानसेनापति अशोकराज सिग्देलबीच अनौपचारिक छलफल भएको थियो ।

वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रदर्शनरत युवाले राजनीतिक दलहरूलाई सत्ताबाट हटाएर नागरिक सरकारको माग गर्दै आएका छन् ।

काठमाडौंका मेयर बालेन शाहले संसद विघटनको शर्तमा वार्तालाई समर्थन गरेका छन् । सेनाले संयमित रहन र संवादमा आउन प्रदर्शनरत युवालाई आह्वान गरेको छ । नेपाली सेनाले समस्या समाधानका लागि सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ ।

आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्न सेनाले जारी कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म रहने बताएको छ । त्यसपछि परिस्थितिअनुसार निर्णय लिइने जङ्गी अड्डाको भनाइ छ ।

तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण गर्नेलाई कडा कारबाही हुने चेतावनी पनि दिइएको छ । सामाजिक सञ्जालमा जथाभावी सामग्री नफैलाउन आग्रह गर्दै सेनाले अवकाश प्राप्त सैनिक,सुरक्षाकर्मी,राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई आधिकारिक सूचना मात्रमा विश्वास गर्न अनुरोध गरेको छ ।