`

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा, को कहाँ खटिए ?

काठमाडौं । नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा भएका छन् । पाइलट सहायक रथी रामसुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक (इन्जिनियर) सहायक रथी धर्मेन्द्रकुमार झा उपरथीमा बढुवा भएका हुन् । उपरथीमा बढुवा भएका सहायक रथी भुवन खत्रीले स्टाफ कलेज शिवपुरीको जिम्मेवारी पाएका छन् । यसअघि ६ उपरथी सरुवा हुँदा स्टाफ कलेज रिक्त थियो ।

उपरथीमा बढुवा भएका तीनै जनालाई शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उनीहरुलाई पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो । यस्तै महासेनानी विजितराज रेग्मी पनि सहायक रथीमा बढुवा भएका छन् । पहिल्यै बढुवा भएका रेग्मीले दर्ज्यानी चिन्ह लगाउन बाँकी थियो । ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन् । उनीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

‘सेनामा यदि राजनीतिक महत्वकांक्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौं र ?’

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ ।

तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।’

सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै लेखमा भनिएको छ, ‘सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ ।’ सेनामा राजनीतिक महत्वकांक्षा पटक्कै नभएको उल्लेख गर्दै भनिएको छ, ‘तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वकांक्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र ?’ विद्यमान अवस्थालाई मूल्याङ्कन गरी सुरक्षा निकायलाई मजबुत बनाउनु राष्ट्रको हितमा भएको उल्लेख गर्दै भनिएको छ, ‘परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ’, लेखको पूर्ण विवरण यस प्रकार छ :-

भदौ २३–२४ गतेपश्चातको परिस्थिति : नेपाली सेनाको भूमिका

गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन र सोपश्चात् विकसित घटनाक्रममा सेनाको भूमिका र राष्ट्रिय सुरक्षाको सम्बन्धमा विभिन्न पक्षबाट बहस भएको देखिन्छ । लोकतन्त्रमा समालोचना अपरिहार्य हुन्छ । नेपाली सेनालगायत राज्यका संरचनाहरूको समालोचना, प्रशंसा तथा खबरदारी गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार हो । यसबाट उक्त निकायहरूलाई आआफ्नो जिम्मेवारी थप प्रभावकारी ढङ्गबाट निर्वाह गर्न सहयोगीसिद्ध हुने नै छ । तत्कालीन संकटको परिस्थितिमा भएको घटना सम्बन्धमा तीन महिनापछिसम्म पनि बहस कायम रहनु तथा विविध कोणहरूबाट विश्लेषण हुनु सुरक्षा सचेतनाको परिप्रेक्षमा सकारात्मक नै हो । नेपाली सेनाको भूमिकामा विभिन्न दृष्टिकोणबाट टिकाटिप्पणी तथा प्रश्नहरू आए । देशमा आइपरेको अकल्पनीय संकटको अवस्थालाई पार लगाउने क्रममा राज्यको प्रमुख सुरक्षा अङ्गले खेलेको भूमिकाको सम्बन्धमा भएका टिकाटिप्पणी बारेमा यहाँ थप स्पष्ट पारिएको छ ।

संवैधानिक दायरा र नागरिक सर्वोच्चता

नेपालको संविधानले नेपाली सेनालाई पूर्णतः नागरिक सर्वोच्चता र निर्वाचित सरकारको अधिनमा राखेको छ । सेनाको परिचालन, भूमिका र सीमा स्पष्ट छन् । कार्यपालिकाको निर्णयबिना सेना आन्तरिक सुरक्षामा स्वतः प्रवेश गर्न सक्दैन । यही संवैधानिक मर्यादाले नेपाली सेनालाई आज पनि देशकै सबैभन्दा विश्वसनीय संस्था बनाएको हो । यो नेपाली सेनाको संविधान र लोकतान्त्रिक शासन प्रणालीप्रतिको सम्मान पनि हो । यदि सेनाले कार्यपालिकाको स्पष्ट आदेशबिना हस्तक्षेप गरेको भए र २४ गते थप नागरिकको मृत्यु भएको भए परिस्थिति सम्हालिन कठिन त हुने नै थियो । बिनाआदेश आफै परिचालन भयो भनी त्यसको दोष पनि सेनामाथि नै पर्ने थियो ।

गत भदौ २४ मा तत्कालीन अवस्थाले उच्च जोखिममा परेका विशिष्ट व्यक्तिहरू, कूटनीतिज्ञ तथा सर्वसाधारणको जीवन रक्षा नेपाली सेनाको पहिलो दायित्व बन्यो । जीवन रक्षा कुनै व्यक्ति विशेषको संरक्षण होइन, यो राज्यको आधारभूत कर्तव्य हो । भदौ २४ मा अवस्था अझ व्यापक र अराजक बन्दा जीवन जोगाउने प्राथमिकतासहित संयमित रुपमा उपस्थित भयो सेना । उक्त दिन कुनै अकल्पनीय घटना भएको भए त्यसले निम्त्याउने थप द्वन्द्व र अस्थिरतातर्फ पनि गहिरिएर विचार पु¥याउनु पर्दछ । भौतिक पूर्वाधार महत्वपूर्ण भए पनि जीवनभन्दा माथि कदापि हुँदैन । मानवीय क्षतिको मूल्यमा भौतिक संरचना जोगाएको भए पनि फेरि प्रश्न उठ्ने पक्का थियो कि, सेनाले सिंहदरबार जोगाउन जनतालाई किन गोली हान्यो ? सर्वसाधारण व्यक्तिहरूले पनि कठिन परिस्थितिमा सेनाले तत्काल सहयोग र उद्धार गरेको अनुभव सार्वजनिक गरेकै छन् । नेपाली जनताको जीवन रक्षालाई नै पहिलो प्राथमिकता दिएको थियो । भूकम्प जस्तो विपद्का समयमा मानिस घर÷सम्पत्ति छोडेर किन खुला ठाउँमा निस्कन्छन् ? यो पनि विचारणीय छ ।

विश्वसनीयताको मेरुदण्ड, नागरिक सरकारको आदेशमा आधारित कार्यप्रणाली

आन्तरिक दङ्गा नियन्त्रणमा प्रहरी र सशस्त्र प्रहरी बल नेपाल अग्रपङ्क्तिमा रहने संवैधानिक व्यवस्था छ । सेना अन्तिम उपायका रूपमा रहन्छ । यही विभाजनले लोकतन्त्रलाई सुरक्षित राख्छ । सोहीअनुसार आवश्यकताको सिद्धान्तले छिटोभन्दा छिटो पहलता लिई सेनाले उद्धार, मानवीय सहायता र संवेदनशील स्थानको संरक्षणमा संयमित भूमिका खेलेकै थियो । अप्रत्याशित रूपमा विकसित घटनाक्रममा सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद नेपाली सेनाले सङ्कटको व्यवस्थापन गरेको कुरामा पर्याप्त सार्वजनिक बहस भएकै छन् ।

संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरु आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकांक्षा देखाएको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै हो, जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । अन्ततः निर्णयको अधिकार कार्यपालिका र सम्माननीय राष्ट्रपतिको नै रह्यो र सेनाले त्यसलाई सम्मान ग¥यो । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।

पृथ्वीनारायण शाहको तस्बिर : राष्ट्रिय एकताको प्रतीक

भदौ २४ गते सेना प्रमुखको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर देखिनुलाई विभिन्न ढङ्गबाट आलोचना गरेको देखिन्छ । पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक हुन् भन्नेमा कोही पनि सच्चा नेपाली जनताको दुईमत नहोला । राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि रहेको नेपालको ऐतिहासिक पहिचान हुन् । संकटको क्षणमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराउनु कुनै राजनीतिक सन्देश होइन, राष्ट्रिय चेतनाको आह्वान हो । त्यस सन्दर्भमा सेनाको नेतृत्वले एकताको सन्देश दिने प्रयास गर्नु सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम गर्नु पर्दछ भन्ने सन्देश थियो ।

सेनाको विश्वसनीयता र प्रतिबद्धता

इतिहासतर्फ फर्केर हेर्दा आजको दिनसम्म नेपाली सेनाले कहिल्यै सत्ता हस्तक्षेप गरेको छैन । बरु, संवैधानिक संक्रमणको समयमा संयम र अनुशासित भई नागरिक सर्वोच्चताको पक्षमा उभिएको छ । इतिहासकालदेखि हालसम्म नेपालमा भएका परिवर्तनहरूलाई सेनाले आत्मसाथ गर्दै आएको छ। संयुक्त राष्ट्र सङ्घका शान्ति मिसनहरूमा निरन्तर सहभागी हुँदै फौज खटाउने राष्ट्रहरुको सूचीमा अग्रस्थानमा रहेको नेपाली सेनाले आफ्नो व्यावसायिकता, मानवअधिकारप्रतिको प्रतिबद्धता र अन्तरराष्ट्रिय विश्वसनीयता प्रमाणित गरेको छ । सेनामा राजनैतिक महत्वाकांक्षा पटक्कै देखिँदैन । तत्कालीन राजनैतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वाकांक्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र ?

वर्तमान राष्ट्रिय सुरक्षा र आगामी निर्वाचन

आज देश निर्वाचनको दिशामा अघि बढिरहेको छ । यस्तो समयमा संस्थागत धैर्य, सुरक्षा संयन्त्रबीच स्पष्ट कार्यविभाजन र सबै निकायका नेतृत्वहरुको जिम्मेवारी महत्वपूर्ण रहेको छ । सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य सरोकारवाला निकायहरुसँग समन्वय गर्दै संवैधानिक आदेशअनुसार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । नजिकिँदै गएको निर्वाचनलाई भयरहित ढङ्गबाट सुसम्पन्न गर्न आम जनसमुदायसहित सबै एकजुट हुनु पर्दछ ।

अन्त्यमा, गत भदौ २३–२४ गतेको जटिल परिस्थितिमा सेनालगायत सबै सुरक्षा निकायको भूमिकाको सन्दर्भमा नागरिक वृत्तमा सकारात्मक छलफल तथा बहस गरी सुझाव दिनुलाई राम्रै मान्नुपर्छ । सोहीअनुसार सेनाले आन्तरिक रूपमा उक्त कार्य गरेकै छ । यद्यपि परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ । सङ्कटको समयमा राष्ट्रिय सुरक्षाका अङ्गहरूबीच थप आपसी समन्वय, सद्भाव र सहकार्य हुनु जरुरी छ । उक्त घटनाक्रममा सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको छ । तत्कालीन परिस्थितिमा न त हस्तक्षेप गरेको छ, न कुनै राजनीतिक महत्वाकांक्षा राखेको छ । जीवन रक्षालाई सधैँ प्राथमिकतामा राख्यो, संयमता अपनायो र अन्ततः निकास प्रक्रियाबाटै खोजियो । सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ । (स्रोतः जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा)

सेनामा ३८८ जनालाई खुल्यो रोजगारी

काठमाडौं । नेपाली सेनामा ३८८ जनाको लागि रोजगारी खुलेको छ । नेपाली सेनाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो । सेनामा रिक्त रहेका प्राविधिक-हवाई-विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ ।

खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ । प्रा.सुको ४ हजार, प्रा.जम. र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्रा.अम. र अमल्दार कर्मचारीको २ हार दशतुर शुल्क रहेको छ । मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको (जन्म मिति २०५७-०९-२६ गते देखि मिति २०६४-०९-२६ गतेसम्म) हुनुपर्ने पर्ने सेनाले जनाएको छ ।

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ । जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन खुलाएको हो । सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि जंगी अड्डाले दरखास्त आह्वान गरेको हो ।

उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि १०० जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २०० जना लगायत विभिन्न गणहरूमा विभिन्न संख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको हो ।

सबैभन्दा बढी सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जना मागेको छ । त्यस्तै विभिन्न संख्यामा ब.का.सि, सफाइकर्मी, लोहाकार , केशकर्तक, सूचिकार र चर्मकर्मी पनि मागेको छ ।

सैन्य पदका लागि शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । एसईई वा सोभन्दा माथिका शैक्षिक योग्ताको प्रमाणपत्र पेस गर्नेहरूले भने कक्षा ८ को प्रमाणपत्र बुझाउनु पर्ने छैन । लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रमाणपत्र भएकाहरुको हकमा कक्षा ८ मा न्यूनतम जिपिए २ ल्याएको हुनुपर्ने र कुनै पनि विषयमा डि प्लस भन्दा कम हुन नहुने योग्यता तोकिएको छ ।

एसइई वा सोभन्दा माथिकै शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेको हकमा न्यूनतम जिपिए १.६ अनिवार्य भनिएको छ । विभिन्न ट्रेडका फलोअर्स पदका लागि भने साधारण लेखपढ गर्न सक्नेले पनि दरखास्त दिन सक्ने छन् । इच्छुक एवम् योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक २८ देखि मंसिर २७ गतेसम्म दरखास्त दिन सक्ने छन् । दोब्बर दस्तुर बुझाएर मंसिर २८ देखि पुस ५ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

दरखास्त दस्तुर खुलातर्फ १५० र समावेशीतर्फ थप २० प्रतिशत शुल्क बुझाउनु पर्नेछ । ट्रेड फलोअर्सका लागि १ सय रूपैयाँ तोकिएको छ । दरखास्त दिनका लागि सेनाले विभिन्न भर्ना छनौट कार्यालय तोकेको छ । ती कार्यालयमा आफै उपस्थित हुनुपर्नेछ ।

हेर्नुस् विज्ञापन

सेनाको उपरथीमा विष्णुकुमार खड्का बढुवा

काठमाडौं । नेपाली सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथीमा बढुवा भएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले रिक्त उपरथी पदमा खड्कालाई बढुवा गर्ने निर्णय गरेको हो । विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत खड्काको बढुवासँगै जिम्मेवारी हेरफेर हुनेछ । गणेशकुमार श्रेष्ठ रथीमा बढुवा भएपछि एक जना उपरथीको पद रिक्त भएको थियो । त्यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा अवकाश भएका थिए ।

 

नेपाली सेनाबाट बर्खास्त शाही जेनजी आन्दोलनमा तोडफोड र आगजनीको ‘नाइके’

काठमाडौं । गत भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्न एक जना व्यक्ति नेपाली सेनाबाट बर्खास्तीमा परेको खुलेको छ । काठमाडौं प्रहरीले बानेश्वरको ग्लोबल कलेज र प्रहरी वृत्त गौशालामा तोडफोड गर्ने एक जनालाई सोमबार पक्राउ गरेको छ । त्यसमा संलग्न एक जना पूर्व सैनिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका घर भई टोखाको धापासी बस्ने २७ वर्षीय भुवन शाही रहेको उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनीबाट एउटा मोटरसाइकल, कलेजको ट्रफी कप, गणेशको मूर्ति, डिएसएलआर क्यामरा बरामद भएको छ । शाही २०७४ सालमा नेपाली सेनामा भर्ना भएका थिए । उनले नक्कली चालक अनुमति पत्र पेस गरी सेवामा प्रवेश गरेको खुलेपछि नेपाली सेनाले २०७५ सालमा बर्खास्त गरेको थियो ।

हेलिकप्टरमै जन्मिएका शिशुको अस्पताल नपुर्‍याउँदै मृत्यु

सुर्खेत । कालिकोटकी एक महिलाले हेलिकप्टरमै शिशुको जन्म दिएकी छिन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी तिलागुफा नगरपालिका–९ चिलखायाकी अविशा खत्रीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै बच्चा जन्मिएको थियो । प्रदेश अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाले एयरपोर्टबाट अस्पतालको एम्बुलेन्समा अस्पताल ल्याउँदै गर्दा बाटोमै शिशुको मृत्यु भइसकेको जानकारी दिइन् ।

सोमबार बिहान उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल कालागाउँमा पुर्‍याइएको थियो । चिलखाया स्वास्थ्य संस्थाकी अनमी तुलसी थापाले खत्रीको अवस्था चिन्ताजनक भएकाले प्रदेश अस्पताल रेफर गरेको बताइन् । ‘उपचारका लागि एक सातादेखि स्वास्थ्य संस्था धाइरहनु भएको थियो । पहिलो बच्चा पनि ७ महिनामा जन्मिएर ५ दिनसम्म मात्र बाँच्यो’, उनले भनिन्, ‘यसपालि पनि ७ महिनामै व्यथा लागेकाले हामीले सुविधा सम्पन्न अस्पतालमा पठाएको हौं ।’

जेनजी आन्दोलनमा सेनाद्वारा भीआईपीसहित २१३ जनाको उद्धार

काठमाडौं । नेपाली सेनाले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ६१ जना भीआईपी तथा तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरेको जनाएको छ । त्यस्तै २३ प्रहरीको पनि सेनाले हेलिकप्टरबाटै उद्धार गरेको जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ । सेनाले दिएको विवरण अनुसार जेनजी आन्दोलनका क्रममाा ६८८ सरकारी कार्यालय,२५९ जनाका निजी निवास,१२८ व्यापारिक प्रतिष्ठन र राजनीतिक दलका १९८ वटा कार्यालय आगजनी र तोडफोड भएका थिए ।

नेपाल प्रहरीका ३०७ कार्यालयमा तोडफोड र आगजनी भएको थियो । सेनाले २४ गते रातिबाट ६ देखि ८ घण्टामा स्थिति नियन्त्रणमा लिएको जनाएको छ । नेपाली सेनाले आफूहरू राजनीति नगर्ने प्रष्ट पारेको छ । शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा एक अधिकारीले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् ।

‘यो जेनजीसँगको वार्ताको कुरा गर्दा यो कुरा स्पष्ट छ– सेनाले राजनीति गर्दैन,’ उनले भने । उनले भने, ‘तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमञ्चयन कायम गर्नका नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहल त लिएको मात्र हो ।’
उनले भने, ‘एकातिर स्थिति सामान्य पार्न गरिएका बहुआयामिक प्रयास तथा अर्कोतिर कतै आन्दोलनलाई सहयोग पुर्‍याउने भन्ने तर्कलाई छुट्याएर मूल्यांकन गर्नुपर्ने हुन्छ ।’ मेडागास्करमा भएको जेनजी आन्दोलनपछि सेनाले शक्ति हातमा लिएको संकेत गर्दै उनले नेपाली सेनाले भने सबै पक्षसँग छलफल गरेर काम गरेको बताए ।

ती सैनिक अधिकारीले यो विषय सबैको लागि विचारयोग विषय रहेकोमा जोड दिए । ‘नेपाली सेनाले त्यस बखतमा यो शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरूसँग छलफल गर्न अपरिहार्य सम्झेको हो,’ उनले भने । आन्दोलनमा सबैथरी मानिसहरू संलग्न रहेको सेनाको निष्कर्ष छ । ‘कुनै कुनै समूह त तीन वर्ष अगाडिबाट आन्दोलनरत रही व्यक्ति तथा समूहहरू तत्कालीन परिवेशमा राजनीतिक दलहरूसँग छलफलमा उत्रिने अवस्था पनि थिएन,’ सैन्य अधिकारीले भने । ‘यो परिस्थितिमा छलफलको टेबलमा ल्याई स्थितिलाई थप जोखिमपूर्ण हुन नदिन नै उत्तम विकल्प भएको नेपाली सेनाको निक्र्योल थियो,’ उनले भने ।

बेलायतमा नेपाली सेनाले जित्यो स्वर्ण पदक

लन्डन । संयुक्त अधिराज्यको वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ। ३ देखि १२ अक्टोबर २०२५ सम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको हो ।

सो अभ्यासमा कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए । नेपाली सेनाका मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा १० जनाको नेपाली टिम अभ्यासमा सहभागी थियो । लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहका अनुसार नेपाली सेनाले क्याम्ब्रियन पट्रोल एक्सरसाइजमा बर्सेनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

गत वर्ष पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । उक्त अभ्यासमा कुल १२१ टिममध्ये ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली सहभागी थिए । यसअघि सन् २०१७ र २०१९ मा पनि नेपाली सेनाले स्वर्ण पदक जितेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ। बेलायती सेनाका अनुसार, यो अभ्यास कठिन हुने गरी डिजाइन गरिएको छ ।

१० दिनसम्म ८ चरणमा विभाजित उक्त अभ्यासमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पौण्ड (३२ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने छ । अभ्यासमा सहभागी टोलीको लडाइ तयारी, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ । मानसिक र शारीरिक चुनौती सामना गर्नुपर्ने यो अभ्यास कठोर मानिन्छ ।

सेनाले भन्यो–शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौं

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्यांकन गरी आवश्यक पहल लिएको स्पष्ट पारेको छ । आफूबारे विभिन्न टिका टिप्पणी भएपछि सेनाले शुक्रबार विज्ञप्ति निकाल्दै विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त समेत गरेको छ ।

‘गत भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिका प्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्ति प्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ सेनाले विज्ञप्तिमा भनेको छ, ‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं ।’

सेनाले सञ्चारमाध्यममा भइरहेका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ । ‘हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ,’ सेनाले भनेको छ ।
हेर्नुस् विज्ञप्ती

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधान सेनापति सिग्देल

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्री प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्न लागेको छ ।

ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्प खोज्न बैठक बस्ने भएको हो । अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुटेको छैन । काठमाडौंका मेयर बालेन्द्र शाह र जेनजीले संसद विघटनलाई ‘बटमलाइन’ बनाएका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै कुरा अड्किएको स्रोतहरूको भनाइ छ ।

बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योल बढेको बताएका छन् ।

धोका नहुने र जेनजीहरूको माग पूरा गर्ने राष्ट्रपति र प्रधानसेनापतिले आश्वस्त पारेपछि सबै समूह सहमति नजिक पुगेको स्रोतले बतायो । जेनजीको समूहबाट कानूनविद्को रूपमा अधिवक्ता ओमप्रकाश अर्याललाई अघि सारिएको छ । संसद विघटनको कुरा टुंगिएपछि मात्रै भौतिक उपस्थितिबीच सबैसँग सहमति हुने बताइएको छ ।

सेनाको सुरक्षामा सुशीला कार्की र दुर्गा प्रसाईलाई जङ्गीअड्डा लगियो

काठमाडौं । नयाँ सरकार गठनका लागि समन्वय गरिरहेको नेपाली सेनाले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुरक्षासहित जङ्गीअड्डा लगेको छ ।

अन्तरिम सरकार गठनको विषयमा छलफलका लागि कार्की र प्रसाईलाई जङ्गीअड्डा लगिएको सुरक्षा स्रोतले जनाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्कीलाई नयाँ सरकारको नेतृत्वका लागि समर्थन गर्ने बताएका थिए ।

बालेनको उक्त निर्णयमा जेन–जी पनि सहमत भएपछि आज सेनाको समन्वयमा नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल हुँदैछ । प्रसाईंसँग प्रधानसेनापति अशोकराज सिग्देलले हिजो पनि वार्ता गरेका थिए । यता पूर्व प्रधानन्यायाधीश कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने भन्दै आज जङ्गीअड्डा बाहिर विरोध भएको छ ।

हर्क साम्पाङ र दुर्गा प्रसाई पुगे जङ्गीअड्डा

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईं भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । प्रधान सेनापति अशोक सिग्देलले यसअघि राजसंस्था पुनर्स्थापना जनआन्दोलनको जनकमाण्डर बनेका तर हाल स्वतन्त्र रहेका दुर्गा प्रसाईसँग अबको निकासबारे छलफल गरेका छन् ।

विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईसँग पनि निकासका विषयमा वार्ता भएको वित्त आयोगका अधिकृत समेत रहेका अभियन्ता गणेश घिमिरेले जानकारी दिएका छन् । उनले विभिन्न पक्षसँग वार्ताको समन्वय गरिरहेका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ जंगी अड्डा पुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्लेलसँग भावी सरकार गठनको विषयमा छलफल गर्न भन्दै साम्पाङ सैनिक मुख्यालय जंगी अड्डा पुगेका हुन् ।

साम्पाङले केहीबेर अघि आफू काठमाडौँ आइपुगेको जानकारी फेसबुकमार्फत दिएका थिए । सामाजिक सञ्जालमार्फत निरन्तर आफूलाई नेतृत्व दिन आग्रह गर्दै आएका साम्पाङले बुधबार बिहानै राजधानी प्रवेश गरेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै उनले लेखेका छन्, ‘देशको चिन्ताले काठमाण्डौँ आइपुगियो । गलत मान्छेहरूको घुसपैठ नहोस् जेन–जेड ।’ यसैबेला डिस्कोर्डमा जेन–जेडले सेनासँग वार्ता गर्न कसलाई पठाउने भन्ने विषयमा बिहानैदेखि छलफल भइरहेको छ ।

भोलि बिहान ८ बजे फेरि सबै पक्षसँग वार्ता गर्ने र चाँडै देशले नयाँ निकास पाउने उनले बताए । विभिन्न छलफलका क्रममा अहिलेसम्म नयाँ सरकार गठनको प्रक्रिया र त्यसको नेतृत्वबारे सहमति कायम भइसकेको छैन ।

सुशीला कार्कीको नाममा बढी छलफल भए पनि प्रधान सेनापतिले काठमाडौंका मेयर बालेन शाहलाई नेतृत्व गरेर देश सम्हाल्न प्रस्ताव गरेको बताइएको छ । तर, बालेन इच्छुक नभएपछि सुशीला कार्कीमा बढी छलफल भएको हो । त्यसो त कुलमान घिसिङले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने इच्छा देखाएका छन् । उनले पनि प्रधान सेनापतिसँग छलफल गरेका छन् ।

छलफलबाट बाहिरियो जेनजीको एउटा समूह

काठमाडौं । जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिरिएकी छन् । उनले छलफल आन्दोलनको न्यूनतम मान्यताविरुद्ध बढाइन थालेपछि आफूसहित केही साथीहरु बाहिर निस्किएको जनाएकी छन् ।

नेपाली सेनाले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग पनि सुझाव लिन भनेपछि बाहिरिएको जेनजी अभियन्ता रक्षा बमले बताएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईं र रास्वपा समूह पनि वार्तामा सामेल भएपछि आफूले वार्तास्थल छाडेर निस्किएको उनले बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् । उहाँहरु पनि स्टेकहोल्डर हो भनेर स्वयं प्रधानसेनापतिले भनिसकेपछि, जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरियौं ।’

अहिले प्रदर्शनकारी जेनजी समूहसँग छलफलका निम्ति तयारी गरिरहेको पनि उनले जानकारी दिएकी छन् । उनले अर्को स्टाटसमा पनि आफूहरु नेपाली सेना प्रमुखलाई भेट्नलाई नगएको समेत उल्लेख गरेकी छन् । हिजो पनि वार्तामा बस्नलाई जाँदा आफूहरुको माग तयार गर्नलाई समय लाग्ने बताएको उनले बताएकी छन् । ‘जेनजी आन्दोलनको कुनै लिडर छैन, यो हामी सबैलाई थाहा भएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेनजीकै समूहले लिड गरेको हो,’ उनले भनिन्, ‘तसर्थ अहिले वार्तामा रहेका जेनजेड साथीहरूको धारणा वा अडानबारे म पूर्णरूपमा अनभिज्ञ छु ।’

‘हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी सबै एकै ठाउमा आएर आफ्नो माग राख्नेछौ, सबैसँग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपतिसहित सेना प्रमुख समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौ’, उनले लखेकी छन् । अहिले प्रधानसेनापति अशोकराज सिग्देलसँग हामी नेपाल नामक टिम र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच वार्ता भइरहेको छ ।

लुटिएका हतियार तत्काल फर्काउन सेनाको आग्रह, अटेर गरे कारवाही

काठमाडौं । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न आग्रह गरेको छ ।

सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको हो ।

हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने जनाउँदै सेनाले कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ । साथै विज्ञप्तिमा सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरिएको छ ।

अलपत्र विदेशीको उद्धारका लागि सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह

काठमाडौं । नेपाली सेनाले जेनजीको आन्दोलनपछि नेपालमा अलपत्र विदेशी नागरिकको उद्धारका लागि आवश्यक भए नजिकैको सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

‘विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनैपनि सहयोगको पर्खामा रहनु भएका सबै विदेशी नागरिकहरुले नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरुसँग सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ,’ नेपाली सेनाले सूचना जारी गर्दै भनेको छ, ‘साथै, त्यस्ता विदेशी नागरिकहरुसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नु हुन समेत अनुरोध छ ।’

लुटपाट मच्चाएको आरोपमा २७ जना पक्राउ : हतियार र ३३ लाख बढी बरामद

काठमाडौं । नेपाली सेनाले आन्दोलनको मौकामा लुटपाट मच्चाएको भन्दै २७ जना पक्राउ गरेको छ । विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरूमा संलग्न २७ जना पक्राउ परेका हुन् ।

मंगलबार रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू परिचालन भएपपछि बुधवार बिहान १० बजेसम्म काठमाडौं लगायत देशका विभिन्न स्थानहरूमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरूमा संलग्न २७ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ । गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ ।

त्यस्तै, ३ वटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको सेनले जनाएको छ । सेनाका अनुसार विभिन्न स्थानहरूबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागेजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको सेनाले जनाएको छ ।

बल्ल निभ्यो राष्ट्रपति भवनको आगो, सेनाले दिंदै सुरक्षा

काठमाडौं । राष्ट्रपति भवनमा आन्दोलनकारीले लगाएको आगो बल्ल नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो आन्दोलनकारीले लगाएको आगो बल्ल नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि अझै धुवाँ आइरहेको छ ।

आगोले भवनभित्र रहेका सबै संरचना जलेर नष्ट भएका छन् । आन्दोलनकारीले शीतल निवासमा आगजनी गरेका थिए । अहिले भवनका सेनाले सुरक्षा दिइरहेको छ । सेनाले त्यस वरपर सवारीसाधनलाई सोधपुछ गरेर मात्र प्रवेश दिइरहेका छन् ।

भोलिसम्मको लागि देशभर निषेधाज्ञा र कर्फ्यू

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यूको अवधि थप गरिएको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज (बुधबार) बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्यूको अवधि थप गरिएको जानकारी गराएको हो।

बुधबार बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ ५ बजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।

आन्दोलनका नाममा अराजक गतिविधि, तोडफोड, आगजनी, लुटपाट, हिंसात्मक आक्रमण तथा व्यक्तिलक्षित आपराधिक कार्यहरू भइरहेका कारण देशभर शान्ति–सुरक्षामा गम्भीर चुनौती देखिएकाले कर्फ्यू जारी गरिएको सेनाको भनाइ छ ।

कर्फ्यू तथा निषेधाज्ञाको अवधिमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन सञ्चालन हुने र आवश्यक सहजीकरणको लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सकिने सेनाले जनाएको छ ।

हेर्नुस् सूचना

आज जेनजीसँग वार्ता, सेनाले माग्यो प्रतिनिधिको नाम

काठमाडौं । नेपाली सेनाले जेनजी समूहलाई वार्तामा बस्नका लागि प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । सेनाले बिहान ८ बजेभित्र प्रतिनिधिको नाम दिन जेनजी समूहलाई आग्रह गरेको हो ।

सेनाको सन्देशपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको जनाइएको छ । उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन् ।

‘हामी नेपाल’ समूहमा केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत छलफलमा थिए । गत चुनावमा डडेल्धुरामा चुनाव लडेर चर्चामा आएका युवा सागर ढकालको नाम पनि छलफलमा छ । उनी हाल धनगढीमा छन् । उक्त समूहले रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि कुराकानी गरेको थियो । तर श्रेष्ठले आफू पार्टी विशेषमा आबद्ध भएकाले जेनजीका तर्फबाट वार्तामा बस्न असमर्थ रहेको जनाएकी छन् ।

यस्तै आन्दोलनमा सक्रिय भएका जेनजीका अन्य समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ । वार्तामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह जेनजीका तर्फबाट प्रस्तुत हुन्छन् या बेग्लै सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन।
हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए ।

त्यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए ।बालेन शाहले संसद विघटन गरेपछि सेना प्रमुखसँग वार्ता हुनुपर्ने र जेनजी प्रतिनिधिसहितको नागरिक सरकार बन्नुपर्ने सामाजिक सञ्जालमा लेखेका थिए । त्यसैले वार्ताको ढाँचा र निकासको मार्गचित्र अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

 

१० बजेपछि सुरक्षाको नेतृत्व सेनाले लिने

काठमाडौं । नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

यस्ता गतिविधि नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण आजै रात १० बजेबाट दृढ रहने भन्दै देशबासीलाई सघाउन अपील गरिएको छ । सोहीअनुसार नेपाली सेना लगायत अन्य सुरक्षा निकाय तैनाथ हुने सेनाको विज्ञप्तिमा उल्लेख छ ।

पशुपतिनाथमा खटियो सेना

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा अराजक समूह पुगेर ढोकामा तोडफोड थालेपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनाको टोली खटिएको छ । सैनिक प्रवक्ता राजाराम बस्नेतले नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको जनाए । जेनजी प्रदर्शनकारीका अगुवाहरुले चाहिँ साँझ प्रदर्शनमा घुसपैठ भएको बताएका छन् ।

‘खासमा यति धेरै आगजनी राति अबेरसम्म यस्तो स्थिति बनाउने हाम्रो योजना नै होइन, हाम्रो माग अनुसार नै परिस्थिति अघि बढिरहेका बेला केही अराजक जथ्थाले मन्दिरमा पुगेका रहेछन्’, एक जेनजी प्रदर्शनकारीले भने । जेनजी प्रदर्शनकारीका अगुवाले राष्ट्रपतिले आह्वान गरेको वार्तामा बसेर समाधान निकाल्ने बताएका छन् । उनीहरुले नयाँ परिस्थिति सिर्जना भइसकेको भन्दै सरकारी सम्पत्तिमा आगजनी नगर्न आग्रह गरेका छन् ।

नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच संयुक्त अभ्यास

काठमाडौं । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच काठमाडौंमा संयुक्त अभ्यास सुरु भएको छ । सगरमाथा फ्रेन्डसिपको पाँचौँ संस्करण अन्तर्गत आइतबारदेखि संयुक्त अभ्यास सुरु भएको हो । भदौ ३१ गतेसम्म सञ्चालन हुने अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्र संघीय शान्ति मिसन प्रतिआतंकवाद लगायतका विषयहरुमा ज्ञान आदान प्रदान हुनेछ ।

२०७४ सालबाट सुरु भएको अभ्यास नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आएको छ । नेपाली सेनाले विभिन्न विषयमा क्षमता आदान प्रदान गर्ने उद्देश्यले छिमेकी देशका सेनासँग द्धिपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

थापालाई उपरथीको दर्ज्यानी चिन्ह्, पहाडी सहायक रथीमा बढुवा

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । भदौ ९ गते उपरथी दर्जामा पदोन्नति पाएका सहायक रथी भोलानाथ थापालाई आज जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नतिसँगै थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन् । त्यस्तै, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि सहायक रथी दर्जामा पदोन्नति भएको अवसरमा प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरे । कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथी, अधिकृत तथा पदोन्नति भएका अधिकृतका परिवारजनहरूको उपस्थिति थियो ।