जेनजी आन्दोलनमा सेनाद्वारा भीआईपीसहित २१३ जनाको उद्धार


काठमाडौं । नेपाली सेनाले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ६१ जना भीआईपी तथा तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरेको जनाएको छ । त्यस्तै २३ प्रहरीको पनि सेनाले हेलिकप्टरबाटै उद्धार गरेको जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै सेनाले विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको जनाएको छ । सेनाले दिएको विवरण अनुसार जेनजी आन्दोलनका क्रममाा ६८८ सरकारी कार्यालय,२५९ जनाका निजी निवास,१२८ व्यापारिक प्रतिष्ठन र राजनीतिक दलका १९८ वटा कार्यालय आगजनी र तोडफोड भएका थिए ।
नेपाल प्रहरीका ३०७ कार्यालयमा तोडफोड र आगजनी भएको थियो । सेनाले २४ गते रातिबाट ६ देखि ८ घण्टामा स्थिति नियन्त्रणमा लिएको जनाएको छ । नेपाली सेनाले आफूहरू राजनीति नगर्ने प्रष्ट पारेको छ । शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा एक अधिकारीले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् ।
‘यो जेनजीसँगको वार्ताको कुरा गर्दा यो कुरा स्पष्ट छ– सेनाले राजनीति गर्दैन,’ उनले भने । उनले भने, ‘तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमञ्चयन कायम गर्नका नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहल त लिएको मात्र हो ।’
उनले भने, ‘एकातिर स्थिति सामान्य पार्न गरिएका बहुआयामिक प्रयास तथा अर्कोतिर कतै आन्दोलनलाई सहयोग पुर्याउने भन्ने तर्कलाई छुट्याएर मूल्यांकन गर्नुपर्ने हुन्छ ।’ मेडागास्करमा भएको जेनजी आन्दोलनपछि सेनाले शक्ति हातमा लिएको संकेत गर्दै उनले नेपाली सेनाले भने सबै पक्षसँग छलफल गरेर काम गरेको बताए ।
ती सैनिक अधिकारीले यो विषय सबैको लागि विचारयोग विषय रहेकोमा जोड दिए । ‘नेपाली सेनाले त्यस बखतमा यो शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्यूनीकरणको लागि सबै पक्षहरूसँग छलफल गर्न अपरिहार्य सम्झेको हो,’ उनले भने । आन्दोलनमा सबैथरी मानिसहरू संलग्न रहेको सेनाको निष्कर्ष छ । ‘कुनै कुनै समूह त तीन वर्ष अगाडिबाट आन्दोलनरत रही व्यक्ति तथा समूहहरू तत्कालीन परिवेशमा राजनीतिक दलहरूसँग छलफलमा उत्रिने अवस्था पनि थिएन,’ सैन्य अधिकारीले भने । ‘यो परिस्थितिमा छलफलको टेबलमा ल्याई स्थितिलाई थप जोखिमपूर्ण हुन नदिन नै उत्तम विकल्प भएको नेपाली सेनाको निक्र्योल थियो,’ उनले भने ।