`

आज जेनजीसँग वार्ता, सेनाले माग्यो प्रतिनिधिको नाम

Nepal One HD २५ भदौ २०८२ ८:३१
प्रमुख खबर

काठमाडौं । नेपाली सेनाले जेनजी समूहलाई वार्तामा बस्नका लागि प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ । सेनाले बिहान ८ बजेभित्र प्रतिनिधिको नाम दिन जेनजी समूहलाई आग्रह गरेको हो ।

सेनाको सन्देशपछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको जनाइएको छ । उनीहरुले राजनीतिका अलावा अर्थतन्त्रका पनि जानकार व्यक्ति पठाउने विषयमा छलफल गरिरहेका छन् ।

‘हामी नेपाल’ समूहमा केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत छलफलमा थिए । गत चुनावमा डडेल्धुरामा चुनाव लडेर चर्चामा आएका युवा सागर ढकालको नाम पनि छलफलमा छ । उनी हाल धनगढीमा छन् । उक्त समूहले रास्वपा सांसद सुमना श्रेष्ठसँग पनि कुराकानी गरेको थियो । तर श्रेष्ठले आफू पार्टी विशेषमा आबद्ध भएकाले जेनजीका तर्फबाट वार्तामा बस्न असमर्थ रहेको जनाएकी छन् ।

यस्तै आन्दोलनमा सक्रिय भएका जेनजीका अन्य समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा कुराकानी भइरहेको स्रोतले जनाएको छ । वार्तामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह जेनजीका तर्फबाट प्रस्तुत हुन्छन् या बेग्लै सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन।
हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए ।

त्यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए ।बालेन शाहले संसद विघटन गरेपछि सेना प्रमुखसँग वार्ता हुनुपर्ने र जेनजी प्रतिनिधिसहितको नागरिक सरकार बन्नुपर्ने सामाजिक सञ्जालमा लेखेका थिए । त्यसैले वार्ताको ढाँचा र निकासको मार्गचित्र अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *