हर्क साम्पाङ र दुर्गा प्रसाई पुगे जङ्गीअड्डा


काठमाडौं । धरानका मेयर हर्क साम्पाङ र दुर्गा प्रसाईं भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । प्रधान सेनापति अशोक सिग्देलले यसअघि राजसंस्था पुनर्स्थापना जनआन्दोलनको जनकमाण्डर बनेका तर हाल स्वतन्त्र रहेका दुर्गा प्रसाईसँग अबको निकासबारे छलफल गरेका छन् ।
विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईसँग पनि निकासका विषयमा वार्ता भएको वित्त आयोगका अधिकृत समेत रहेका अभियन्ता गणेश घिमिरेले जानकारी दिएका छन् । उनले विभिन्न पक्षसँग वार्ताको समन्वय गरिरहेका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ जंगी अड्डा पुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्लेलसँग भावी सरकार गठनको विषयमा छलफल गर्न भन्दै साम्पाङ सैनिक मुख्यालय जंगी अड्डा पुगेका हुन् ।
साम्पाङले केहीबेर अघि आफू काठमाडौँ आइपुगेको जानकारी फेसबुकमार्फत दिएका थिए । सामाजिक सञ्जालमार्फत निरन्तर आफूलाई नेतृत्व दिन आग्रह गर्दै आएका साम्पाङले बुधबार बिहानै राजधानी प्रवेश गरेको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै उनले लेखेका छन्, ‘देशको चिन्ताले काठमाण्डौँ आइपुगियो । गलत मान्छेहरूको घुसपैठ नहोस् जेन–जेड ।’ यसैबेला डिस्कोर्डमा जेन–जेडले सेनासँग वार्ता गर्न कसलाई पठाउने भन्ने विषयमा बिहानैदेखि छलफल भइरहेको छ ।
भोलि बिहान ८ बजे फेरि सबै पक्षसँग वार्ता गर्ने र चाँडै देशले नयाँ निकास पाउने उनले बताए । विभिन्न छलफलका क्रममा अहिलेसम्म नयाँ सरकार गठनको प्रक्रिया र त्यसको नेतृत्वबारे सहमति कायम भइसकेको छैन ।
सुशीला कार्कीको नाममा बढी छलफल भए पनि प्रधान सेनापतिले काठमाडौंका मेयर बालेन शाहलाई नेतृत्व गरेर देश सम्हाल्न प्रस्ताव गरेको बताइएको छ । तर, बालेन इच्छुक नभएपछि सुशीला कार्कीमा बढी छलफल भएको हो । त्यसो त कुलमान घिसिङले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने इच्छा देखाएका छन् । उनले पनि प्रधान सेनापतिसँग छलफल गरेका छन् ।