`

स्वागत नेपाल नेतृत्वको ‘उन्नत लोकतान्त्रिक पाटी’ ले बुझायो बन्दसूची

काठमाडौं । अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टी (एडभान्स डेमोक्रेटिक पार्टी) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेश गरेको छ । सोमबार उन्नत लोकतान्त्रिक पार्टीले समानुपातिकको बन्द सूची आयोगमा बुझाएको हो । राजालाई भोट हाल्न चाहनेका लागि खुला किताब चिह्न लिएर सो पार्टीले समानुपातिकको बन्दसूची बुझाएको सो दलका अध्यक्ष अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।

‘मुखमा पार्टी भए पनि राजाका लागि भोट हाल्ने मन भएकाका लागि साझा चिह्न चाहियो भनेर राजसंस्थावादीको सल्लाह भएर खुला किताब चिह्नसहित आयोगमा आएका हौं’, नेपालले भने । २०७९ सालको चुनावमा झापा २ बाट स्वतन्त्र चुनाव लडेका नेपालले आफू यस पटक पनि सोही ठाउँबाट प्रत्यक्ष चुनाव लड्ने बताए । प्रतिनिधि सभाको सभामुख बनेका देवराज घिमिरेसँग उनी झिनो मतले पराजित भएका थिए ।

स्वागत नेपालले आफूलाई हटाउने सक्ने प्रसङ्ग निकालेपछि रिसाए प्रधानन्यायाधीश राउत

काठमाडौं । अधिवक्ता स्वागत नेपालले बहसको क्रममा राखेको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत रिसाएका छन् । आज (बुधबार) प्रतिनिधि सभा विघटन विरूद्धको सुनुवाइका क्रममा अधिवक्ता स्वागत नेपालले रिट निवेदकको पक्षबाट बहस गरेका थिए । बहसको क्रममा अधिवक्ता नेपालले वकिलहरूले आन्दोलन गरे राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नै हटाउन सक्छन् भन्ने कुरामा इजलास सहमत हुनुपर्ने बताएका थिए ।

‘हिजो सरकार परिवर्तनको कुरा आन्दोलनकारीहरूको माग नै थिएन । त्यो बेला राष्ट्रपतिले अर्को निहुँ बनाएर सोझै संविधानको रक्षा गर्न प्रधानमन्त्री अर्को नियुक्त गर्ने उहाँले विज्ञप्तिमा फेरि ढुंगामुडा भयो भने अर्को प्रधानमन्त्री ल्याइदिन्छु भन्नु भएको छ । श्रीमान यो इजलासले यो यो स्वीकार गर्नुपर्छ कि भोलि वकिलहरुले र अरुले आन्दोलन गरे भने प्रधान न्यायाधीशलाई सिधै हटाएर अर्को प्रधान न्यायधीश ल्याउन सक्नुहुन्छ । यो अधिकार दिनु हुन्न राष्ट्रपतिलाई,’ अधिवक्ता नेपालले भनेका थिए ।

त्यसपछि प्रधानन्यायाधीश राउतले उनलाई रोके । ‘विद्वानजी यहाँ सुन्नुस् । यो इजलासले के स्वीकार गर्नुपर्छ भनेर तपाईले त्यहाँ बहस गरेर डिटेक्ट गर्ने कुरामा डेकोरमको हेक्का राख्नुस् । तपाईले तपाईले बडो हेक्का राखेर बहस गर्नुस्,’ प्रधानन्यायाधीश राउतले भने । ‘तपाईंले जे कुरा गर्नु भएको छ, यो मोस्ट अब्जेक्सनेबल छ । यो स्वीकार गर्नुपर्छ, यो गर्नु हुँदैन भनेर तपाईंले त्यहाँबाट भन्ने होइन,’ प्रधानन्यायाधीश राउतले अगाडि भने । त्यसपछि अधिवक्ता नेपालले माफी मागेका थिए ।

‘म श्रीमानसँग माफी चाहन्छु । मैले त सेन्टेन्सहरु मात्रै बोलें । व्याख्या गर्ने समय भएन,’ उनले भने । अधिवक्ता नेपालले त्यसपछि पनि राष्ट्रपतिले प्रधान्यायाधीश पनि हटाउन सक्छन् भन्ने दोहो¥याए । ‘संविधानको रक्षा गर्न जरुरी भयो भनेर प्रधानमन्त्रीलाई जसरी राष्ट्रपतिले हटाएर अर्को नियुक्त गर्ने विज्ञप्ति जारी गर्नुभयो । त्यसैगरी प्रधानन्यायाधीशलाई हटाएको विज्ञप्ति जारी गर्नुभयो भने त्यो संवैधानिक हुन्छ कि हुँदैन ? अहिले यो प्रधानमन्त्रीलाई संवैधानिक छ भन्ने हो भने त्यो पनि संवैधानिक छ भनेर इजलास मान्न पर्ने स्थिति हुन सक्छ,’ उनले भने। रिट निवेदकका तर्फबाट बहस सकिएको छ । अब इजलासले आदेश जारी गर्न बाँकी छ ।

सुशीला कार्कीबारे सत्य बोल्दा पक्राउ गर्न खोजिँदै छ : स्वागत नेपाल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नैतिकताबारे सञ्चार माध्यममा प्रश्न उठाएको भन्दै अधिवक्ता स्वागत नेपाललाई प्रहरीको साइवर ब्युरोले पक्राउ गर्न खोजेको खुलेको छ । ब्युरोले फोन गरेर उपस्थित हुन भनेको अधिवक्ता नेपालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

अधिवक्ता नेपालले नेपालको संविधान अनुसार पूर्व प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री जस्तो कार्यकारी हैसियतमा बस्न नहुने बताउँदै आएका थिए । ‘आफ्नै विज्ञप्ति र निर्णय विपरित उहाँ सांसदबाट पूर्व प्रधानन्यायाधीश भएर पनि प्रधानमन्त्री बन्नु भयो संविधान बाहिरबाट’, उनले भनेका छन्, ‘यो संसारकै अनैतिकता हो ।’

उनले संविधान विपरित कार्य हुँदा नैतिकताको प्रश्न यसअघि पनि सबै दलका प्रधानमन्त्री हुँदा समेत उठाएको र पक्राउ परेको भन्दै जेनजीले जायज माग उठाउँदा सुधार गर्नुपर्नेमा निरंकुशता लाद्न खोजेपछि चर्किएको बताएका छन् । उनले सुशीला कार्कीले १० करोड घुसको सार्वजनिक गरेको प्रसङ्ग फेरि पनि उठाउने बताएका छन् ।

प्रहरीले गरेको फोनमा आफूले कुरा गर्दा ‘तिहार मनाउनुस्’ भन्ने जवाफ आएको भन्दै आफूलाई तिहार पछि पक्राउ गर्ने तयारी रहेको बुझेको बताएका छन् । नेपालका अनुसार भाइटीका लगाउनुस् न त भनेर प्रहरी अधिकारीले भनेका छन् । तिहारको बेला छ, तिहार मनाउनु हुन्छ कि ? भनेर प्रहरीले सोधेकोमा नेपालले भने, ‘ठीकै छ, दिदीबहिनीको हातबाट भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, आज लक्ष्मीपूजा छ गर्छु तर आउनुपर्छ भने आउँछु, मैले भनेँ । उहाँ (फोन गर्ने साइबर ब्युरोका अधिकारी) ले ठीकै छ तिहार मनाउनोस् न त भन्नु भयो।’

पेसाले अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका प्रवक्ता हुन् । १५ चैतमा पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले आन्दोलनको माग संविधानभन्दा बाहिरबाट समाधान गर्न खोज्नु जायज नहुने भन्दै अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सुशीला कार्कीले उठाएको कदम यसअघिका सरकारभन्दा पनि निरंकुश रहेको दाबी गरेका छन् ।

नेपालको संविधानको ७६ ले गैरसांसद प्रधानमन्त्री बन्ने छुट दिँदैन । त्यस्तै धारा १३२ (२) मा ‘प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन’ भन्ने व्यवस्था छ ।