`

स्वागत नेपालले आफूलाई हटाउने सक्ने प्रसङ्ग निकालेपछि रिसाए प्रधानन्यायाधीश राउत

Nepal One HD १२ कार्तिक २०८२ १७:३६
बिशेष

काठमाडौं । अधिवक्ता स्वागत नेपालले बहसको क्रममा राखेको विषयलाई लिएर प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत रिसाएका छन् । आज (बुधबार) प्रतिनिधि सभा विघटन विरूद्धको सुनुवाइका क्रममा अधिवक्ता स्वागत नेपालले रिट निवेदकको पक्षबाट बहस गरेका थिए । बहसको क्रममा अधिवक्ता नेपालले वकिलहरूले आन्दोलन गरे राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नै हटाउन सक्छन् भन्ने कुरामा इजलास सहमत हुनुपर्ने बताएका थिए ।

‘हिजो सरकार परिवर्तनको कुरा आन्दोलनकारीहरूको माग नै थिएन । त्यो बेला राष्ट्रपतिले अर्को निहुँ बनाएर सोझै संविधानको रक्षा गर्न प्रधानमन्त्री अर्को नियुक्त गर्ने उहाँले विज्ञप्तिमा फेरि ढुंगामुडा भयो भने अर्को प्रधानमन्त्री ल्याइदिन्छु भन्नु भएको छ । श्रीमान यो इजलासले यो यो स्वीकार गर्नुपर्छ कि भोलि वकिलहरुले र अरुले आन्दोलन गरे भने प्रधान न्यायाधीशलाई सिधै हटाएर अर्को प्रधान न्यायधीश ल्याउन सक्नुहुन्छ । यो अधिकार दिनु हुन्न राष्ट्रपतिलाई,’ अधिवक्ता नेपालले भनेका थिए ।

त्यसपछि प्रधानन्यायाधीश राउतले उनलाई रोके । ‘विद्वानजी यहाँ सुन्नुस् । यो इजलासले के स्वीकार गर्नुपर्छ भनेर तपाईले त्यहाँ बहस गरेर डिटेक्ट गर्ने कुरामा डेकोरमको हेक्का राख्नुस् । तपाईले तपाईले बडो हेक्का राखेर बहस गर्नुस्,’ प्रधानन्यायाधीश राउतले भने । ‘तपाईंले जे कुरा गर्नु भएको छ, यो मोस्ट अब्जेक्सनेबल छ । यो स्वीकार गर्नुपर्छ, यो गर्नु हुँदैन भनेर तपाईंले त्यहाँबाट भन्ने होइन,’ प्रधानन्यायाधीश राउतले अगाडि भने । त्यसपछि अधिवक्ता नेपालले माफी मागेका थिए ।

‘म श्रीमानसँग माफी चाहन्छु । मैले त सेन्टेन्सहरु मात्रै बोलें । व्याख्या गर्ने समय भएन,’ उनले भने । अधिवक्ता नेपालले त्यसपछि पनि राष्ट्रपतिले प्रधान्यायाधीश पनि हटाउन सक्छन् भन्ने दोहो¥याए । ‘संविधानको रक्षा गर्न जरुरी भयो भनेर प्रधानमन्त्रीलाई जसरी राष्ट्रपतिले हटाएर अर्को नियुक्त गर्ने विज्ञप्ति जारी गर्नुभयो । त्यसैगरी प्रधानन्यायाधीशलाई हटाएको विज्ञप्ति जारी गर्नुभयो भने त्यो संवैधानिक हुन्छ कि हुँदैन ? अहिले यो प्रधानमन्त्रीलाई संवैधानिक छ भन्ने हो भने त्यो पनि संवैधानिक छ भनेर इजलास मान्न पर्ने स्थिति हुन सक्छ,’ उनले भने। रिट निवेदकका तर्फबाट बहस सकिएको छ । अब इजलासले आदेश जारी गर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *