`

प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले आज पनि गर्‍यो राष्ट्रिय सभा बैठक अवरूद्ध

Nepal One HD २२ असार २०८० १३:०४
प्रमुख खबर

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएपछि शुक्रबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध भएको छ ।

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अवरुद्ध भएको हो । बैठकको सुरुमै एमाले सांसद विमला घिमिरेले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको स्वभिमानमाथि आँच आउने काम भएको र शिर झुकेको बताउनुभयो । उहाले नेपालको प्रधानमन्त्री जनताद्वारा चूनिने भएपनि भारतबाटै प्रधानमन्त्री चूनिने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गर्नुभयो ।

एमालेको विरोधपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बिनियोजित बजेटमाथिको छलफल असार २४ गते र मन्त्रीहरुले जवाफ दिनका लागि असार २५ र २६ गतेका लागि तोकेको जानकारी गराउनुभयो । राष्ट्रियसभाको अर्को बैठक असार २४ गते बोलाइएको छ ।


प्रतिक्रिया