इमर्जिङ टिम्स एसिया कप खेल्न जाने टोलीको बिदाइ


काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
आज (सोमबार) काठमाडौँमा युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।
विश्वकप छनोट खेल सकेर केही दिनअघि मात्रै स्वदेश फर्किएको थियो । टोलीमा नेपालले आरिफ शेखको ठाउँमा अलराउन्डर पवन सर्राफलाई समावेश गरेको छ । नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।
इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । टोली आजै श्रीलंका प्रस्थान गर्ने छ ।
प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ पनि अँटाएका छन् ।
ज्ञानेन्द्र मल्ल नेपाली टोलीबाट बाहिरिएका छन् भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने ग्लोबल टी-२० का कारण राष्ट्रिय टोली बाहिर रहेका छन् ।
नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन् ।
नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन् ।