एसीसी इमर्जिङ टिम्स कप: यूएईविरुद्ध नेपालको सानदार जित


काठमाडौँ / एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा यूएईविरुद्ध नेपाल तीन विकेटले विजयी भएको छ ।
बुधबार पी सारा ओभलमा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा भुर्तेल चम्किएपछि यूएईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४३ बलमा ७१ रनको सानदार अर्धशतक बनाए । भुर्तेलले ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ थालेको युएईले ४४ ओभरमा अलआउट हुँदै १५७ रन जोडेको हो । उसका लागि लवप्रित सिंहले सर्वाधिक ५२ रन जोडे । ८२ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, इथान डीसुजाले २५ बलमा १८, यशवान्त वल्थपाले ३२ बलमा १६, आर्यान्स शर्माले ३० बलमा १४ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ६ विकेट लिए भने मौसम ढकालले २ तथा कुशल मल्ल र पवन शर्राफले १–१ विकेट लिए ।