उपराष्ट्रपति यादवद्वारा गौरा पर्वको शुभकामना


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरा पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
गौरा पर्व नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकको विभिन्न भूभागमा परापूर्वकालदेखि धूमधामका साथ मनाइँदै आएको धार्मिक, सांस्कृतिक एवं परम्परागत पर्व हो ।नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेषभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको उहाँले उल्लेख गर्नुभएको छ ।“विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो । त्यही पहिचानभित्र गौरा पर्व पनि पर्दछ । यो पर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई सबैले आत्मसात् गर्दै यसका सकारात्मक सन्देश ग्रहण गर्न सक्नु पर्दछ”, उपराष्ट्रपति यादवको शुभकामना सन्देशमा उल्लेख छ । हाम्रो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधताभित्रको बलियो, सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन यो पर्वले योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व, द्वेषलाई बिर्सेर परस्पर खुसी, सद्भावका साथ शुभकामना आदानप्रदान गर्न गौरा पर्वले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी उहाँले कामना गर्नुभएको छ ।हामीबीच परस्पर सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धिमा टेवा पुर्याउने यो पर्वसहित सबै मौलिक संस्कृति, चाडपर्व र रहनसहनलाई संवर्द्धन एवं संरक्षण गर्ने दायित्व सबैले निर्वाह गर्न सक्नु पर्दछ । उपराष्ट्रपति यादवले विभिन्न वर्ग, समुदाय, क्षेत्र र भूगोलमा प्रचलनमा रहेका चाडपर्व, संस्कृति, रीतिरिवाज, परम्परा र संस्कारले आपसी सहिष्णुतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।साथै उहाँले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन यस पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मुलुक निर्माण र व्यवस्थित विकासको मार्गमा द्रुत गतिले लम्कन सफल होस्, समृद्ध नेपालको परिकल्पना साकार होस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।