`

औद्योगिक वातावरण निर्माण गर्न सरकार लागिपरेको छ : उद्योगमन्त्री रिजाल

Nepal One HD २२ भदौ २०८० २१:१३
राजनीति

काठमाडौँ, २२ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न सरकार लागिपरेको बताउनुभएको छ । फोकस नेपालको ११औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘औद्योगिक क्षेत्रको विकासमा चुनौती र अवसर’ विषयक विचार गोष्ठीमा उहाँले सरकार मुलुकमा औद्योगिक वातावरण निर्माणमा लागेको बताउनुभयो ।

“कुनै पनि मुलुकको आर्थिक विकास हुनुमा औद्योगिक क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ, औद्योगिक क्षेत्रको विकासका लागि सरकार लागेको छ”, उहाँले भन्नुभयो । नेपालमा ८७ वर्ष पहिले विराटनगरमा जुट मिल स्थापना भएदेखि नै सङ्गठित औद्योगिक क्षेत्रको विकास भएको उहाँको भनाइ थियो ।

मन्त्री रिजालले औद्योगिक क्षेत्रको विकास भएको लामो समय भए पनि नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । औद्योगिक क्षेत्रको विकासका लागि नेपालले विगतदेखि नै विभिन्न चुनौतीको सामना गर्दै आएका उहाँको भनाइ थियो । नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि धेरै मेहिनत गर्नुपर्ने अवस्था आएको मन्त्री रिजालले बताउनुभयो ।

“हाम्रो कठिन भू–धरातलका कारण एकातिर उद्योग खोल्नका लागि आवश्यक पूर्वाधार निर्माणमा कठिनाइ भइरहेको छ, अर्कातिर पर्यावरण जोगाएर उद्योगका लागि पूर्वाधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको छ”, उहाँले भन्नुभयो । मन्त्री रिजालले चुनौती र अप्ठ्याराका बाबजुद हामीसँग सम्भावना र अवसर थुप्रै रहेको बताउनुभयो ।

जलस्रोत, जडिबुटी, वनस्पति, खनिजजस्ता प्राकृतिक सम्पदाको प्रयोग गरेर विभिन्न उद्योग स्थापना गर्न सकेमात्र नेपालको औद्योगिक विकासले कोल्टे फेर्ने उहाँको भनाइ थियो । मन्त्री रिजालले सरकारले साना, मझौला र ठूला उद्योगलाई प्रवर्द्धन गर्नका लागि विभिन्न आर्थिक र भौतिक सहायता प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । सरकारले नयाँ उद्यमीलाई प्रोत्साहन गर्दै आएको उहाँको भनाइ थियो ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी रहेको उहाँको भनाइ थियो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपाल एक दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको बताउनुभयो । कार्यक्रममा समाज विकासको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया