`

तीनै तहका कर्मचारीले पाउने सुविधा समान हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

Nepal One HD २३ भदौ २०८० ८:५६
राजनीति

अन्नपूर्ण (कास्की) – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय, प्रदेश र सङ्घ सरकारका कर्मचारीले समान सुविधा पाउनुपर्ने बताउनुभएको छ । निजामती सेवा दिवस २०८० को अवसरमा शुक्रबार पोखरामा आयोजित मूल समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहका कर्मचारीले पाउने सेवा, सुविधा र वृत्तिविकास एकै किसिमको हुनुपर्नेमा जोड दिनुभयो ।

“यदि कोही स्थानीय तहबाट प्रदेश सरकार आउन चाहन्छ र प्रदेश सरकारबाट सङ्घीय सरकारमा जान चाहन्छ भने त्यसको बाटो र वृत्तिविकासका आधार सामान हुनुपर्छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “कर्मचारीको सेवा र सुविधा समान हुनुपर्छ भन्ने कुरामा साथ दिन म तयार छु ।”

सरकारको सफलता/असफलतामा कर्मचारीको पनि जनप्रतिनिधि जतिकै समान भूमिका हुने उहाँले बताउनुभयो । राजनैतिक दलका आधारमा पक्षपात नगरी सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सङ्घ सरकारले बिहीबार मन्त्रिपरिषद्बाट सङ्घीय निजामती सेवा ऐन पास गरी सदनमा पेश गर्ने गरी अगाडि बढाएको उल्लेख गर्दै उहाँले ऐनलाई सकरात्मक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।


प्रतिक्रिया