केही नभएकालाई सहकारीको स्वामित्वसँग जोड्नुपर्छ : अध्यक्ष ओली


काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहकारीको महत्त्वलाई गाउँगाउँमा पु¥याउनुपर्ने बताउनुभएको छ ।ललितपुरस्थित पार्टी मुख्यालयमा एमाले सहकारी तथा गरिबी निवारण विभागले ‘सहकारीकर्मीहरूसँग केपी ओली’ कार्यक्रममा उहाँले सहकारीको महत्त्व गाउँका किसानसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले गरिबी हटाउनका लागि ठूलो मात्राको उत्पादनमा सहभागी हुनुपर्ने भनाइ राख्नुभयो ।
अध्यक्ष ओलीले केही पनि नभएका मानिसलाई सहकारीको स्वामित्वमा जोड्नुपर्ने बताउनुभयो । “हरेक मानिस सहकारीको स्वामी हुन सक्दछ । ऊ त्यसमा सहभागी मात्र होइन । त्यो मानिस आफैँ स्वामी पनि हुन सक्दछ । त्यो विधि कसरी अपनाउने ?”, उहाँले भन्नुभयो, “उसको श्रमले नै सहकारीको हिस्सेदार बनाउनुपर्दछ । परिवार, व्यक्तिको स्वामित्व सहकारीसँग जोडिनुपर्दछ ।”
अध्यक्ष ओलीले राष्ट्रिय राजनीति र निर्देशित राजनीति रहेको उल्लेख गर्दै एमालेको कित्ता राष्ट्रिय राजनीति रहेको बताउनुभयो । उहाँले उद्यमीहरू अहिले अप्ठ्यारोमा परेको भन्दै बैंकहरूलाई पनि साहुजी भएर धितो लिलाम नगर्न आग्रह गर्नुभयो । “पहिले कोरोना भाइरसले गर्दा अप्ठयारोमा परे । अर्थतन्त्र धराशायी रहेको छ । सञ्चालन गर्ने पूँजी छैन । सञ्चालन गर्दागर्दै उद्योग धराशायी भएका छन् । अर्बांै खर्च गरेर उद्योग खोलेका छन्,” उहाँले भन्नुभयो, “यस्तो बेला बैंकहरूले साहुजी भएर धितो लिलाम गर्ने होइन । उनीहरूलाई सप्रनका लागि समय दिनुपर्दछ । ऋण सञ्चालन खर्च थपिदिनुपर्दछ ।”
उहाँले सहकारी पनि अहिले अप्ठ्यारोमा रहेको बताउनुभयो । उहाँले उत्पादन र विवरणलाई सन्तुलन गर्न सके गरिबी नहुने र समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।