`

काठमाडौँमा राप्रपाले भदौ २७ गते बृहत विरोध सभा गर्ने

Nepal One HD २५ भदौ २०८० १८:०५
प्रमुख खबर

काठमाडौं – काठमाडौंमा राप्रपाले भदौ २७ गते काठमाडौँमा बृहत विरोध सभा गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले देशद्रोही बिरुद्ध विरोध सभा गर्न लागिएको जनाएको हो । भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दवाव दिनका लागि विरोध सभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ । गौवंश हत्याको विरोध, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दवाव दिन पनि राप्रपाले जानकारी दिएको छ ।

देशद्रोहीबिरुद्ध आन्दोलन स्वरुप राप्रपाले विरोध सभा गर्न लागेको राप्रपा नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो । शाहीले बिभिन्न प्रकरणको अनुसन्धान नेताहरुमाथि आएपनि प्रकरणलाई नै कमजोर बनाउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन गर्ने चूनौति दिनुभयो ।

राप्रपाले शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोधसभा गर्न लागिएको जनाएको छ ।


प्रतिक्रिया