औषधिको गुणस्तरमा सम्झौता गर्नुहुदैन : स्वास्थ्यमन्त्री


काठमाडौँ, २९ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न निर्देशन दिनुभएको छ । औषधि व्यवस्था विभागको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकाले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताउनुभयो ।
“स्वास्थ्य उपचार औषधिको गुणस्तरमाभर पर्छ । विभागले गुणस्तर कामय राख्न परीक्षण र अनुगमनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ । जनताले गुणस्तरीय औषधि पाउनुपर्छ,” उहाँले भन्नुभयो । औषधि एकदमै संवेदनशील विषय भएको भन्दै मन्त्री बस्नेतले यसमा सानो गल्तीले पनि व्यक्तिको ज्यान जोखिममापर्नेतर्फ सतर्क रहन सबैलाई अनुरोध गर्नुभयो ।मन्त्रालयका सचिव डा रोशन पोखरेलले थोरै दरबन्दीमा पनि बढी से बढी काम गर्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै विभागको संरचना सात वटै प्रदेशमा लैजान अब ढिलाइ गर्न नहुने बताउनुभयो ।विभागका महानिर्देशक नारायण ढकालले विभागले आफ्नो क्षमताअनुसार औषधिको गुणस्तर सुधार, अनुगमन र परीक्षणका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै जनशक्ति अभावमा थोरै औषधिको नमुना मात्र परीक्षण गर्न सकिएको बताउनुभयो । उहाँले औषधि प्रयोगशालमा जनशक्ति अभावकै कारण सोचअनुसार काम गर्न नसकेको बताउनुभयो ।उहाँले संरचना स्थानीय तहसम्म पुर्याउन नसक्दा फार्मेसीको अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले प्रादेशिकस्तरमा समेत औषधि परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।