संविधान संशोधनमा हतारो गर्नु हुँदैन– अध्यक्ष ओली


काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै पार्टी र पक्षहरु मिलेर मुलुकको विद्यमान समस्या समाधान गर्नुपर्ने परिस्थीति आएको बताउनुभएको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित सुवास र संविधान बिषयक प्रवचनमा ओलीले देश प्रति जिम्मेवार भएर एकतावद्ध हुनुपर्ने र समस्या समाधान गर्नुपर्ने बेला आएको बताउनुभएको हो । त्यसो हुन नसके धेरै प्रकारका खतराबाट जेलिन सक्ने उहाँले बताउनुभयो ।
प्रमुख राजनीतिक दलको नेतृत्वमा धेरै आन्दोलन र बलिदान भएकाले दलहरु गम्भीर भएर अहिलेका उपलव्धीहरुलाइ रक्षा गर्नुपर्नेमा उहाँको जोड छ । अध्यक्ष ओलीले देशमा सुशासन ल्याउनका लागि एमाले प्रतिवद्ध रहेको र स्वार्थका लागि देशमा राष्ट्रिय एकता खलबलिनबाट एमालेले जोगाउने बताउनुभयो ।
उहाले गम्भीरता भन्दा भावना र प्रायोजित तथा आयातित कुराबाट दवाव देखिरहेका हुँदा संविधान संशोधन गर्न हतारो गर्न नहुने धारणा राख्नुभयो । ओलीले तत्कालिन अवस्थामा संविधान जारी नगर्न नेम्वाङलाई दवाव आएको भएपनि बलियो अठोटका कारण संविधान जारी भएको स्मरण गर्नुभयो ।
यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको संविधान निर्माण गर्दा भएको असाधारण सहमतिमा स्वर्गीय नेम्वाङको भूमिका सदैव स्मरणीय रहने बताउनुभयो । अहिले संविधान कार्यान्वयन गर्ने प्रक्रियामा सचेत नदेखिएको र जनतालाई पनि राम्रोसंग बुझाउन नसकिएको उहाले बताउनुभयो । खनालले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई पुरा गर्दै अघि बढ्नुपर्ने र संविधान अनुसारको कानूनहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी हुँदा भएको दलहरुबीचको समझदारी त्यसपछि भने टुट्दै गएको बताउनुभयो । संविधानले स्थापित गरेको अधिकार कार्यान्वयनमा सबै सरकार चुकेका उहाँले बताउनुभयो ।
पूर्वसभामुख ओनसरी घर्तिले दलहरुबीच छलफल र वार्ता बनाइ राजनीतिमा देखिएका संकटलाई समाधान गर्न नेम्वाङले खेल्नुभएको भूमिकाको स्मरण गर्नुभयो ।