`

एमाले बागमती प्रदेश अधिवेशनः अझै हुन सकेन निर्वाचन

Nepal One HD ११ असोज २०८० १२:२९
प्रमुख खबर

काठमाडौ– नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनको पूर्वनिर्धारित तालिका अनुरुप नहुने भएको छ । आज बिहान ११ बजे नै मतदान सुरु गर्ने भनिएपनि अहिलेसम्म हुन सकेको छैन । उम्मेदवारको प्रारम्भिक नामावली समेत सार्वजनिक गरिएको छैन ।

हिजो बुधबार उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेपछि दाबी विरोध, उम्मेदवारी फिर्ता लगायतका प्रक्रिया पूरा गर्नुपर्छ । त्यसपछि मात्रै अन्तिम नामावली सार्वजनिक हुनेछ । अन्तिम नामावली सार्वजनिक भएपछि मतदानमा जानुपर्ने भएपनि उम्मेदारको प्रारम्भिक नामावली समेत सार्वजनिक नहुँदा निर्वाचन कार्यक्रम अझै लम्बिने संभावना बढेको छ ।

दिउँसो दुई बजेदेखि मात्रै मतदान सुरु गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ । अध्यक्षका लागि बुधबार कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डे गरी ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा भने चार जनाको उम्मेदवारी परेको छ । सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला उपाध्यक्षको प्रतिष्पर्धामा छन् ।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहदुर पण्डित र डा. रामकुमारी अधिकारी गरी चार जना र खुला र महिला गरी दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ । खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालले उपसचिवमा उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया