`

वाला निकालेको धान रोगले सखाप पारेपछि किसान समस्यामा

Nepal One HD १२ असोज २०८० १२:२४
प्रमुख खबर

दाङ– वाला निकालेको धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले वाला निकालेको धान टुक्रा–टुक्रा बनाइदिएपछि किसानमा चिन्ता बढेको हो । “पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले गुनासो गरे, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बनेका छन् ।
कीरा लागेपछि दुई–तीनपटक औषधि छरे पनि त्यसले काम नगरेको तुलसीपुर–७ निवासी किसान धनिराम भुसालले बताए । एग्रोभेटबाट औषधि ल्याएर छर्केको उनको भनाइ छ । कीरालाई नियन्त्रण गर्न नसकिए धान उत्पादनमा गिरावट आउने किसानको भनाइ छ ।

अहिले वर्षा रोकिएपछि धानमा यस्तो समस्या देखिएको उपमहानगरपालिका कृषि महाशाखाका कृषि प्राविधिक रवि न्यौपानेले बताए । “सुरुमा खासै थिएन”, उनले भने, “बीचमा वर्षात रोकिएपछि रोग देखापरेको हो ।” धानमा पातको फेद डडुवा, फड्के कीराजस्ता समस्या देखिएको छ । किसानले पनि नियमित रेखदेख नगर्दा समस्या भएको हो । अहिले उक्त रोग नियन्त्रण गर्नका लागि रासायनिक विषादीको सिफारिस गरिएको र किसानले त्यहीअनुसार प्रयोग गरिरहेको उनको भनाइ छ । दाङका सबैजसो धानवालीमा यस्तो समस्या देखिएको छ ।


प्रतिक्रिया