`

भारतको रियल टाइम मार्केटमा विद्युत बेच्न नेपालले पायो अनुमति

Nepal One HD १३ असोज २०८० १२:२५
अर्थ समाचार

काठमाडौ– नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केटमा पनि विद्युत बिक्री गर्न अनुमति पाएको छ । आज भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले रियल टाइम मार्केटमा विद्युत बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबबाट सवा घण्टाअघि बिडिङ गरी विद्युत बिक्री गर्न बाटो खुलेको छ ।
भारतको विद्युत मन्त्रालयले १५ साउनमा विद्युत आयात र निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।

अब प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युतको कारोबार गर्न पाउने भएको छ । प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी १ जलविद्युत आयोजनाबाट उत्पादित ४४ मेगावाट बिद्युत रियल टाइम मार्केटमा बिक्रीको अनुमति पाएको हो ।


प्रतिक्रिया