लिबियाबाट इटालीका लागि १० वर्षपछि पहिलो व्यावसायिक उडान सुरू
करिब १० वर्षको अन्तरालपछि लिबिया र इटालीबीच सिधा उडान पुनः सुरू भएको छ । रोमका लागि उडेको एक विमानले लिबियाको राजधानी त्रिपोलीमा शनिबार उडान भरेको हो ।सन् २०१४ को डिसेम्बरमा, युरोपेली आयोगले सुरक्षाको कारण देखाउँदै लिबियाका सबै एयरलाइन्सलाई युरोपेली हवाई क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाएको थियो ।
लिबियास्थित मेडस्की एयरवेजले त्रिपोलीको मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलबाट रोमको लियोनार्डो दा भिन्ची–फियुमिसिनो अन्तर्राष्ट्रिय विमानस्थलका लागि १० बर्षपछि पहिलो उडान भरेको हो ।
मेडस्की एयरवेजले आफ्नो फेसबुकमार्फत् सार्वजनिक जानकारीमा शनिबार र बुधबार त्रिपोली र रोमबीच दुईतर्फी उडान गर्ने घोषणा गरेको छ ।
यसैबीच, लिबियाको यातायात मन्त्रालयले दुई देशका नागरिक उड्डयन प्राधिकरणले नागरिक उड्डयन सहयोग र हवाई यातायातसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ ।त्रिपोलीमा भएको यस सम्झौताले दुई देशका वायुसेवा कम्पनीलाई चार्टर र नियमित उडान सञ्चालन गर्न सहजीकरण र प्रोत्साहन गर्ने मन्त्रालयले जनाएको छ ।
