पछिल्लो राजनीतिक उपलब्धि अहिंसात्मक बाटोबाटै प्राप्त भएको हो : सभापति देउवा
काठमाडौँ, १५ असोज-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पछिल्लो पटक भएको राजनीतिक उपलब्धी महात्मा गान्धीको अहिंसात्मक बाटोबाटै प्रेरित भएर भएको उल्लेख गर्नुभएको छ ।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५४औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले शुभकामना दिदै सो कुरा उल्लेख गर्नुभएको हो ।अस्वस्थताका कारण कार्यक्रममा अनुपस्थित उहाँले दिनुभएको लिखित शुभकामना मन्तव्यमा राजनीतिक परिवर्तनको उपलब्धिस्वरुप मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएर नयाँ संविधान जारी भएको उल्लेख छ । संविधानको सफल कार्यान्वयनका लागि अहिंसा र शान्तिको बाटो अनुशरण गर्दै मुलुकलाई शान्ति र समृद्धतर्फ लैजानु आजको प्रमुख आवश्यकता भएको सभापति देउवाको भनाइ छ ।गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रेरित कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको नाममा स्थापना भएको प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभापति देउवा भाइरल ज्वरो र रुघाखोकी लागेका कारण उपस्थित हुन नसक्नु भएको हो ।
