`

समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

Nepal One HD १६ असोज २०८० २१:०५
राजनीति

धनुषा, १६ असोज (रासस) : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्ती माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गरी देश विकास गर्नका लागि समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । समाजवाद जागरण अभियानले आज धनुषामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले समाजवादमा उत्पादनका साधन स्रोत तथा वितरण प्रणालीको न्यायोचित व्यवस्थापन हुने बताउनुभयो ।

समाजमा विधमान सबै विभेद् तथा हिंसाको न्यूनीकरण गर्न समाजवादी व्यवस्था महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष नेपालले जनतालाई समाजवादबारे जानकारी गराउन राष्ट्रिय अभियान सुरु गरेको दाबी गर्नुभयो । अभियानले मेचीदेखि महाकालीसम्मका जनतामा विचार प्रवाह हुने विश्वास व्यक्त गर्दै उहाँले अभियानमा जनताको सुझावलाई सङ्कलन गरी क्रान्तिकारी समाजवादी नीति निर्माणमा उपयोग गरिने बताउनुभयो ।पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएकाले जनहितमा आफूहरुले कार्य गरेको स्पष्ट पार्दै अध्यक्ष नेपालले जनताका समस्यालाई सम्बोधन गरेर अगाडि बढ्न लागिपरेको बताउनभयो । यसअघि सिरहामा आयोजित कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनालले पूँजीवादमा मुनाफाका लागि पूँजीपति वर्गले श्रमिकको शोषण गर्ने हुँदा त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले शोषण, अन्याय, अत्याचार तथा विभेद्को अन्त्य गर्न समाजवादको विकल्प नरहेको बताउनुभयो । महासचिव घनश्याम भुसालले सामाजिक न्याय, समानता र सामाजिक रुपान्तरणका लागि सुरु भएको समाजवादको अभियान देशभर पुर्‍याइने भन्दै यसले सबै जनताका सुख दुःखलाई साँझा र समान बनाउने दाबी गर्नुभयो ।


प्रतिक्रिया