चुनाव जित्दा उन्माद र हार्दा निराश हुने अवस्था नआओस् : अध्यक्ष ओली
काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अस्वस्थ प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका छन् । आज काठमाडौंमा पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनका सन्दर्भमा विरोधीले एकोहोरो खालको टिकाटिप्पणी गर्ने मौका पाएको भन्दै अस्वस्थ प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका हुन् । अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्व चयनमा अर्को टिकाटिप्पणी गर्ने मौका दिन नहुने उनको भनाइ छ ।
पार्टीभित्रको प्रतिष्पर्धामा पनि जित्नका लागि बिभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमति नै जान उनले सुझाव दिएका हुन् । अध्यक्ष ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्याङ्कन गर्ने भएकाले नेतृत्वको मूल्यांकनमा भर नपर्दा समस्या देखिन सक्ने तर्क सचेत गराए । पार्टीको आन्तरिक चूनावलाई जित्दा उन्माद चढेजस्तो र हार्दा निराश हुने अवस्था आउन नदिन पनि आग्रह गरे ।
