बैंकको चर्को व्याजदर र दानाको मुल्यवृद्धिले पोल्ट्री व्यवसायी मारमा


चितवन–पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको व्यवसायीले गुनासो गरेका छन् । विश्व अण्डा दिवसका बिषयमा जानकारी दिन आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यस्तो गुनासो गरेका हुन् । कोरोना महामारीका साथै दानाको मुल्य बृद्धि र बैकको चर्को ब्याजका कारण पोल्ट्री व्यवसाय ओरालो लाग्ने क्रममा रहेको उनीहरुको भनाइ छ । अण्डा लगायत पोल्ट्रीजन्य व्यवसायमा उत्पादन लागत पनि नपाउने अवस्था रहेको नेपाल लेयर्स कुखुरा पालक सघका अध्यक्ष बिनोद पोखरेलले बताए ।
चितवनमा रहेका कुखुरा पालक किसान ह्याचरी उद्योगहरु आधा भन्दा बढी बन्द भईसकेको उनले जानकारी दिए । पोल्ट्री क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनको करीब ४ प्रतिशत योगदानुका साथै ५ लाख व्यक्तिलाई रोजगारी दिएको संघले जनाएको छ ।
कोभिड भन्दा अगाडि दैनिक ५० देखि ५५ लाख अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर ३० लाख ओटामा झरेको छ । चितवन र यसको आसपासको क्षेत्रमा हाल करीब १६ लाख लियर्स कुखुरा रहेको र १ सय ५० किसान आबद्ध रहेका छन् । पोल्ट्री व्यवसाय प्रति सरकारको नितिगत कारणले गर्दा व्यवसायी समस्यामा परेको नेपाल ह्याचरी महासघका अध्यक्ष गुणचन्द बिष्टले बताए । पोल्ट्री व्यवसायको अबस्था नाजुक रहेकै अवस्थामा असोज २६ गते विश्व अण्डा दिवस मनाउन लागिएको उनीहरुले जानकारी दिए ।