विद्युत् विधेयक दफाबार छलफलका लागि समितिमा
काठमाडौँ, २६ असोज ः प्रतिनिधिसभाको आजको बैठकले ‘विद्युत् विधेयक, २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकको विशेष समयमा सांसदहरुले शान्तिसुरक्षा र सुशासन कायम गर्न माग गर्दै चाडपर्व नजिकिएसँगै बजारमा महँगी र कालोबजारी बढेकाले यसलाई नियमन गर्न माग गर्नुभयो । उहाँहरुले इजरायलमा अलपत्र रहेका थप नेपालीहरुलाई उद्धार, खोजी तथा स्वदेश फिर्ताका प्रक्रियामा निरन्तर चासो दिन पनि आग्रह गर्नुभयो । विजयादशमी अगाडिको अन्तिम बैठक भएकाले सांसदहरुले नेपालीहरुमा शुभकामना सन्देश पनि व्यक्त गर्नुभएको थियो ।
उक्त समयमा सांसदहरु पदम गिरी, हितराज पाण्डे, सञ्जयकुमार गौतम, वासुदेव घिमिरे, अशोककुमार चौधरी, रोशन कर्की, प्रदीप यादव, राजेन्द्र पाण्डे, सर्वेन्द्रनाथ शुक्ला, प्रभु साह, उर्मिला माझी, मैना कार्की, तारा लामा तामाङ, अमृतलाल राजवंशी, सन्तोष चालिसे र लालवीर चौधरीले भाग लिनुभएको थियो ।
बैठकले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थितिका सूचना दिने मनोरमा शेरचन, दयालबहादुर शाहीको सूचनालाई स्वीकृत गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले दसैँ, तिहार र छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।प्रतिनिधिसभाको अर्काे बैठक आगामी कात्तिक १२ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।
