कर्णाली प्रदेश सम्पन्न भए, मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का
काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सिङ्गो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकासदेखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले भोटको राजनीतिका कारण विकास निर्माणलाई असर गर्न नहुनेमा जोड दिनुभयो । विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।उहाँले कर्णालीको विकासमा देखिएका समस्या र समाधानका उपाय खोजीमा देखिएका कमी-कमजोरी सच्याएर काम गरे अबको १०–१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने बताउनुभयो । वर्तमान परिप्रेक्ष्यमा विकास निर्माणमा असर पार्ने गरी कसैले राजनीति गरे त्यो राजनीति नभई जनतामाथिको बेइमानी हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।उहाँले प्रादेशिक औद्योगिकग्रामको काम पनि चाँडै सुरुआत हुने जानकारी दिनुभयो । उपप्रधानमन्त्री खड्काले हालको सुर्खेत विमानस्थलले भविष्यको जनघनत्वको चाप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठूलो विमानस्थलका लागि अहिलेदेखि नै पहल गर्नुपर्ने आवश्कता औँल्याउनुभयो ।
